1667879698.jpg)
अहिले उद्योग व्यवसाय क्षेत्र तरलता अभाव तथा ब्याजदर वृद्धिले नराम्रोसँग प्रभावित भएको छ । मागमा आएको कमी तथा तरलता अभावले कतिपय व्यवसायीहरु पलायनको अवस्थामा पुगेका छन् ।
उद्योगी व्यवसायीले अहिले भोगेको विषयमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालसँग बाह्रखरीका लागि आशीष ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश :
उद्योगी व्यवसायीहरु बैंकले ब्याजदर बढाएको विरोधमा सडकमा उत्रिए । के व्यवसायीहरु आन्दोलनको लागि सडकमा नै आउनुपर्ने स्थिति देखिएको हो ?
उद्योगी र व्यवसायी सडकमा आउनुको पछाडि संकट निकै बढ्दो क्रममा छ । उद्योगी व्यवसायीको जति पनि उद्योग र व्यवसाय छ त्यो सबै उद्योग र व्यवसायमा मागको कमी आएको छ ।
अहिले तरलताको चरम अभाव छ । कुनै पनि नयाँ ऋणको लिमिट पाएको छैन । स्वीकृत भएको ऋणसमेत कटौती भएको छ । कसैले पनि भविष्यमा गएर यो ठीक हुने वातावरण देखिएको छैन ।
ब्याजदरसमेत बढ्दै गएको छ । सबैलाई थाहा भएको कुरा हो व्यवसायी र उद्योगीको जग्गा तथा सेयरमा लगानी छ ।
त्यो लगानी गर्नु गलत कुरा होइन । सरकारले दिएको उपकरणमा नै व्यवसायी र उद्योगीले लगानी गरेको छ ।
अहिले घरजग्गा र सेयर बजार ओरालो लागेको छ । मालवस्तु बिक्री नहुने, बिक्री भएको उधारो नउठ्ने अवस्था छ ।
सेयर बजार घरजग्गामा भएको लगानीसमेत फसेको स्थिति छ । यस्तो अवस्थामा बढेको बैंकको ब्याजदर तिर्न सम्भव नहुँदा व्यवसायीहरु सडकमा आउनुपर्ने स्थिति आएको हो ।
व्यवसायमा तपाईँ आफ्नो दुई दशकभन्दा लामो अनुभव छ । अहिले देखिएको संकट कस्तो खालको हो ?
निजी क्षेत्रले धेरै खालको संकटबाट भोग्नु परेको छ । १० वर्षको युद्धदेखि भूकम्प तथा नाकाबन्दीसम्मको समस्या पछिल्लो २० वर्षमा नेपालको निजी क्षेत्रले भोग्यो ।
तर अहिलेकोजस्तो स्थिति नेपालको निजी क्षेत्रले कहिल्यै भोग्नुपरेको थिएन । म आफैंले २८ वर्ष भयो व्यवसायमा सक्रिय रुपमा काम गरेको ।
मैले २८ वर्षकाे व्यावसायिक अनुभवमा यस्तो खराब अवस्था भोगेको थिइन । एक वर्षमा यसरी मागमा कमी आएको थिएन ।
उद्योगी व्यवसायीलाई सबै खाले समस्या अहिले भोग्नु परेको छ । बजारबाट पैसा उठेको छैन ।
उद्योगी व्यवसायीको पैसा ३० दिनमा उठ्नुपर्ने पैसा ९० दिन कट्दासमेत उठेको छैन । यसको असर बैंकको खराब कर्जामा पर्न थालेको छ ।
पछिल्लो तीन महिनाको रिजल्टले पनि बैंकहरुको खराब कर्जा बढेको देखिएको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव हुनु नौलो कुरा भएन । विगतमा पनि निजी क्षेत्रले यो समस्या भोगेको हो । विगतको भन्दा अहिलेको समस्या के फरक छ ?
पहिला तरलता अभाव निजी क्षेत्रले भोगेको हो । तर, तरलता अभाव निश्चित समयको लागि हुने गरेको थियो । बढीमा भएमा ६ महिना हाहाकार भएको थियो होला ।
अहिले तरलता अभाव भएको नै एकवर्ष हुन थालेको छ । विगतमा तरलता अभाव भए पनि कर्जाको ब्याजदर १२ वा १३ प्रतिशत थियो ।
अहिले १८ प्रतिशतसम्म बैंकको ब्याजदर पुगेको अवस्था छ । मागमा यसरी कमी आउँदै जाने हो भने भोलि बैंकको ऋण तिर्न नसक्ने अवस्था व्यवसायीको हुन्छ भने सरकारले समेत राजस्व नपाउने स्थिति हुन्छ ।
तर केन्द्रीय बैंकको बुझाई अर्थतन्त्रलाई सुधार गर्नको लागि नै अहिले मागमा कमी ल्याउनु र मूल्य वृद्धिलाई नियन्त्रण गर्नु थियो । राष्ट्रको नीतिअनुसार नै मागमा कमी आउनु ठिक होइन ?
यस्तो खाले संकट आउँछ भनेर त नियामक निकायले समेत सोचेको छैन होला । जुन तरिकाको स्थिति अहिले सिर्जना भएको छ त्यो केन्द्रीय बैंकले सोचेको थिएन होला ।
अहिले लगानी सुक्दै गएको छ । धेरै उद्यमी व्यवसायीको लगानीका परियोजनाहरु पछाडि धकेलिने र समयमा परियोजना सुरु नहुने स्थिति देखिएको छ ।
योजनाअनुसार काम नभएको हुँदा सबै व्यवसायीले लगानी गर्ने योजनालाई नै पछाडि धकेलेका छन् । बैंकमा खराब कर्जा बढ्न थालेको छ । अहिलेसम्म आर्थिक स्थिति संकटमा जान थालेको संकेतमात्र देखिएको हो ।
केही साताभित्रमा यसका असरहरु प्रष्टरुपमा बाहिर आउनेछन् । आगामी तीन महिनाभित्र मागको कमी, तरलता अभाव, ब्याजदरमा भएको वृद्धिले यसको असर धेरै क्षेत्रमा पर्छ । चालु आर्थिक वर्षमा पहिलो त्रैमासमा चालु खर्चको तुलनामा राजस्व कम भयो ।
अब यस्तै अवस्था भएमा अबको तीन महिनामा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले राजस्व घट्न सक्छ ।
भनेपछि हामीले कल्पना गरेको भन्दा पनि आर्थिक अवस्था खराब हुने देखिएको हो ?
अहिले स्थितिमा हामीले कल्पना गरेको भन्दा पनि ठूलो आर्थिक संकट आउने देखिएको छ । सरकार र नियामक निकायले आवश्यक कदम समयमा नलिएमा हामीहरु ठूलो आर्थिक संकटमा जाने स्थिति देखिएको छ ।
आर्थिक संकटमा नै जाने अवस्था कसले गर्दा उत्पन्न भएको जस्तो लाग्छ ?
यसमा एउटामात्र कारण छैन । कोभिडको पहिलो लहर सकिएपछि साउनदेखि असोजसम्म ठूलो मागको सिर्जना भयो ।
कोभिडको बेलाको भ्याकुम एकैपटक आएको कारण माग बढ्यो । त्यो बेला धेरै कम ब्याजदरमा ऋण पाएको कारण आयात निकै बढ्यो ।
आयात बढेको कारणले विदेशी सञ्चिती घट्यो । त्यही बेला श्रीलंकामा एउटा दुर्घटना भयो । त्यसले सबैलाई आत्तिनुपर्ने अवस्था बन्यो । हाम्रो पनि विदेशी सञ्चिती २ अर्ब अमेरिकी डलरले घटेपछि सबैजना डराउन थाले । यहीबेला नियामक निकायले विगतदेखिको विकृति अहिले नै सुधार गर्ने भनेर नियमहरु ल्यायो ।
अहिले माग नघटेको कुनै पनि क्षेत्र छैन । सबै उद्योग व्यवसायमा माग नै नभएको स्थिति हो ?
अहिले सबै उद्योगी व्यवसायीको गुनासो नै माग घटेकोमा रहेको छ । सिमेन्ट, डण्डीदेखि निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तुकोसमेत माग घटेको छ ।
अघिल्लो वर्षको तुलनामा यी सबै वस्तुको बिक्रीसमेत घटेको छ । यसबाहेक होटल, वैदेशिक रोजगार तथा होटल क्षेत्रमा माग बढेको देखिएको छ । अन्य क्षेत्रमा सबै उद्योग व्यवसायमा माग घटेको देखिएको छ ।
अहिलेकोजस्तो उपभोग घट्ने तथा ब्याजदर बढ्ने अवस्थाले अहिले सडकमा आन्दोलन गर्न व्यवसायीहरु आएका छन् । अब साच्चिकै सडकमा नै पुग्ने अवस्था देखिएको हो ?
यसमा के हुन्छ हामी सबैले सोच्ने काम गरौँ । उपभोग घटेपछि सरकारले पाउने राजस्व घट्छ । सरकारले कम राजस्व पाएपछि खर्च चलाउन ऋण लिनुपर्ने अवस्था आउने छ ।
राजस्व कम भएपछि विकास खर्च कम हुन्छ । विकास खर्च कम भएपछि आर्थिक क्रियाकलाप घट्छ । जसले पुनः माग झनै घट्छ । पैसा उठ्नको लागि अहिले निकै असजिलो भएको छ ।
अहिले साना तथा मझौला व्यवसायलाई निकै कठिनाई भएको छ । अवस्था सुधार नहुने भने साना तथा मझौला व्यवसायी धरासायी नै हुने देखिन्छ ।
ठूला व्यवसायी तथा कर्पोरेट तहसम्म अब संकट पुग्छ । उदाहरणको लागि हाम्रो एमएडब्लुको कुनै डिलर डुबेमा यसको असर हामीलाई पर्छ ।
यस्तै खाले अवस्था सबै ठूलो कर्पोरेटमा पर्ने देखिएको छ । व्यवसायमा एसएमईमा देखिएको संकट त कर्पोरेटसम्म घुमेर नै आएको हुन्छ ।
सस्तो ब्याजदरमा ऋण पाएपछि व्यवसायीले घरजग्गा र सेयरमामात्र लगानी गर्दा अहिले समस्या आएको भन्ने केहीको टिप्पणी छ । सस्तोमा पाउँदा व्यवसायीले कर्जालाई दुरुपयोग गरेको होइन ?
यो त हाम्रो अर्थ प्रणालीको विकृति हो । विगतमा सस्तो ब्याजदरमा ऋण पाएको बेला अनुत्पादक क्षेत्रमा लगानी भएको हो ।
तर यो व्यवसायीले गर्दामात्र भएको होइन । हाम्रो अर्थ प्रणालीमा केही विकृति थिए । नियामक निकायले सबै रोगको उपचार एकैपटक गर्ने भनेर लागेको छ ।
यसले झनै समस्या भयो । सेयर बजारमा १४ खर्ब रुपैयाँको सम्पत्ति घटेको छ । बजार घटेको बेला ऋण लगानीमा भएको कडाईले सेयर बजारमा समस्या देखियो ।
यस्तै अवस्था घरजग्गामासमेत आएको छ । यस्तै अवस्थामा चालु पुँजी कर्जामा कडाई भएको छ । जुन व्यक्ति समस्यामा छ उसलाई समस्याबाट बाहिर ल्याउने उपाय सोचिएको छैन । यसले झनै समस्या पार्ने देखिन्छ ।
सीएनआई अध्यक्षको हिसाबले अर्थतन्त्रमा परेको समस्याको बारेमा मन्त्री तथा नियामक निकायका प्रमुखसँग छलफल गर्नु भएको छ । उहाँहरुले समस्या परेको विषयलाई कत्तिको महसुस गर्नु भएको छ ?
अर्थतन्त्रमा अहिले समस्या देखिएको छ । यसले भविष्यमा निकै ठूलो संकट निम्त्याउन सक्छ । निजी क्षेत्रले यसको जानकारी सरकारमा बस्ने तथा नियामक निकायका व्यक्तिलाई दिएका छौँ ।
तर दुःखका साथ भन्नुपर्छ जसले सरकारमा बस्ने तथा नियामक निकायमा बस्नेलाई अर्थतन्त्रमा समस्या देखिएको महसुस नै भएको छैन । अहिले कुन स्थितिमा उद्योगी व्यवसायी छन्, कसरी काम गरेका छन् यसको बारेमा सरोकारवालाई मतलब नभएको देखिन्छ ।
सरोकारवालाले अर्थतन्त्रमा समस्या परेको महसुस नभएसम्म सुधार हुने पनि छैन । विदेशी दातृ निकायसँग समेत छलफल गर्नु भएको छ ।
खास गरेर अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)को नेपाल प्रतिनिधिसँगको छलफलमा नेपाली अर्थतन्त्रलाई कसरी हेरेको पाउनुभयो ?
छलफल गर्दा आईएमएफका प्रतिनिधिले सरकारले लिएको निर्णय ठिक छ भन्ने छ । तर उहाँहरुको सबै स्टेप एकैपटक लिन नपर्ने थियो भन्ने छ ।
छलफलमा साना कुरामा हामी गएनौँ । समग्र आर्थिक नीतिहरुमा नियामक निकायले एकैपटक सबै खाले नीति कार्यान्वयन गर्न हुने थिएन भन्ने छ ।
उहाँहरुले सबै खाले नीतिहरु एकैपटक कार्यान्वयन गर्दा समेत समस्या आएको भन्ने बुझाईमा हुनुहुन्छ ।
तपाईँको कुराले उद्योग व्यवसायी तालाचाबी नै बन्द गरेर बस्नुपर्ने अवस्थामा पुगेको हो ?
कति व्यवसायीले बन्द गरिसके । यस्तै अवस्था भए उद्योग व्यवसाय बन्द गर्नुको विकल्प छैन । सरकारमा बस्नेले यसलाई राम्रोसँग सोच्नुपर्छ । होइन भने धेरै व्यवसायीहरु सडकमा पुग्नेछन् ।
अहिले नेपाली अर्थतन्त्रमा बाह्य दबाब नेपाली अर्थतन्त्रमा छ । अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । विश्वमा धेरैजसो केन्द्रीय बैंकहरु ब्याजदर बढाउनेतर्फ छन् । सन् २०२३ मा अर्थतन्त्रमा दबाब आउने अनुमान छ । यस्तो अवस्थामा अर्थतन्त्रमा सुधार हुने र ब्याजदर एकल अंकमा आउन सम्भव हुन्छ ?
पछिल्लो समय विश्वमा आर्थिक संकट सन् २००८ मा आएको थियो । त्यो बेला जग्गामा केही समस्या आएको थियो । तर अन्य क्षेत्रमा प्रभाव परेको थिएन ।
त्यो बेला अधिकांश क्षेत्रमा मागमा बृद्धि भएको थियो । यसको कारण के छ भने हाम्रो अर्थतन्त्र विश्वसँग त्यसरी जोडिएको छैन ।
हाम्रोमा अर्थतन्त्र भारतसँग जोडिएको बढी हुन्छ । भारतमा आउने वर्ष आर्थिक बृद्धिदर धेरै नै राम्रो हुने अनुमान छ ।
कोभिडको बेला पनि रेमिट्यान्स कम हुने अनुमान थियो । तर कोभिडको बेला पनि बढ्यो । विकसित देशहरुमा आउने संकटसँग हाम्रो तुलना गर्न मिल्दैन ।
अर्थतन्त्र समस्याका धेरै कुरा भए । सुधार गर्नको लागि के गर्नुपर्ने हो ?
अहिलेको नीतिहरु खुकुलो बनाउनुपर्ने हुन्छ । अहिलेको मुख्य समस्या पैसाको अभाव हो ।
पैसा सहज रुपमा बजारमा जाने नीति लिनुपर्ने हुन्छ । पैसा सहज रुपमा बजारमा गएपछि अहिले देखिएका धेरै समस्याहरु समाधान हुन्छन् ।
यसबाहेक विगतमा अनुत्पादक क्षेत्रमा पैसा गएपछि अर्थतन्त्रमा देखिने समस्या समाधानको लागि उत्पादनमुलक क्षेत्रमा जाने नीति बनाउनुपर्छ ।
यसबाहेक लगानी ल्याउने वातावरण बनाउनुपर्ने हुन्छ । १२ हजार मेगावाट लगानी गर्नको लागि इच्छुक छन् । तर सरकारले यसको विद्युत् खरिद सम्झौता(पीपीए) रोकेर बसेको अवस्था छ ।
१२ हजार मेगावाट जलविद्युत् आयोजनामा एक मेगावाटमा २० करोडको हिसाबले साढे २४ खर्ब लगानी हुने अवस्था छ ।
यो भनेको हाम्रो कुल ग्राहस्थ उत्पादन(जीडीपी)को ५० प्रतिशत रकम हो । आयात प्रतिस्थापनको लागि १६ वटा औद्योगिक क्षेत्रको घोषणा भएको छ । जसमा ९ वटा अहिले सञ्चालनमा रहेको छ । बाँकी ६ वटालाई निजीकरण गर्दा हुन्छ । भारत, बंगलादेशको उदाहरण लिएर हामीले त्यसलाई अगाडि बढाउन सक्छौँ । त्यसमा लगानी हुन्छ ।
रोजगारी सिर्जना हुन्छ । सामान्यभन्दा सामान्य काम गर्दा हुन्छ ।
बजार नभएको कारण नदी प्रवाही आयोजना (आरओआर) पीपीए रोकिएको हो । बजार सुनिश्चित नहुँदै पीपीए खोल्नु ठिक होला र ?
बजार सुनिश्चिताको लागि पहल गर्नुपर्छ । भारतमा कसरी बिजुली बिक्री गर्ने भनेर हाम्रो नीति बनाउनुपर्ने होइन ।
हाम्रो बिजुली लैजानको लागि बंगलादेशसमेत तयार छ । भनेपछि बजारको अभावभन्दा पनि बिक्री गर्न नजानेको कारण यस्तो भएको हो ।
भविष्यमा भारतको लागि पनि स्वच्छ ऊर्जा चाहिने होला । त्यसमा पहल गर्नुपर्ने होइन ।
धेरै समस्याहरु व्यवसायी तथा उद्यमीले भोगेका छन् । अबको दुई साताभित्र प्रतिनिधि सभाको निर्वाचनपछि नयाँ सरकार आउने छ । अब बन्ने सरकारले आर्थिक समस्या समाधानको लागि कसरी काम गर्नुपर्छ जस्तो लाग्छ ?
अबको दुईसातामा अहिले देखिएको समस्या समाधान हुन्छ भने हामीलाई आशा छैन । राजनीतिक दलका नेताहरु चुनावमा नै व्यस्त रहेका छन् ।
अब बन्ने प्रधानमन्त्री तथा अर्थमन्त्रीले आर्थिक मुद्दालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । निर्वाचनपछि आउने जनप्रतिनिधिले आर्थिक मुद्दालाई पहिलो प्राथमिकता बनाएर काम गर्न म व्यक्तिगत र संस्थागत रुपमा नै अपिल गर्छु ।
अब पनि आर्थिक मुद्दालाई प्राथमिकता नदिने हो भने हामी धेरै नै पछाडि पर्ने छौँ ।
आर्थिक नीतिहरुको सुधार कार्यक्रम ठप्प भएको छ । के कुरामा निर्वाचनपछि सरकारले आर्थिक सुधारको काम गर्नुपर्छ ?
उद्योग परिसंघले राजनीतिक दलहरुलाई आर्थिक सुधारको लागि सुझाव दिएको थियो ।
दलहरुको घोषणापत्रमा त्यो समेटिएको छ । हामीहरुले २२ वटा कानुनलाई खारेज तथा सुधार गर्नु सुझाव दिएका छौँ ।
राजनीतिक दलका नेताहरुमा कानुन सुधार गर्नुपर्ने महसुस भएको छ । निर्वाचनपछि बन्ने सरकारले तरलता अभावलाई हटाउनुपर्छ ।
तरलता अभाव हटाउनको लागि केन्द्रीय बैंकसँग हुने टुल्सलाई प्रयोग गर्नुपर्छ । यस्तै पीपीए खोल्नुपर्छ ।
६ वटा औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिनुपर्छ । उत्पादन मुलक क्षेत्र जसको भ्यालु एड बढी छ । यसको निर्यातलाई प्रोत्साहन दिनुपर्छ । यस्तै सूचना प्रविधिमा ठूलो फड्को मार्न सक्छौँ ।
हाम्रो उपलब्ध भएको ऊर्जाको स्रोतले सूचना प्रविधिमा ठूलो सम्भावना छ । १२ हजार जति विद्यार्थी अहिले पास हुन्छन् । उनीहरुलाई सूचना प्रविधिको क्षेत्रमा काम लगाउन सकिन्छ ।
यसको लागि काठमाडौं सहरभित्र आईटी पार्क बनाउनुपर्छ । कृषिमा ठूलो सम्भावना भए पनि हामीहरु पछाडि परेका छौँ । व्यावसायिक कृषिलाई नराम्रो दृष्टिले हेरेका छौँ ।
यसमा जमिन सहज रुपमा नपाउनेदेखि लिएर मल तथा पूर्वाधार तथा कोल्डस्टोरेजकोसमेत अभाव देखिएको छ । कृषिमा धेरै बोले पनि काम भएको छैन ।
तस्बिर : सुनिल प्रधान/ बाह्रखरी