site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनताको गुनासो नेता गाउँ आएनन् भन्ने छ, मेरो क्षेत्रमा गरिबीका कारण कसैले ज्यान गुमाउनुपर्दैन 
Tiktok banner adTiktok banner ad

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट डा. सुनील शर्मा चुनावी मैदानमा छन् । 

पाँच दलिय गठबन्धनको तर्फबाट कांग्रेस नेता डा. शर्मा साझा उमेदवारको रुपमा चुनावी मैदानमा होमिएका हुन् । 

उनीसँग चुनाव भिड्न पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले नेता भानुभक्त ढकाल तथा राप्रपाबाट नायिका रेखा थापा पनि चुनावी मैदानमा छन् । 

मेडिकल कलेजका मालिक शर्माले ०७४ को निर्वाचन पनि यहाँबाट लडेका थिए ।  तर, तत्कालीन वाम गठबन्धनका उमेदवार भानुभक्त ढकालसँग उनी पराजित हुुनु परेको थियो । 

सोही पराजयको बदला लिने र गठबन्धनको सहयोगमा चुनाव जितेर सांसद बन्ने सपना शर्माको छ । 

उनै शर्मासँग बाह्रखरीले चुनावी बहस गरेको छ । प्रस्तुत छ शर्मासँग बाह्रखरीका कुमार लुइँटेलरोमन आचार्यले विराटनगर पुगेर गरेको संवादको सम्पादित अंश :–

चुनाव आउन धेरै दिन बाँकी छैन । पाँच दलको गठबन्धन मिलेर चुनाव लड्दैहुनुहुन्छ । कांग्रेस पार्टी आफैँभित्र एकता धेरै देखिँदैन भने गठबन्धनभित्र एकता छ यहाँ ?

कांग्रेस मासवेस पार्टी हो । मुलतः नेतृत्वबीचमा कुनै समस्या छैन ।  हिजो महाधिवेशनको समयमा दुई समूहको नेतृत्व गर्ने मुलीहरुनै अहिले मिलेका छन् । 

सानातिना छिटपुट असन्तुष्ट जहाँ पनि हुन्छन् , यहाँ पनि होला । 

त्यसलाई मिलाउने काम हामी गरिरहेका छौं । यो सबै पार्टीमा हुन्छ । शेरबहादुर देउवाको क्षेत्रमा कर्ण मल्लले विद्रोह गरिरहँदा यहाँ त देशभरिकै कम विवाद र समस्या छ । 

एक ढिक्का छौं र रहेका छिटपुट समस्यालाई अबको पाँच छ दिनभित्र समाधान गरिसक्छौं । 

अर्को कुरा गठबन्धनमा रहेका दलहरुको कुरा गर्दा माओवादी र नेकपा(एस) को गठबन्धनप्रति प्रतिवद्धता देख्दा मलाई लोभ लाग्छ । 

बरु हामी त्यति लागेका छैनौं होला , उहाँहरु गठबन्धनप्रति निष्ठावान् त्यतिधेरै हुनुहुन्छ । मलाई जिताउन गरेको उहाँको प्रयास देखेर म त ऋणी छु । 

तपाईं चुनाव प्रचारमा व्यस्त हुनुहुन्छ, मतदाताको घरदैलो पुगिरहँदा उनीहरुको अपेक्षा आशा के पाउनुभयो ? 

मैले टिकट पाइसकेपश्चात् प्रायः गाउँहरु म पुगिसकेको छु । जनतामा ठूलो गुनासो भेटिन ।  तर, चुनाव जितेर गएका नेता पाँचवर्षमा गाउँ फर्केर नआएको गुनासो उहाँहरुमा रहेछ । 

त्यसबाट चुनाव जितेपश्चात् गाउँ पुग्नुपर्ने अपरिहार्यता मैले महसुस गरे ।  जितेर गएका नेता गाउँ विकासमा घोसेमुन्टो लगाएर हिँडेको गुनासो छ । 

कोरोना जस्तो विश्व महामारीको समयमा समेत गाउँलाई नसम्झिाएको गुनासो उहाँहरुमा छ । 

जनताले भ्रष्टाचार नगर्ने नेता खोजेका छन् । राजनीतिमा वितृष्णा बढाउने र भ्रष्ट नेताले गाउँ नटेकुन् भन्ने चाहना जनतामा रहेछ । 

विकासका लागि आएको बजेट विकासमै पूर्ण खर्चहुनुपर्छ भन्ने यहाँको सचेत नागरिकको चाहना छ । 

तटबन्धन, सानो पैनी, बाटोको स्तरन्नति, बिजुली पोलको व्यवस्था, खानेपानी जस्ता सामान्य तर दैनिक आवश्यक्ता पूर्तिमा सहजता खोजेका छन् । 

र, महत्वपूर्ण चाहिँ नेपाल सरकारको स्वास्थ्यविमा कार्यक्रम झन्झटिलो भयो यसलाई सहज बनाउने तथा इन्स्योरेन्सले देशमा मात्र होइन विदेशमा पनि उपचार खर्च प्रयोग गर्न पाउनुपर्यो भन्ने छ । 

अनि शिक्षाको गुणस्तर बढाएर सार्वजनिक विद्यालयमा पनि अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षाको माग जनताले गरेका छन् । 

सामान्य मागभित्र सिङ्गो आवश्यकता लुकेको हुन्छ । जनताले मागेका छन्, तपाईंले दिने सेवा चाहिँ के हुनेछ ? जित्ने आधार के हो त ? 

स्थानीय तह निर्वाचनबाट काठमाडौंमा बालेन र धरानमा हर्कको माध्यमबाट जनताले भ्रष्टाचारी नेता चाहिँदैन भनेर सन्देश दिन खोजेको हो । 

त्यो सर्त पूरा गर्न सक्ने मोरङ्ग क्षेत्र नम्बर ३ मा सुनिल शर्मा अर्थात् म मात्र हो । यसमा म पूरा दावा गर्न सक्छु । 

मैले अहिलेसम्म सरकारी सेवामा प्रवेश गरेर भ्रष्टाचार गर्दै हिँडेको त छैन नि । कुनै भ्रष्टाचार सम्बन्धी मुद्दा त छैन नि । 

विगत चार वर्षदेखि शिक्षा र स्वास्थ्यमा राज्यलाई मैले सबैभन्दा धेरै कर बुझाइरहेको छु । 

एउटा सांसदले पाउने रकम ५ करोड होइन ? मैले स्वेच्छिक रुपमा ४–५ करोड त जनताको शिक्षामा र स्वास्थ्यमा खर्च गरिरहेको छु । 

अब भन्नुस् मैले वर्षको पाँच करोड किन राज्यबाट भ्रष्टाचार गर्नुपर्यो ? जनताले चाहेको योग्य उमेदवार म हो । जनताले मलाई भोट दिनेमा म विश्वस्त छु । 

तर चुनावी भिडन्त पूर्वस्वास्थ्मन्त्रीमात्र होइन चर्चित नायिका रेखा थापासँग पनि छ । यो चुनौतीपूर्ण चुनावी प्रतिष्पर्धा होइन र ? 

प्रतिष्पर्धा अहिले दुईबीच हो । सत्य कुरा के हो भने मेरो प्रतिष्पर्धा एमाले उमेदवार भानुभक्त ढकालसँगै हो ।

सांगठनिक संरचनाले पनि त्यसलाई पुष्टि गर्छ नि । रेखाजी त लामो समय यहाँ बस्नुनै भएन । उहाँको क्षेत्र पनि चलचित्र बन्यो । 

योगदानको कुरा गरौं न । समाजमा थिचिएर रहेको सतार समुदायबाट पनि प्रतिनिधित्व हुनेगरि डाक्टर बनाउन योगदान मैले गरे । 

सात सय बढी बच्चाहरुलाई मेडिकल पारामेडिकल पढाइसकेँ ।  एक लाख २० हजार नागरिकलाई यहाँबाट लगेर कम्तिमा ५० प्रतिशत र बढीमा पुरै फ्रि गरेर उपचार गरिसके । 

जनतामाझ तपाईंले प्रस्तुत गरिरहेको संकल्प चाहिँ के हो ?

लोहन्द्राको बाँधको समस्या छ । जनता एकदमै पीडित भएका छन् । अन्य खोलाहरुको समस्या पनि उस्तै छ । यी समस्या राष्ट्रिय आयोजनामा नपारी सुख छैन । किसानहरुलाई कुलोको राम्रो व्यवस्था गरेर आत्मनिर्भर कृषी क्षेत्र बनाउनु छ । म त्यो सक्छु र गर्छु । बाटो पिच गर्नुपर्ने, ग्राभेल गर्नुपर्ने, फराकिलो बनाउनुपर्नेलगायत समस्या छ । 

यो सबै त चुनावी वाचामात्रै हो कि ? मतदाता  पनि त्यस्तै भन्छन् ...

गत निर्वाचन अघि त्यो आरोप थियो । एमालेका साथीहरुले निकै फण्डा बनाउनुभयो । अहिले अवस्था त्यस्तो छैन । म निरन्तर जनतासँग छु । उहाँहरुले माया गर्नुभएको छ र गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु । 

अन्त्यमा स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुधार के के हुन्, कसरी सुधार गर्न सकिन्छ ? के लाग्छ तपाईंलाईं ? 

स्वास्थ्य विमालाई पाँच लाख बनायो र विश्वबजारमा जुनसुकै कुनाबाट पनि त्यसको उपभोग गर्न जनताले पायो भने ९५ प्रतिशत जनताको समस्याको हल हुन्छ । 

त्यसले कभर गर्छ । ठूला ठूला रोगमा सरकारले छुट्टै नीति लिएको छ । 

किड्नी, लिभर तथा अंगदानमा रकम अलि बढाउने र डायलिसलाई अलि व्यवस्थित गरेर बीमा रकम ५ लाख बनाउने हो भने समस्या समाधान हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro