site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चुनावको मुखमा पोस्ता दानाको कोटा दिन ‘चलखेल’, व्यापारीलाई एक अर्ब फाइदा

काठमाडौं । सरकारले चुनावको मुखमा पोस्ता दानाको आयातको कोटा  खोल्ने तयारी गरेको छ । 

स्रोतका अनुसार ८ हजार मेट्रिक टन पोस्ता दानाको आयात खोल्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको हो । 

विदेशी मुद्राको सञ्चिति रोकिएको बेला निश्चित व्यवसायीलाई फाइदा पु¥याउन पोस्ता दानाको कोटा खुलाउने तयारी वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको हो । 

Argakhachi Cement Island Ad

पोस्ता दानाको आयात खुलाउने कामको जिम्मा भने ‘बिचौलियाको रुपमा’ चिनिएका रामचन्द्र भट्टले लिएका छन् । 

भट्ट प्रधानमन्त्री देउवा दम्पतीसँग निकट मानिन्छन् । विगतमा सुपारी, मरिच र केराउ आयात खुलाउन समेत भट्टले ‘लबिइङ’ गरेका थिए । 

सरकारले विदेशी मुद्रा सञ्चिति घटे पनि चैतमा यसको आयात केही व्यावसायिक फर्मलाई गर्न दिने निर्णय गरेको थियो । 

पछिल्लो समय भट्टले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीलाई आयातको कोटा निर्धारण गर्न दबाब दिएका छन् ।

मन्त्रालय स्रोतका अनुसार कर्मचारीहरु विदेशी मुद्राको सञ्चिति सकिएको बेला पोस्ता दानाको कोटा निर्धारण गर्ने पक्षमा छैनन् । 

“विदेशी मुद्राको सञ्चिति घटेको बेला नेपालमा उपभोग नै नहुने पोस्ता दानाको आयात गर्नुपर्ने औचित्य छैन,” वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीले भने, “माथिल्लो तहबाट खोल्नु भन्ने निर्देशन भए पनि अन्तिमसम्म रोक्ने प्रयास गर्ने हो ।”

सरकारले असोज महिनामा वाणिज्य सचिव गणेशराज पाण्डेको ठाउँमा अख्तियार सचिव तोयम रायलाई ल्याएको छ । 

अख्तियारमा सचिव रहेका रायलाई ल्याएपछि पोस्ताको कोटा निर्धारण सकिने अनुमान व्यवसायीको छ । 

लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा दुई हजार मेट्रिक टन पोस्ता दाना आयातको अनुमति दिएका थिए । 

गत वर्ष मन्त्रीबाट हट्नु अगाडि भट्टले २० वर्षसम्म आयात बन्द भएको पोस्ता दानाको कोटा निर्धारण गरेका थिए । 

कोटा निर्धारण नगर्दासम्म नेपालमा पोस्ता दाना भारतबाट नगन्य आयात भएको थियो ।  मन्त्री भट्टले कोटा निर्धारण गरेपछि गत आर्थिक वर्षमा १९ लाख ८० हजार किलो बराबरको पोस्ता दाना नेपाल भित्रिएको थियो । 

यसको आयातको लागि ८२ करोड रुपैयाँ बाहिरिएको थियो ।  सरकारले पोस्ता दानाको आयातबाट गत आर्थिक वर्षमा २४ करोड १६ लाख रुपैयाँ राजस्व पाएको भन्सार विभागको तथ्यांक छ । 

आर्थिक वर्ष २०७७–७८ मा पोस्ता दानाको आयातको कोटा खुलाएको थिएन ।  भारतबाट घरेलु प्रयोजनका लागि एक सय ८० किलो बराबरको २५ लाख ८० हजार रुपैयाँको पोस्ता दाना आयात भएको थियो । 

आर्थिक वर्ष २०७६–७७ मा यसको आयात नै भएको थिएन ।  भट्टले खुलाएको कोटा अन्तर्गत चालु आर्थिक वर्षको साउन महिनामा एक लाख ८ हजार किलो बराबरको तीन करोड ८३ लाख ७१ हजार रुपैयाँको पोस्ता दाना आयात भएको छ । 

कोटा सकिएपछि भदौ र असोज महिनामा पोस्ता दाना आयात नभएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । 

गत वर्षको कोटा सकिएपछि व्यवसायीले साउनदेखि आयात खुलाउन चलखेल गरेका थिए ।  पोस्ता दाना आयात गर्दा नेपालमा १० प्रतिशत भन्सार शुल्क तथा १३ प्रतिशत भ्याट लाग्छ । 

दुई वर्ष अगाडिसम्म आयात नहुँदा समेत उपभोग नभएको पोस्ता दाना आयातमा कोटा लिनुको पछाडिको कारण भनेको भारतमा तस्करी गर्नु हो । 

अहिले टर्कीमा एक किलो पोस्ता दानाको मूल्य साढे ३ अमेरिकी डलर जति पर्छ ।  ८ हजार मेट्रिक टन आयातको लागि दुई करोड ८० लाख अमेरिकी डलर खर्च हुन्छ । 

अमेरिकी डलरसँगको विनियमदर अनुसार यो भनेको तीन अर्ब ७० करोड नेपाली रुपैयाँ हो । 

८ हजार मेट्रिक टन पोस्ता दाना आयात गरेर भारतमा अवैध रुपमा निकासी गर्दा व्यापारीले एक अर्बभन्दा बढी पैसा कमाउँछन् । 

नेपालमा उपभोग नहुने पोस्ता दानाको बजार नै भारत हो ।  नेपालमा वैधानिक रुपमा एलसी खोलेर आयात हुने पोस्ता दाना भारतमा भने अवैध तरिकाले निकासी हुन्छ । 

यसरी निकासी भएको रकम व्यापारी हुण्डीलगायतका क्षेत्रमा प्रयोग गर्छन् । 

“सीधै तस्करीलाई फस्टाउनको लागि पोस्ता दाना आयातमा कोटा दिने तयारी सरकारले गरेको छ,” एक व्यवसायीले भने, “महंगो डलर तिरेर अवैध रुपमा केही व्यापारीलाई पोस्नको लागि पोस्ता आयातमा कोटा दिने खेल हुँदा राज्यलाई फाइदा छैन ।”

गत असारमा नेपालगञ्जको जमुनाह नाकाबाट भारततर्फ जान २५ किलो तौल भएको २४७ बोरा पोस्ता दाना प्रहरीले नियन्त्रणमा लिएको थियो । 

नेपालमा पोस्ता दानाको खेती हुँदैन । टर्कीबाट ल्याएको पोस्ता दाना अवैध रुपमा भारततर्फ निकासी हुँदा प्रहरीले असारमा नियन्त्रणमा लिएको थियो ।

पोस्ता दाना एक किसिमको अफिमको बियाँ हो ।  तर यो लागूऔषधि भने होइन ।  यसको प्रयोग तरकारी बनाउँदा तथा मिठाईमा भारतमा बढी प्रयोग हुन्छ । 

नेपालमा भने सामान्य मात्रामा प्रयोग हुने गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्