site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मैले प्रतिस्पर्धी देखेको छैन, एमाले कार्यकर्ताले मलाई मत हाल्छन् : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर–१ बाट उमेदवार बनेका छन् । उनी सत्ता गठबन्धनका साझा उमेदवार हुन् । ०४८ सालपश्चात् खनालले निरन्तर यो क्षेत्रबाट प्रतिस्पर्धा गरेका छन् । ०५६ बाहेक बहुदलपछिका कुनै पनि निर्वाचनमा पराजय भोग्नुपरेको छैन । यही क्षेत्रबाट जितेर उनी प्रधानमन्त्री समेत बने ।

तर, खनालको विगत र वर्तमानको अवस्था फरक छ । ०२६ सालमा इलाममा कम्युनिस्ट पार्टीको पहिलो जिल्ला कमिटी गठन गरेको इतिहास बोकेका खनाल आफैँले विद्यार्थी राजनीति हुँदै हुर्काएको र वयस्क बनाएको पार्टी त्यागिसकेका छन् । माले हुँदै एमालेलाई हुर्काए । महासचिव हुँदै एमाले अध्यक्ष बने । अहिले एमालेमा छैनन् । एकीकृत समाजवादीमा दोस्रो वरीयताक्रममा छन् । यति बेला इलाममै रहेका खनालसित बाह्रखरीका रोमन आचार्यले गरेको निर्वाचनकेन्द्रित संवादको सम्पादित अंश :

नयाँ पार्टीबाट प्रतिस्पर्धामा हुनुहुन्छ, के भन्दै छन् मतदाताले घरदैलोका दौरान ?
म अहिले इलाम क्षेत्र नम्बर–१ मा पाँच पालिका र ३९ वडाहरू छन्, ती  क्षेत्रहरूमा पुगिरहेको छु । अहिले त हामी गठबन्धनमा पनि छौँ । जहाँ जहाँ म पुगिरहेको छु, हाम्रो पार्टीका कार्यकर्ताहरू गतिशील ढंगले अघि बढिरहनुभएको छ । प्रचारप्रसारको काममा उत्साहका साथ लागिरहनुभएको छ । संंगठन पनि निर्माण गरिरहनुभएको छ । गठबन्धनमा रहेका दल र उनीहरूका कार्यकर्ता पनि बढो एकताबद्ध भएर लागेको मैले पाएको छु । इलाम क्षेत्र नम्बर–१ बाट संघमा मलाई जिताउनुपर्छ भन्नेमा एकमत छ । नेकपा (एमाले)का कार्यकर्तामा पनि हामीले व्यक्ति बदल्नु हुँदैन, जसरी पनि झलनाथ खनाललाई जिताउनुपर्छ भनेर लागिपरेको पाएको छु ।

सूर्य चिह्न छोडेर कलम लिएर हिँड्नुभएको छ, मतदाताले विगतमा झैँ तपाईंलाई भोट हाल्छन् भन्ने लाग्छ ?
मैले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टी इलाम जिल्ला कमिटी गठन गरेको हो । त्यस बेलादेखि मैले जुन नीति, कार्यदिशा नीति, सिद्धान्त र लक्ष्य लिएर यो पार्टी निर्माण गरेँ, नेकपा (एमाले)को नवौँ महाधिवेशनसम्म त्यहीँ कार्यदिशाबमोजिम पार्टी अघि बढेर गयो । नवौँ महाधिवेशनपश्चात् निर्वाचित भएको नेतृत्व, केपी ओलीको नेतृत्वले त्यो कार्यदिशा र सिद्धान्त छोड्यो र पुँजीवादी कार्यदिशा नीति सिद्धान्त अँगाल्यो । यति मात्र होइन, भ्रष्टचारमुखी र गफको नीति लिएर अघि बढेपछि पार्टी पुनर्गठन गर्ने आवश्यकता ठान्यौँ । अहिले पुनर्गठित पार्टी हो यो । यसको सिद्धान्त, कार्यदिशा र नीति भनेको त्यही ०२६ सालदेखि हामीले अघि बढाएको दिशा, नीति र सिद्धान्त नै हुन् ।

विचारको रूपमा यहाँको जनतालाई नयाँ महसुस भएको छैन । बरु, जनवादी क्रान्ति सफल भयो, अब समाजवादतर्फ अघि बढ्नुपर्छ भन्ने उहाँहरूमा भावना छ । मात्र चिह्न फरक भएको हो । लामो समयसम्म सूर्यमा मत हालेको अब कलममा मत हाल्नुपर्ने भयो, अलिअलि महसुस भएको छ । विचारले नै चिह्न मिलाउने त हो नि । चिह्न भनेको त फगत पहिचान मात्र न हो, बाँकी त विचार र दिशा न हो । यो कुरा यहाँ र देशभरिका जनताले बुझ्न जरुरी थियो । अहिले बुझ्न थाल्नुभएको छ ।

प्रतिस्पर्धी पनि तपाईंहरूले नै अघि बढाउनुभएको व्यक्ति हुनुहुन्छ, सहज छ चुनाव जित्न ?
यहाँ चुनाव लड्ने ११ जना साथीहरू हुनुुहुन्छ । उहाँहरू सबैले मज्जाले प्रयासचाहिँ गरिरहनुभएको छ । तर, मैले प्रतिस्पर्धी देखेको छैन । मेरो प्रतिस्पर्धी कोही पनि देखेको छैन, जनताले पनि देखेका छैनन् । उहाँहरू प्रयास गरिरहनुभएको छ, त्यसका लागि धन्यवाद । यसैले लोकतन्त्रलाई बलियो बनाउने हो । कसैले ५० मत वा कसैले १२ वा कसैले १०० वा कसैले हजार बढी मत ल्याउनुहोला । तर, यहाँको पाँचै पालिका पुग्दा, जनताको कुरा बुझ्दा अर्को विकल्प देख्नुभएको छैन ।

स्थानीय तह निर्वाचनको मत हेर्दा तपाईंले जित्ने खालको स्थिति देखिँदैन, त्यो एउटा ‘फ्याक्टर’लाई स्वीकार त गर्नुपर्ला नि !
स्थानीय तह निर्वाचनको परिणाम र त्यसको तथ्यांकले खासै यहाँ असर गर्दैन । किनभने, जुन मत पार्टीहरूले जति पाए भनिएको छ नि, त्यो साँचो होइन । किनभने, एउटा पार्टीबाट उठेको वडाध्यक्षलाई चिनजान, आपसी सम्बन्ध र सरसहयोगको कारण पनि अरू पार्टीबाट भोट आउँछ । त्यसले छुट्ट्याउन सक्दैन । स्थानीय तह निर्वाचनको समयमा नेकपा (एस)ले उपयुक्त ढंगले तालमेल गर्ने मौका पनि पाएन । त्यसकारण हाम्रो मत कति थियो प्रस्ट पनि थिएन । जसले हामीले देशभर गठबन्धन गर्दाको मापदण्ड बनाउन सकेनौँ । हामीले बालुवाटारमा पनि यो छलफल गरेका छौँ । तर, अहिले तीन पार्टीको मत नेकपा (एमाले)को मतभन्दा त बढी छौँ नि । नेकपा (एमाले))का आमकार्यकर्ता, समर्थक, शुभेच्छुकहरूले मलाई मत हाल्छन् । मतान्तरचाहिँ कति हुन्छ भनेर अनुमान मात्र गर्न सकिन्छ ।

गठबन्धनको सिद्धान्त गणतन्त्रवादी र राजवादी एक ठाउँमा आउनु, वामपन्थी र डेमोक्रेटिक एक ठाउँमा उभिनु भन्ने हो ?
आम रूपमा सिद्धान्त नमिल्नेहरूसँग गरिने गठबन्धन राम्रो हुँदै होइन । तर, अहिले हामी पाँचदलीय गठबन्धन भने न्यूनतम सिद्धान्तमा छ । हामी गणतन्त्रवादी, लोकतन्त्रवादी, संविधानवादमा अडिएका छौँ । संविधान बचाउन, गणतन्त्र बचाउन गठबन्धन गरिएको हो । देशलाई स्थिरता दिन तथा विकासलाई तीव्र रूपमा अघि बढाउन गठबन्धन हो । गठबन्धन निश्चित नीति र सिद्धान्तमा छ ।

नेकपा (एमाले)को नेतृत्व कसरी गयो भने गणतन्त्रवादीहरूसँग पनि होइन, गणतन्त्रवादीहरूको गठबन्धनलाई दक्षिणपन्थी भन्छ । तर, राजतन्त्रवादीहरूको र धर्मवादीहरूको गठबन्धन गरेर राष्ट्रवादी र प्रगतिशील भन्छ । योचाहिँ नीतिहीनता र सिद्धान्तहीनता हो । यसकारण हामीले पार्टीभित्र विद्रोह गरेका हौँ । एमाले कार्यकर्ताहरूचाहिँ पवित्रै होलान्, अहिले पनि मलाई त्यस्तै लाग्छ । तर, उनीहरूलाई नेतृत्वले लगेर खाडलमा हालिसकेको छ, उनीहरूले थाहा पाएका छैनन् ।

स्थानीय तह निर्वाचनमा राम्रो गठबन्धन भएन भन्नुभएको थियो, अहिलेको गठबन्धन विश्वासिलो भएको आधार पाइसक्नुभयो ?
फरक–फरक दृष्टिकोण, नीति, कार्यक्रम र उद्देश्य भएका फरक–फरक पृष्ठभूमि र आ–आफ्नै पृष्ठभूमि भएका पार्टीहरूका बीचमा गठबन्धन छ । त्यसकारण एकदम सहज छ भन्न मिलेन । तर, अहिलेको ऐतिहासिक घडीमा सबै पार्टीहरूमा महसुस गहिरो गरेर भएको मैले के पाएँ भने, यति बेला संविधान, गणतन्त्र र मुलुकको स्थिरता बचाइएन भने मुलुकको राष्ट्रियता पनि खतम हुनसक्छ, मुलुकको प्रगति हुन सक्दैन र यो देश विदेशी मुलुकहरूको उपभोक्ता मुलुकमा रूपान्तरण हुन्छ । त्यसकारण हामीले मिलेर काम गर्नुपर्छ भन्ने ठाउँमा तल्लो तहसम्म कार्यकर्तापंक्ति पुगेको मैले पाएँ । यो एउटा राम्रो पक्ष हो । यसले भोट संकलनमा स्थिति गाह्रो देखिन्न ।

दुईपटक संसद् विघटन गरियो, प्रतिगमनको विरुद्धमा उभियौँ भनिरहनुभएको छ, मतदातको बुझाइ कस्तो पाउनुभएको छ ?
धेरै हदसम्म बुझेको र कतिपय ठाउँमा जिज्ञासा भएको पनि पाएँ । निर्वाचन घोषणा गर्नु नै प्रतिगमन हो त ? भन्ने ढंगले त्यो कोणबाट कुराहरू आएको पाएँ । के कुरा बुझ्नचाहिँ बाँकी रहेछ भने, केपी ओलीले यो देशमा दुईपटक संसद् विघटन गरेर चुनाव घोषणा गरे । त्यो कस्तो समयमा गरे भने, कोभिडको महामारीले देश व्यापक आक्रन्त थियो । पूर्व, पश्चिम, तराईं, पहाडमा मान्छे अकालमा मर्दै थिए । अस्पतालमा बेड थिएन । अक्सिजन थिएन, बाहिरबाट मगाएर जनतालाई बचाउन सकिएको थिएन । यस्तो अवस्थामा ओलीकै स्वास्थ्यमन्त्री र उनका कर्मचारीहरू भेला नहुनुहोस् है भनिरहेका थिए । संक्रमण बढ्छ, भेला भएर रोग नर्सानुस् भनिरहेका थिए, अनि त्यही सरकारको प्रमचाहिँ चुनाव घोषणा गरेर बसेका थिए । त्यो फगत षड्यन्त्र थियो । त्यो चुनाव सम्भव थिएन । चुनाव नहुँदा संविधान असफल हुने थियो । देशमा संसद् हुने थिएन । सरकार बनाउने अर्को ठाउँ थिएन । त्यही केपी ओलीबाहेक अर्को सरकार बन्ने थिएन । उसले आफूलाई चक्रवर्ती सम्राट हुने र यो संविधानलाई असफल बनाएर निरंकुश शासक बनेर शासन गर्ने प्रश्न जन्मियो ।

इलामका लागि तपाईंको संकल्प के छ ?
मेरो यो अन्तिम चुनाव हो, मैले घोषणा गरिसकेको छु । अहिलेको मेरो जीवन नाफाको जीवन पनि हो । रेगुलर जीवन हैन । मलाई कोभिडले सिध्याएकै हो । एपोलोले मलाई नाफाको जीवन दिएको हो । अब कमसेकम एकपटक इलाम जिल्लाको अग्रगति र प्रगतिको निम्ति काम गर्नुछ । यो जिल्लामा व्यापक पूर्वाधार निर्माणको माध्यमबाट विकास गर्न, पर्यटनको विकास गर्न काम गर्नुछ । यहाँको कृषि सेक्टरमा काम गर्नुछ । औद्योगिकीकरण र विद्युतीयकरण गरी सिंगो जिल्लालाई झिलिमिली नबनाई भएन । प्रत्येक घरमा बिजुली पुर्‍याउनुपर्‍यो भनेर ६५ करोडको योजना यही वर्ष पारेर कार्यान्वयनमा लाने क्रमको सुरुआत भएको छ । यस्ता खालका कुराहरू समेत गर्न एकपटक मैले इलामको नेतृत्व गर्नुपर्‍यो भनेर लागेको छु । यो फाइनल हो । त्यसपश्चात् विचारमान युवाले इलामको नेतृत्व गर्नुपर्छ भन्नेमा छु ।

‘बागी’को डर कति छ ?
खास मैले देखेको छैन । म विक्रम पाण्डे (स्वतन्त्र उमेदवार)को मतदाता हुँ भन्ने मैले कहीँ कतै मतदाता भेटेको छैन । मलाई डर छैन ।

निर्वाचनपछि के होला ?
देशभर गठबन्धन विजयी हुन्छ । जति तालमेल गरेका छौँ, अधिंकाश उमेदवारहरूको विजयी सुनिश्चित छ । प्राप्त सूचनाअनुसार गठबन्धन सहज विजयी हुन्छ र निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ ।

नेतृत्व कसको हुन्छ ?
नेतृत्व भनेचाहिँ बसेर हामी टुंगो लगाउँछौँ । पहिला चुनाव जितौँ भन्ने हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro