site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई महिनामा तीन प्रधानमन्त्री पाएको बेलायतको राजनीतिक संकट के हो ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विश्वको सबैभन्दा पुरानो प्रजातान्त्रिक मुलुक बेलायत पछिल्लो समय एकपछि अर्को काण्डहरूको कारण चर्चामा छ । 

भर्खरै बेलायतले दई महिनाको अन्तरालमा तीनजना प्रधानमन्त्री पाएको छ । बेलायतमा किन एकाएक राजनीतिक संकट आएको होला ? यसबारेमा बुझ्न त्यहाँको पछिल्लो आम निर्वाचनसम्म पुग्नुपर्ने हुन्छ । 

सन् २०१९ मा बेलायतमा आम निर्वाचन भएको थियो । जसमा बोरिस जोनसनको नेतृत्वमा कन्जर्भेटिभ पार्टी र जेरेमी कोर्बिनको नेतृत्वमा लेबर पार्टी चुनावमा होमिएका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

जोनसनको नेतृत्वमा ६५० हाउस अफ कमन्समा ३६५ सिट जित्दै कन्जर्भेटिभ पार्टीले जनताको स्पष्ट म्यान्डेट पायो । लेबर पार्टी २०२ सिटमै खुम्चिन बाध्य भयो । 

त्यसपछि जोनसन प्रधानमन्त्री बने । तर उनले तीन वर्षपछि नै पदबाट राजीनामा दिनुपर्‍यो । त्यसका धेरै कारणहरू थिए । जनता र पार्टीको सामुुन्ने विश्वासको मत गुमाइसकेपछि उनी राजीनामा दिन बाध्य भएका थिए । 

Royal Enfield Island Ad

जोनसनको सत्ताको उल्टो गन्ती भने नोभेम्बर २०२१ बाट सुरु भएको थियो । कन्जर्भेटिभ पार्टीका सांसद एवं पूर्वमन्त्री ओवेन पिटर्सनले आफ्नो पदको दुरुपयोग गर्दै दुईवटा कम्पनीबाट फाइदा लिएको रिपोर्ट सार्वजनिक भएपछि उनीमाथि निलम्बनको प्रक्रिया अघि बढ्यो । तर, तत्कालीन प्रधानमन्त्री जोनसनले उक्त निलम्बन रोक्न पार्टीमा ह्विप लगाए ।

राजनीतिक रुपमा भ्रष्ट छवि भएका सांसदलाई जोगाउन जोनसन किन खाजिरहेका थिए ? 

यस्तै, जोनसनमाथि दोस्रो आक्षेप ३० नोभेम्बर २०२१ मा लाग्यो, जब पार्टीगेट काण्डको रिपोर्ट सार्वजनिक भयो । उक्त रिपोर्टमा काभिड १९ को संक्रमणबीच पूरै लन्डनमा लकडाउन हुँदा प्रधानमन्त्रीको कार्यालयमा काम गर्ने स्टाफले पार्टीको आयोजना गरेको तथ्य सार्वजनिक भयो । लन्डनबासीहरूलाई घरबाट बाहिर निस्किनसमेत नदिइरहेको बेला प्रधानमन्त्रीको कार्यालयमा काम गर्नेहरू भने पार्टी गरिरहेको समाचार सार्वजनिक हुँदा सामाजिक सञ्जालमा तहल्का मच्चिएको थियो । 

७ डिसेम्बर २०२१ मा अर्को ठूलो खुलासा भयो । एउटा भिडियो सार्वजनिक भयो जसमा प्रधानमन्त्री कार्यालयको प्रेस सचिव अलेग्रा स्यार्टनले ती पार्टीहरूको मजाक उडाइरहको देखिन्थ्यो । उक्त लिक भिडियोको कारण उनले पदबाट राजीनामा दिनुपरेको थियो । जोनसनको संकट यतिमै टुंगिदैन । त्यसपछि वालपेपरगेट कन्ट्रोभर्सीले झनै सरकार समस्यामा जकडियो ।  

बेलायतको निर्वाचन आयोगले कन्जर्भेटिभ पार्टीलाई १७ हजार ८ सय पाउन्डको जरिबाना तिर्न लगायो । प्रधानमन्त्री जोनसनले प्रधानमन्त्री निवासको रेनोभेसन गराएका थिए । त्यसको लागि उनले चन्दा पाएका थिए । तर, चन्दामा पाएको रकम उनले सार्वजनिक भने गरेका थिएनन्  प्रधानमन्त्री निवासको रिनोभेसनको लागि जम्मा बिल दुई लाख पाउन्ड थियो । तर, सरकारले ३० हजार पाउन्ड मात्र खर्च गर्न स्वीकृति दिएको थियो । 

१० जनवरी २०२२ मा पार्टीगेट काण्डमा अर्को एक खुलासा भयो । जसमा जोनसनको निजी सचिव मार्टिन रेनल्डको इमेल लिक भयो । उक्त इमेलबाट के थाहा हुन्छ भने प्रधानमन्त्रीको घरमा पार्टीको आयोजना गरी एकसय मानिसलाई आमन्त्रण गरिएको थियो । त्यसबेला पूरै देश लकडाउनमा थियो । 

उक्त पार्टीमा प्रधानमन्त्री जोनसन पनि सहभागी भएको समाचार सार्वजनिक हुन्छ । मिडिया र विपक्षी दलको दबाबपछि अन्ततः जोनसनले आफूमाथि लागेका आरोपको स्वीकार गर्छन् । जनताको सामु आएर उनले माफी माग्छन् तर त्यो कार्यक्रम पार्टी नभएको र वर्क इभेन्ट भएको दाबी गर्छन् । विपक्षी दलका सांसदहरूले उनले झुट बोलेको भन्दै संसदमै कडा आलोचना गर्छन् र राजीनामा माग्छन् ।

कन्जर्भेटिभ पार्टीकै कयौँँ सांसदले जोनसनको कुरा पत्याउँदैनन् र विपक्षी पार्टीमा प्रवेश गर्न थाल्छन् । जोनसनको पार्टीमा सहभागी भए नभएबारे जानकारी लिन अप्रिल २०२२ मा ब्रिटेनको मेट्रो पोलिटन प्रहरीले छानबिन गरेको थियो ।
प्रहरीले अनुसन्धानमा दोषी देखिएको भन्दै जोनसन र ऋषि सुनकमाथि जरिबाना तिर्न लगाएको थियो । 

प्रहरीकाअनुसार लकडाउनमा प्रधानमन्त्री जोनसनको जन्म दिनको पार्टीमा प्रधानमन्त्री र सुनक सामेल भएका थिए । सुनक तत्कालीन समयमा जोनसनको सरकारमा अर्थमन्त्री थिए । 

२५ मे २०२२ मा जोनसनलाई अर्को ठूलो झट्का लागेको थियो । पार्टीगेट काण्डबारे निजामती कर्मचारी सु ग्रेले अर्को ठूलो बृहत् रिपोर्ट सार्वजनिक गरेपछि थप झट्का लागेको थियो । उक्त रिपोर्टका अनुसार प्रधानमन्त्रीको निवास र कार्यालयमा एउटा मात्र होइन, धेरैवटा पार्टी आयोजना गरिएको थियो । पार्टी यस्तो थियो कि यी सांसदहरूले धेरै रक्पी पिएर, हल्ला गरेर सेक्युरिटी र क्लिनिङ स्टाफसँग झगडासमेत गरेका थिए । 

एकपछि अर्को काण्डहरू सार्वजनिक भइरहँदा जुन २०२२ सम्म आइपुग्दा जोनसनले जनताको सामु मात्र होइन, उनकै पार्टीका नेताहरूको समेत समर्थन गुमाइसकेका थिए । संसदमा विश्वासको मत माग्दा उनकै पार्टीका ४१ प्रतिशत सांसद्ले उनलाई प्रधानमन्त्रीबाट हटाउन मत दिएका थिए । तैपनि २११ सांसदको साथ पाएर उनी प्रधानमन्त्री त रहन्छन्, तर संकट यत्तिमै टरेन ।

जोनसनले नियुक्त गरेका नयाँ डेपुटी चिफ क्रिस पिन्चरले दुुई जनालाई यौन दुर्व्यवहार गरेको सार्वजनिक भयो । ३० जुनमा पिन्चरले लाज मानेर राजीनामा दिन बाध्य भएका थिए । त्यसबारेमा जोनसनलाई सोध्दा उनले आरोपबारे थाहा नभएको दाबी त्यसबेला गरेका थिए ।

तर, मिडियाले त्यस विषयमा थप अनुुसन्धान गर्दा पत्ता लाग्यो कि जोनसनलाई उक्त आरोपबारे सन् २०१९ मा नै थाहा थियो । यो खबर सार्वजनिक भएसँगै जोनसनको सरकारमा बसेका मन्त्रीहरूले दिक्क भएर राजीनामा दिएका थिए ।
सुनकले अर्थमन्त्रीबाट र साजिद जावेदले स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएका थिए ।

त्यसबेला २४ घण्टाभित्र ३६ सांसदले राजीनामा दिएका थिए भने ६२ सांसदले जोनसनको सरकार छाडेका थिए । सरकार चलाउन कोही नबचेपछि अन्ततः ७ जुलाई २०२२ मा उनले राजीनामा दिए ।

ट्रसको हालत झनै खराब, ४५ दिनमै राजीनामा

यसबीच जोनसनपछि को प्रधानमन्त्री हुने छलफल पार्टीभित्र सुरु भयो ।

सेप्टेम्बर २०२२ ब्रिटेनको लागि सबैभन्दा मुस्किलको क्षण । भर्खरै महारानी एलिजाबेथ द्वितीयको देहान्त भएको थियो ।

रुस युक्रेन युद्धले मुद्रास्फिति बढेको थियो । बेलायतले सामना गरेको धेरैजसो आर्थिक संकट सन् २०१६ मा युरोपियन युनियनबाट बेलायत छुट्टिने (ब्रिक्जिट)को कारण नै थियो । ब्रेक्जिटको पक्षमा फैसला गर्न प्रोपोगान्डा फैलाइएको थियो । झुटो बाचाहरू गरिएको थियो । 

तर, ब्रेक्जिटपछि आर्थिक संकटले बेलायतलाई झनै गाँजेको छ । त्यसमाथि पछिल्लो राजनीतिक घटनाक्रमले पार्टीको इज्जत धुमिल भएको थियो भने स्कटल्याण्डले बेलायतबाट टुक्रिने भन्दै जनमत संग्रह गर्ने धम्की दिइरहेको थियो । 

त्यसैबेला प्रक्रियाअनुसार एकसय सांसदको समर्थन पाएका सांसदहरूबीच प्रतिस्पर्धा हुने र प्रधानमन्त्री चुनिने भयो । जुलाई २०२२ मा जोनसनको राजीनामापछि दुई नेता लिज ट्रस र ऋषि सुनक प्रधानमन्त्रीको दाबेदारको रूपमा देखा परे । 

अनलाइन भोटिङबाट ५७ प्रतिशत मत प्राप्त गर्दै ट्रस बेलायतको प्रधानमन्त्री बनिन् । 

उनले महारानी एलिजाबेथ द्वितीयबाटै प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गर्न पाइन् । २३ सेप्टेम्बरमा उनले नयाँ आर्थिक योजना कर कटौतीलाई लिएर सार्वजनिक गरिन् । बेलायतको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने दाबी गरिन् । यस्तो कर कटौती ५० वर्षमा देखिएको थिएन । 

उनको आइडिया ट्रिकल डाउन इकोनोमिक्समा आधारित थियो । 

धनीहरूको लागि कर कटौती कम गर्ने र पछि पैसा बिस्तारै तल्लो वर्गसम्म पुगोस् भन्ने योजना थियो । तर, त्यो आइडिया फेल खायो । उक्त आइडिया घोषणासँगै ब्रिटिस पाउन्डको मूल्य स्वाट्टै तल झर्दै अहिलेसम्मकै सबैभन्दा तल्लो विन्दुमा पुग्यो । ब्याजको दर बढ्यो । 

यस्तो अवस्था देखेर अन्तर्राष्ट्रिय मुद्रा कोषले बेलायत सरकारलाई आफ्नो आर्थिक नीतिलाई पुनरावलोकन गर्न अनुरोध गर्‍यो । ट्रसले चान्सलर अफ द एक्सचेकर, क्वासी क्वार्टेङलाई साथमा लिएर उक्त आर्थिक अवधारणा घोषणा गरेकी थिइन् । 

आइडिया फेल खाएपछि १४ अक्टोबरमा उनले सारा दोष क्वार्टेङमाथि नै हालिदिइन् र उनलाई पदबाट हटाइन् । 

त्यसपछि जेरेमी हन्ट नयाँ चान्सलर नियुक्त भए । उनी पूर्वपरराष्ट्र सचिव थिए । उनी चान्सलर हुने बित्तिकै ट्रसले लागु गरेका सम्पूर्ण आर्थिक निर्णयहरू बदर गरिदिए । 

त्यसपछि ट्रस र हन्टबीचको द्वन्द्व सतहमा नै देखिन थाल्यो । कतै देश हन्टले त चलाएको होइन भन्ने खालको वातावरण सिर्जना भयो । यसबीच, ट्रसको छवि जनता र पार्टीको सामुन्ने तल खस्दै गयो । 

तत्कालीन समयमा रोयटर्सको ओपिनियन पोलअनुुसार जम्मा १० प्रतिशत जनताले मात्र ट्रसलाई प्रधानमन्त्रीको रूपमा विश्वास गर्ने र ८० प्रतिशतले उनलाई प्रधानमन्त्रीको लागि योग्य नभएको धारणा दिएका थिए । 

उक्त पोलले पूर्वप्रधानमन्त्री जोनसनको पालामा भन्दा पनि ट्रसको स्तर झन् तल खस्केको देखाएको थियो । 

उनी बेलायतको इतिहासमा सबैभन्दा कम रुचाइएको प्रधानमन्त्री बनिन् । उनको आफ्नै पार्टीका ५५ प्रतिशत सांसदले उनलाई हटाउन अपिल गरे । 

१९ अक्टोबर २०२२ मा संसदमा होहल्लाका बीच उनीविरुद्ध सांसहरूले राजीनामा मागेका थिए । भोलिपल्ट २० अक्टोबरमा उनले अन्ततः राजीनामा दिइन् । 

ट्रसको राजीनामाको पछाडिका कारणहरूमध्ये यो कारण रोचक छ । १९ अक्टोबर २०२२ मा लेबर पार्टीका सांसदले संसदमा नयाँ कानुन ल्याउन चाहन्थे । बेलायतमा फ्र्याकिङ बन्द गर्न । 

फ्र्याकिङ जमिनमुनिबाट तेल निकाल्ने प्रक्रिया हो, जसको कारण जमिनमुनिको पानी दूषित हुन्छ र समग्रमा वातावरणमा नै ठूलो असर पार्छ । यस प्रक्रियाको संसारभर आलोचना हुने गरेको छ । 

वातावरणसम्बन्धी उक्त कानुनलाई पास गरेर फ्र्याकिङलाई निषेध गर्ने लेबर पार्टीको चाहना थियो । तर, कन्जर्भेटिभ पार्टी उक्त कानुनलाई वातावरणीय कानुनको रूपमा मात्र हेर्दैनथे । सो कानुनको लागि भन्दै धेरै मत लेबर पार्टीको पक्षमा गए, पार्टीको छवि नराम्रो हुने, पार्टीले विश्वासको मत गुमाउने भन्दै कन्जर्भेटिभ (टोरी)का सांसदहरूको लागि एउटा ह्विप जारी भयो । 

टोरीका सबै सांसदहरूलाई उक्त कानुनको विपक्षमा मत दिन आह्वान गरियो । जसमा कडा ह्विप सय प्रतिशत तीन लाइन ह्विप जारी गरियो । 

छलफलको अन्तिममा संसदमा उक्त कानुनको अनुमोदनको लागि आउने मत प्रधानमन्त्रीको विश्वासको मतको रूपमा नहेर्ने बताएपछि टोरीका सांसदले मतबारे धारणा सार्वजनिक गरे । पार्टी बचोस् भनेर वातावरणको मुद्दालाई बेवास्ता गरेर मत दिन लागेको भन्दै यदि यसलाई विश्वासको मतको रूपमा हेरिन्न भने आफ्नो इच्छाले मत दिने धारणा उनीहरूले स्पष्ट पारे ।  

सांसदहरूले पार्टीले जबर्जस्ती र दबाबमा ट्रसको इच्छामुताविक मत दिन लगाएको भन्दै संसदमा रोष प्रकट गरेका थिए । सो संसद बैठकपछि ट्रसको गृहमन्त्रीले राजीनामा दिइन् । त्यसपछि ‘म लडाकु हुँ, भाग्ने खालको होइन’ भनेकी ट्रसले ४४ दिनपछि प्रधानमन्त्रीबाट राजीनामा दिइन् । 

बेलायतको वर्तमान अवस्था हेर्दा त्यहाँ कन्जर्भेटिभ पार्टीले निर्वाचनमा गए जित्ने अवसर शून्य बराबर छ । घोटला भइरहने, कान्ड गरिरहने, हरेक दोस्रो मान्छे प्रधानमन्त्री बनाउनुपर्ने पार्टीलाई जनताले किन मत दिनु ? तर, टोरीको कथा यतिमै सकिँदैन । 

त्यसपछि रेसमा पुन: देखा पर्छन् सुनक । तेस्रो प्रधानमन्त्रीको लागि लिडरहरू खडा हुन्छन् । जसमा सुनकले सबैभन्दा छिटो सय सांसद आफ्नो पक्षमा पार्छन् । 

यसपटक पनि जोनसन प्रधानमन्त्रीको लागि खडा हुने समाचार सार्वजनिक भएका थिए । तर, उनले सय सांसद जम्मा पार्न सकेनन् । २३ अक्टोबर २०२२ मा उनले नैतिकताको बाहना बनाउँदै उठ्न नचाहेको र कुनै इच्छा नभएको अभिव्यक्ति दिएका थिए । 

अर्की नेतृ पेन्नी मोर्डन्ट, उनले पनि सय सांसदको समर्थन जुटाउन सकिनन् । सुनक एक्लो सांसद जसले सय सांसदको समर्थन जुटाउन सकेकाले उनी प्रधानमन्त्री घोषित भए । 

सन् २०१५ मा संसद पसेका सुनक ७ वर्षमा नै प्रधानमन्त्री बनेका हुन् । ४२ वर्षे उनी बेलायतका सबैभन्दा धनी सांसद पनि हुन् । भारतीय मूलका सुनकको परिवार पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेको थियो ।

सुनकले सत्ता सम्हाल्नेबित्तिकै ट्रसले आफ्नो आर्थिक नीतिमा गल्ती गरेको र त्यसलाई समाधान गर्ने प्रयासमा काम गर्ने वाचा गरेका छन् । उनले भने, “मलाई मेरो पार्टीको नेता र उनीहरूलाई सच्याउनकै लागि तपार्इंको प्रधानमन्त्री चुनिएको हो । म आर्थिक स्थायित्व र विश्वासलाई यस सरकारको एजेन्डाको मुटुमा राख्नेछु ।”

उनको सामु चुनौतीको पहाड छ । जनता चुनाव चाहन्छन् । तर, सुनकले बेलायतको विद्यमान आर्थिक र राजनीतिक संकट कसरी सम्बोधन गर्नेछन्, त्यो हेर्न रोचक नै हुनेछ । 

सतहमा बेलायतमा राजनीतिक संकट देखिए पनि त्यहाँ खासमा लोकतन्त्रको सही अभ्यास भएको देख्न सकिन्छ । मिडियाले राजनीतिक दलको काण्डलाई बिना दबाब सार्वजनिक गर्न सक्छ । प्रहरीले छानबिन गरी प्रधानमन्त्रीलाई जरिबाना तिराउने ल्याकत राख्न सक्छ र निर्वाचन आयोग यति स्वतन्त्र छ कि सत्तासीन दललाई जरिबाना तिराउन सक्छ । 

हामी कहाँ पनि आम निर्वाचन हुँदैछ, तर निर्वाचन आयोग एकपछि अर्को ठूला पार्टी र शीर्ष नेताको पक्षपोषणको लागि निर्णयहरूको घोषणा गरिरहेको देखिन्छ । बेलायतमा पार्टीगेट र वालगेटजस्ता काण्डहरू सिधै प्रधानमन्त्रीसम्म जोडेर हेरिन्छ । पार्टीभित्र सांसदहरू स्वतन्त्र छन् कि आफ्नो प्रधानमन्त्रीमाथि प्रश्न उठाउन सक्छन् । तर, हामी कहाँ यस्तो अभ्यास असम्भव नै छ । काण्ड, भष्टाचार त्यहाँ पनि हुन्छ, तर अनुसन्धान र कारबाही हुन्छ । जुन हामी कहाँ असामान्य लाग्छन् ।

स्रोतः एजेन्सीको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro