काठमाडौं । विनोद चौधरी नेपालका एकमात्रै डलर अर्बपति हुन् । उनी दुई दशक बढी समयदेखि नै राजनीतिको नजिक रहे पनि संविधान निर्माणमा प्रत्यक्ष सहभागी भएका थिए ।
त्यसबेला नेकपा एमालेले उनलाई सभासद बनाएको थियो । २०७४ सालमा भएको निर्वाचनअघि उनी नेपाली कांग्रेस प्रवेश गरेका हुन् । मुलुक बनाउने हुटहुटी आफूमा रहेको दाबी गर्दै चौधरीले अहिले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ मा उमेदवारी दिएका छन् ।
उनका प्रतिष्पर्धी छन् सोही निर्वाचन क्षेत्रमा २०४८ सालदेखि लगातार ६ पटक चुनाव लडिसकेका नेता हृदयश त्रिपाठी ।
त्रिपाठी २०७० सालमाबाहेक सबै निर्वाचनमा विजयी नेता हुन् । तर कांग्रेस उमेदवार चौधरीले यसपल्टको निर्वाचनमा त्रिपाठीलाई खासै प्रतिष्पर्धी मानेका छैनन् ।
चौधरी आफू नै यहाँ सबै पार्टीको उमेदवारका रुपमा अघि बढेको र आगामी पाँच वर्षको विकासका खाका लिएर यहाँ आएको बताउँछन् ।
बाह्रखरी टिमसँगको कुराकानीमा उमेदवार चौधरीले आफ्नो जित सुनिश्चित भएको र नवलपरासी १मा देखिएको समस्या समाधानका लागि जुन तहमा थाल्नुपर्ने हो त्यहाँ काम थालिसकेको दाबी गरे ।
उनले डुबान समस्या समाधानका लागि भारतसँग कूटनीतिक पहल थालिसकेको बताए ।
एक महिनादेखि नवलपरासी क्षेत्रमा रहेका चौधरीले उक्त ठाउँको अनुहार बदल्न नै आफ्नो उमेदवारी रहेको र प्रतीष्ठाको विषय बनाइएको बताए ।
प्रस्तुत छ, बाह्रखरीका बलराम पाण्डेसँग नेता चौधरीले गरेको भिडियो कुराकानी :
अन्तर्वार्ताका क्रममा व्यक्त धारणाका सम्पादित अंश :
–म पहिलोपल्ट संविधानसभाको सदस्य भएको हुँ । त्यसबेला कुनै पार्टीको सदस्यता लिएको थिइन ।
–संविधान लेख्ने भनेको महत्वपूर्ण काम हो । त्यहाँ रहँदा गतिशील अर्थतन्त्र आग्रह र पूर्वाग्रहका आधारमा हुँदैन भनेर त्यहाँ गएको हुँ ।
–म चारवर्ष राजनीतिबाट विश्राम लिएँ । ०७४ मा फेरि संसदीय अभ्यासमा प्रवेश गर्छु भन्दा पार्टीले छनोट गरेको हो ।
–पार्टी सभापतिले नै सार्वजनिकरुपमा बोलाएपछि म कांग्रेसमा प्रवेश गरेको हुँ । वाम गठबन्धन दुई तिहाइ ल्याउने तयारीमा थियो । मैले त्यसबेला नबुझेको होइन ।
–त्यसबेला ३०–४० वटा निर्वाचन क्षेत्रमा गएँ । पछि संसद्मा पनि गएँ । त्यसबेला के लाग्यो भने संगठनमा जनताकहाँ नगइ र जनताबाट निर्वाचित नभएसम्म प्रतिनिधि भएजस्तो लाग्दोरहेनछ ।
–पार्टी र संसद्मा त्यस्तो अवस्था मैले देखेको छु । महाधिवेशनका बेला वडा तहदेखि केन्द्रीय सदस्यसम्म लडेँ । अहिले पनि जनताकै माझमा छु ।
–हिजो पनि मैले धर्म संसद्मा निभाएको हुँ । विकासका कुरा लगातार उठाएँ । अहिले संसद्मा बोलेरमात्रै पनि काम हुँदोरहेनछ भन्ने बुझाइ रह्यो ।
–राजनीतिको माध्यमबाट विकास गर्नुपर्छ भन्नेमा म विश्वस्त छु ।
–मैले व्यावसायिकरुपमा लघुताभाषबिना नै यहाँसम्म पुगेको हुँदा उपलब्धि नै मान्नुपर्छ ।
–इकोनोमिक ट्रान्सफर्मेसनका लागि जनताबाट अनुमोदित हुनैपर्छ ।
–यो बहुत ठूलो चुनौती पनि हो ।
–राजनीतिमात्रै गर्ने नेताहरुले आर्थिक विषयलाई प्राथमिकतामा राखेको पाइएन । उद्यमी व्यवसायीले छलफल गर्दा आउला तर यो छलफलको विषय होइन ।
–नेपालमा ठूला आन्दोलन भए । युद्धमा रहेको शक्ति सरकारमा आयो । बीचमा राजतन्त्र पनि आयो तर देश किन बन्दैन ?
–किनकि हामीले विकास बजेट खर्च गर्नै सक्दैनौँ ।
–हामीसँग बजेटको अभाव छैन । नेपाललाई माया गर्ने लगानीकर्ता प्रशस्तै छन् । नेपाललाई धनी बनाउन सक्ने हैसियत उनीहरुमा छ ।
–नेपालीहरु बाहिर पनि स्थापित हुँदै गएका छन् । नेपालमै आएर केही गर्न चाहेका छन् । चीनमा पनि भएको त्यही हो । त्यसरी नै विकास भएको हो ।
–नेपालमा हार्डकोर राजनीतिज्ञले धेरै दुःख गरे । जनताका बीचमा भिजेका छन् जनताले माया गर्छन् । जीवननै योगदान गरेका छन् तर रिसोर्स म्यानेजरसँग सम्बन्ध भएन ।
–पार्टीगत तहमा केही समस्या चाहिँ छ । केही निषेधको रानजीति पनि हुन्छ । दश वर्ष क्रियाशील नभइ पार्टीमा माथिल्लो निकायमा लड्न मिल्दैन ।
–जीवनमा केही कुरा हासिल गरिसकेका व्यक्तिसँगको स्वस्थ सम्बन्ध देखिँदैन । भारतको उदाहरण हेरौँ न ।
–भारत आज कहाँ छ ? पार्टनरसिपले नै अघि बढेको हो ।
–जनतामा वितृष्णा छ । सबैको लागि बोल्न चाहन्न तर यो क्षेत्रमा २५ वर्षमा केही भएन । राजनीतिभन्दा केही भएन ।
–यहाँ किसानको व्यथाले हृदय रुवाउँछ । सीमा हुँदा हुँदै पनि कति दुखद् अवस्था छ । राम्रो क्याम्पस छैन, अस्पताल छैन । राजमार्गले छोएको तर नेपालकै अविकसित क्षेत्र हो कि जस्तो लाग्ने छ ।
–यहाँ आउन पाउनु मेरो भाग्य हो । मेरो प्रारब्ध हो । शशांक कोइरालाले फेरि निर्वाचन लड्ने तयारी गर्नुभयो मैले हुन्छ भनेँ ।
–यो क्षेत्र माओवादीलाई दिइ नै सकेको थियो । तर जुँगाको लडाइँले यो ठाउँका मान्छेलाई असर परेको छ । यो क्षेत्रको भाग्यले मलाई यहाँ ल्याएको हो ।
–मान्छे विकृत र पराजित मानसिकताबाट गुज्रिएपछि के बोलिरहेको छु भन्ने थाहा हुँदैन । यो क्षेत्रलाई टुरिजमका रुपमा विकास गर्न सकिन्छ । प्रशस्तै सम्भावना छ ।
–त्रिवेणी हेरौँ त । यो बुद्धभूमि हो । भारतसँगको सीमा छ ।
–म निर्वाचित भएपछिको पाँचवर्षको अवधिमा यहाँ के हुन्छ भन्ने देखेको छु ।
–पाँचवर्षको रोडम्याप छर्लङ्ग छ ।
–यहाँ डुबानको समस्या छ । त्यो पानीलाई सिँचाइमा बदल्न सक्छौँ भारतसँग कूटनीतिक पहल गरिसकेको छु । मैले त्यो काम थालिसकेको छु ।
–मलाई भाग्यले यहाँ ल्याएको छ । मलाई अहिले नाम र दाम चाहिएको छैन यो ठाउँको विकास चाहिएको छ ।
–मेरा केही प्रतिबद्धता छन्, त्यो पूरा गरेरै छाड्छु ।
–राजनीति गर्ने मान्छे मन्त्री बन्न चाहन्न भन्छ भने त्यो फटाहा नै हो ।
–परिवर्तन ल्याउन आफ्नो ठाउँमा बस्न तयार हुनुपर्छ । पार्टीको आवश्यकता पनि हुन्छ ।
–पार्टीले जिम्मेवारी दिन्छ भने म पूर्णरुपमा निभाउन सक्छु ।
–राजनीति सम्भावनाको खेल पनि हो । असम्भव केही कुरा छैन । केही कुरा भविष्यलाई पनि छाडौं ।
–मलाई गठबन्धनबाट पूरा सहयोग छ । बागी उमेदवार पनि झिकिदिनुभयो ।
–सबै पार्टीका नेताहरुले कसरी सहयोग गर्न सकिन्छ भनेर निरन्तर संवादमा हुनुहुन्छ । मलाई विकासको पात्रको रुपमा देखेका छन् ।
–जीवनमा हार्न तयार नहुने मान्छे प्रतिष्पर्धामा भाग नलिए हुन्छ । म एकदम उत्साहित छु । म पाँचवर्षको तयारीमा ध्यान केन्द्रित छ ।