नेकपा (एमाले)का नेता लालबाबु पण्डित मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्यका उमेदवार छन् ।
एमालेको सरकारमा रहँदा पण्डितले गरेका कामको खुबै चर्चा थियो । सादगी र भुईंबाट उठेका नेताको परिचय स्थापित गराएका पण्डित अहिले चुनावी दौडाहाको क्रममा गृहनगर विराटनगरमा छन् ।
यही क्रममा कामत टोलस्थित निवासमा पण्डितले चुनावी तयारी र चल्दै गरेको आफ्नो अभियानबारे बाह्रखरीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, पण्डितसँग गरिएको कुराकानीको सम्पादित अंश :
चुनावी अभियान कसरी सञ्चालन गरिरहनुभएको छ ?
निरन्तर म जनताको बीचमै छु । सुख दुःखको साथी नै हँ । भुईंबाट उठेको मान्छे । हरेक दिन भुईंमै हुन्छु । पहिले पनि निर्वाचनमा उठेको मान्छे हुँ ।
जनताको विश्वास पाएरै प्रतिनिधि भएरै काम गरेको छु । उनीहरूसँगै छु । मेरो क्षेत्रमा विकास निर्माणको काम अन्यत्रको तुलनामा राम्रै भएको छ । कतिपय वहुवर्षीय छन् । नयाँ आवश्यकता भएका नयाँ गर्नुपर्ने पनि छ । म पार्टीको नीति निर्देशन र तयारीअनुरूप नै अघि बढिरहेको छु ।
विराटनगरजस्तो ठाउँ छ । यसको इतिहास इतिहास बन्नु हुँदैन । वर्तमानको जिम्मेवारी पनि लिनुपर्छ । नेतृत्व द्विविधामा परेको पनि देखेको छु । तर, मैले नै सबै साथीहरूलाई 'कन्भिन्स' गराएर महानगर बनाउन पहल गरेकै छु ।
तपाईंको कार्यकाल कस्तो बित्यो नि ! के के गर्नुभयो ?
दस वर्ष यही क्षेत्रबाट गएकाहरूले काम गर्न सकेका थिएनन् । तर म पहिलोपटक पहिलो कार्यकाल पूरा गर्दै छु । २० महिना मन्त्री पनि बने ।
राष्ट्रिय जिम्मेवारी पनि र स्थानीय जनप्रतिनिधिको पनि जिम्मेवारी पूरा गर्नुपर्ने थियो । सबै चाहनाहरू पुरा भएनन् होला । तर आफूले गरेको प्रतिबद्धता पूरा गर्दै अघि बढेको छु ।
विगतमा गरिएका ठुला काम जारी छन् । धेरैवटा सम्पन्न भएका छन् । कतिपय कोरोनाका कारण बजेट फ्रिज भएर गए । कतिपय पालिका र वडाहरूमा एमालेको नेतृत्व नहुँदा अवरोध पैदा हुँदा ४० करोड रूपैयाँ बजेट फ्रिज हुन गयो ।
विराटनगरका कतिपय योजनामा मैले हालिदिएको बजेट पनि फ्रिज भयो । जनताको नयाँ आकांक्षालाई अब फेरि पनि जिम्मेवारी पूरा गर्नुछ । असीमित जनताको माग र राजनीतिक अस्थिरताबीच पनि काम गर्नुपरेको छ ।
तपाईंसँग विगतकै उमेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ? दोस्रोपटकको यो चुनावी प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ?
मैले यो क्षेत्रमा पहिलो कार्यकालमा धेरै काम गरेको छु । त्यो जनतासँग गएर पनि बुझ्न सकिन्छ । मैले मेरा प्रतिद्वन्द्वीसँग प्रश्न पनि सोधेको थिएँ । तपाईंले के के गर्नुभयो ? भनेर ।
पहिले उहाँ पनि जनप्रतिनिधि भएर जानुभएकै हो । विकास निर्माणमा तपाईंले पनि सुझाव दिनुहोला । तपाईंले गर्नुभएको छ भनेर मेरो सह्राना नै गर्नुभयो । हामी फरक पार्टीबाट उमेदवार छौँ । म सर्वसम्मत रूपमा आएको छु । म भुईंको मान्छे हुँ म त्यहीँबाट विश्वास लिने तयारीमा छु ।
उहाँको अलग्गै पृष्ठभूमि छ । उहाँको आफ्नै पारिवारिक पृष्ठभूमि पनि छ । बुवा, हजुरबाहरूले गर्नुभएकै हो । उहाँ वंशकै आधारमा राजनीतिमा अघि बढ्नुभएको छ ।
मसँग लोकतान्त्रिक प्रतिस्पर्धामा हुनुहुन्छ । म पनि प्रतिस्पर्धामा छु । यो क्षेत्र मेरा लागि नयाँ थियो, अब नयाँ छैन । मैले गरेको कामको फेहरिस्त दसैँतिहारको अवसर पारेर सार्वजनिक पनि गरिसकेको छु ।
अहिलेको चुनावी गठबन्धनबारे तपाईंको धारणा के छ ?
गठबन्धन चुनावको अगाडि मात्र हो । त्यो पछि रहनेवाला छैन ।
पहिलेको जस्तो तपाईंको क्रेज स्खलित भएको देखिएको छ । बाहिरको चर्चाबारे के भन्नुहुन्छ ?
निर्वाचनको सुरुमा गाडी, मोटरसाइकल वा साइकल चलाउँदा स्टार्ट गर्दा केही बल लाग्छ अनि गति लिन्छ । एमालेमा कुनै विवाद छैन ।
कसलाई कसलाई उमेदवार बन्न मन छ भनेर दर्ता गराएरै छानेर टिकट दिएको हो । आकांक्षा धेरै छ । सबै आवश्यकता पूरा हुँदैन । एक समयमा डीभी, पीआरको कुराले ज्यान मार्नेसम्मको कुरा आएको थियो ।
संघीयता कार्यान्वयनमा मानवीय व्यवस्थापनको पाटो मबाहेक कसैले गरेन । सजिलो काममा जिम्मेवारी लिने र कठिन कामको जिम्मेवारी नलिने प्रवृत्ति छ । मैले कठिन जिम्मेवारी पनि वहन गरेको छु । तर, अस्वस्थ्य आलोचना गर्नेको विषयमा मलाई केही भन्नु छैन ।
लालबाबु पण्डितको अनुहार नै कालो छ भनिदियो भने म गोरो बनाउन सक्छु र ? साइकल चढेर पेट्रोल पनि लिए । मेरो निजी साधन साइकल हो । तर, काठमाडौ त गाडी चढेरै गएको हो । कहिले भाडा र कहिले प्लेनमा जान्छु यो स्वाभाविक कुरा हो तर यसलाई अस्वभाविक रूपमा प्रस्तुत गरियो ।
बहुदलीय व्यवस्थामा यस्ता लाञ्छना लगाउने गरिन्छ । स्वच्छन्दतावादीलाई जुनबेला जे पनि बोल्नुपर्ने हुन्छ । मैले शिर निहुराउने गरी राष्ट्रियता र सुशासनको सवालमा ।
प्रदेशसभाका तपाईंकै क्षेत्रका उमेदवारबारे अलि बढी आलोचना हुन्छ । त्यसले पनि तपाईंलाई असर परेको भनिएको छ नि !
एमालेभित्र पनि फरक फरक पृष्ठभूमि छ । मेरै पनि कजमोरी भए मैले सुधार गर्न पाउँछु नि ! अहिलेको सन्दर्भमा हेर्ने हो भने शंकाले लंका डढाउँछ ।
व्यवहार र विश्वासले नै जित्ने हो । सबै उमेदवार छौँ । कतिपयलाई सूर्य चिह्न पनि दिइएको छ । कतिपय तालमेल पनि छ । विविधताभित्रको एकता नै एमाले हो । एमालेले सहयोग गरेका उमेदवार समर्थन गरेका उमेदवार जितून् भन्ने हो । गन्जागोलभित्रको गठबन्धन छ । एमालेमा त्यो छैन ।
तपाईंले जित्ने आधार के छन् ?
आफ्नो मात्र भोटले जिँतिदैन । म गठबन्धनभित्रको भोट पनि लिन्छु । जसपाको भोट पनि आउँछ । आफ्नो भोट छँदै छ । तटस्थ मतदाता पनि मत लिन्छु ।
गठबन्धनको रटले मात्र जितिँदैन । मंसिर ४ गते अगाडि मात्र यसको आयु छ । आवश्यकता परे नयाँ रूपमा गठबन्धन बन्छ । तर, यही चुनावले यसभित्र रहेका धेरैको श्वास सकिनेवाला छ ।