
शशांक कोइराला नवलपरासी बर्दघाट सुस्ता पूर्व अर्थात् नवलपुर १ का कांग्रेस उमेदवार हुन् ।
उनी यसअघि तीनपटक सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भइसकेका छन् । २०६४ सालदेखि लगातार सोही क्षेत्रबाट प्रतिष्पर्धा गर्दै आएका कोइराला यसपल्ट भावी प्रधानमन्त्रीको एजेन्डा लिएर मतदाताको दैलोमा पुगेका छन् ।
उनै कोइरालासँग बाह्रखरीले निर्वाचन अभियानकै क्रममा कुराकानी गरेको छ । प्रस्तुत छ, नेता कोइरालासँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश :
यहाँले आफ्नो राजनीतिक उतारचढावलाई कसरी हेर्नुभएको छ ?
म राजनीतिमा ढिला गरी प्रवेश गरेको हुँ । २० वर्ष मैले फरक क्षेत्रमा काम गरेँ । पेन्सन आउने भएपछि मात्रै राजनीति सुरु गरेको हुँ ।
पहिले त मलाई राजनीति बुझ्नै गाह्रो भयो । तर २०६४ सालमा चुनाव लडेपछि केही अनुभव पनि सँगाल्दै अघि बढेँ ।
मलाई अहिले के लाग्छ भने सपना नभइकन राजनीति गर्नु बेकार हो । पहिलोपटक संविधान बनाउनै समय लाग्यो ।
त्यसपछि दोस्रोपटक लड्दा यहाँ विकास गर्नुपर्छ भनेर लागियो । हुन त पछिल्लो १५ वर्षमा धेरै कामहरु गरेको छु ।
नवलपुर जहाँ मेरो क्षेत्र हो यो एकदमै सुन्दर ठाउँ हो ।
यहाँका मतदाता मेरो परिवारजस्तै धार्मिक छन् । यहाँ कला र संस्कृति छ त्यसैले पनि मेरो ध्यान यहाँको क्षेत्रमा छ ।
तपाईँले यस नवलपुुर क्षेत्रबाट जित्दै आउनुभएको छ, तपाईँ राष्ट्रिय राजनितिमा गएर के काम गर्न सक्छु भन्ने लाग्छ ?
पहिले त मलाई संविधान बनाउन एकदमै रहर थियो । यो त पूरा भयो । अब दोस्रो बन्न त प्रधानमन्त्री नै हो किनभने ‘गेम चञ्जर प्लान’ बनाउने दिमागमा छ ।
उदाहरणको लागि अहिले हाम्रो कृषिमा निकै ठूलो सम्भावना छ । भारत र चीनलाई हामीले कसरी पछ्याउने भन्ने सपना देख्नुछ ।
त्यसैले म प्रधानमन्त्री भएँ भने एउटा गेम चेञ्जिङको कार्यक्रम दिन सक्छु । अब प्रधानमन्त्रीका लागि दौडमा सहभागी हुन्छु ।
तपाईँ प्रधानमन्त्री बन्ने आकांक्षी हुनुहुन्छ भने संसदीय दलको नेता बन्न उमेदवारी दिनुहुन्छ कि दिनुहुन्न ?
दिन त पर्छ । शेरबहादरजीले त्यति सजिलै छोड्नु त हुन्न । प्रतिष्पर्धा गर्नुपर्छ । मैले प्रतिष्पर्धा गर्छु । जित्छु पनि ।
को को हुन्छन् प्रतिस्पर्धी त्यसमा ?
एक जना मेरो दाई (शेखर कोइराला) नै हुनुहुन्छ ।
त्यसपछि प्रकाशमान सिंह, रामचन्द्र पौडेल सिनियर मान्छे हुन् । गगन थापा पनि एकदमै इच्छुक छन् । म रेसपेक्ट गर्छु, हामी त बुढो भइसक्यौँ हाम्रो त भविश्य पनि छैन ।
गगन थापाको त भविश्य पनि छ । उनको त्यतिधेरै अनुभव नभएको हुँदा यसपटक पर्खिए पनि हुन्छ ।
उनी राम्रो वक्क्ता हो तर राजनीतिमा त्यतिलेमात्रै पुग्दैन । एउटा सपना चाहिन्छ त्यो गगनमा मैले देख्दिन । जुन सपना म मा छ ।
०६४ देखि सांसद बन्दै आउनुभएको छ । पार्टीको महामन्त्री पनि बन्नु भएको हो सरकारमा जान किन इच्छा देखाउनु भएन ? कि पार्टीले अवसर नदिएको हो ?
मलाई त्यो बेला आफ्नै जिल्लामा मात्रै केन्द्रित हुन्छ भन्ने लागेको थियो ।
मैले इच्छा जाहेर पनि गरिन । अवसर त सुशील कोइरालाको क्याबिनेटमा पनि पाएको थिएँ । शेरबहादुर देउवाले पनि भन्नुभएको थियो । तर अरुलाई बनाउनुस् भनेँ ।
कांग्रेसमा गुटैगुट देखिन्छ, तपाईँ चाहिँ कुन गुटमा हुुनुहुन्छ ?
म महाधिवेशनका बेला गुटभन्दा माथि नै उठेँ । म स्वतन्त्र भएर लडेको हुँ । सबैभन्दा बढी मत पनि ल्याएको हुँ ।
अधिवेशनमा देखिएको गुट अब अन्त्य हुनुपर्छ ।
संसदीय दलको नेताका लागि प्रतिष्पर्धा गर्छु भन्नुभएको गर्छु भन्नु भएको छ, त्यसैगरी १५ औँ महाधिवेशनमा पनि सभापतिको तयारी सँगसँगै थाल्छु भनेर पनि यसअघि भन्नुभएको छ हो ?
शेरबहादुर देउवाले म पछिको तपाईँ नै त हो नि भन्नुभएको छ । पार्टीको नेतृत्व हस्तान्तरण गर्छु भन्दै आउनुभएको छ ।
मैले पार्टीको नेतृत्व प्राप्त गरेपछि गुट उपगुट समाप्त पार्छु । पाँच वर्षमा हेर्नुहोला । पार्टीभित्र संगठित भएर नम्बर वान पार्टी बनाइदिन्छु । यतिधेरै पक्ष छ नेपाली कांग्रेसमा अरु दलहरु त फिका पर्छन् ।
लगातार चुनाव जित्दै आउनुभएको छ, यसपल्ट जिल्नेमा कति विश्वस्त हुनुहुन्छ ?
म त १०० प्रतिशत जित्छु भन्नेमा ढुक्क छु ।
तर त्यसरी आइडियल त बस्नुभएन । एमालेका भित्री मान्छे छन् । तर ती बलिया होइनन् । म निरन्तर पार्टीमा छु हारखाने व्यक्ति म होइन ।
मानिसहरुको आकलन अब शशांक कोइराला यो महाधिवेशनपछि राजनीतिबाट टाढा हुन्छन् भन्ने थियो नि !
यो विल्कुल होइन । गलत कुरा हो । म राजनीतिबाट अब टाढा हुनै सक्दिन ।
तपाईँ गाउँगाउँ घुम्दै गर्दा खासमा जनताको गुनासो के मा छ ?
जितेपछि धेरै कम आउने गर्थेँ । तर जितेपछि हरेक तीन महिनामा आउनुपर्ने रैछ । ०६४ सालमा त्यत्रो जित हासिल गरेँ ।
यहाँका जनताले यतिधेरै ‘रेस्पेक्ट’ गर्छन् । यतिधेरै माया गर्छन् ।