site stats
बाह्रखरी :: Baahrakhari
विशेष
पोखरा र चितवनमा बढे पर्यटक, सरकारले सहयोग नगरेको व्यवसायीको गुनासो
फाइल तस्बिर ।

काठमाडौं । पोखरा र चितवनमा गत वर्षको तुलनामा यस वर्ष तिहारमा पर्यटकको संख्या बढेको छ । तिहारको बिदा लामो हुदाँ घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको व्यवसायीहरू बताउँछन् ।

पोखरा र चितवन आन्तरिक पर्यटकको पहिलो रोजाइमा गन्तव्य हुन् । त्यसमाथि चाडबाडका कारण परिवार, आफन्त र साथीभाइसँग घुम्न जानेहरूको संख्यामा वृद्धि भएको हो ।

कोरोना भाइरसका कारण बितेका दुई वर्ष पर्यटन क्षेत्रका लागि सुखद रहेनन् । ०७७ सालमा पूरै ठप्प बनेको पर्यटन क्षेत्र गएको वर्षदेखि भने चलायमान बन्न थालेको छ । गत वर्षको तुलनामा यस वर्ष बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस वर्षको दसैँ तिहारको बिदामा पोखरा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा वृद्धि भएको होटल एसोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् । तर, गत वर्षको तुलनामा यस वर्ष परिवारसँग पोखरा घुम्न आउने पर्यटकको संख्या भने घटेको उनको अनुभव छ । 

यस वर्ष पोखरामा आन्तरिक पर्यटकमा पनि युवाहरूको संख्या बढेको शाहले बताए । “२५ देखि ४० वर्ष उमेर समूहका पर्यटकहरू बढेका छन् । यस्तै परिवारसँग घुम्न आउनेको संख्या पनि राम्रो रहेको छ,” उनल भने ।

यस्तै, छिमेकी मुलक भारतबाट आउने पर्यटक पनि बढ्दो छ । परिवारसँग घुम्न आउनेको संख्याका हिसाबले कम भएपनि युवा पुस्ता र भारतीय पर्यटकको संख्या भने राम्रो छ ।

यता चितवनमा पनि अपेक्षाकृत पर्यटक नभएपनि तिहारको बिदामा घुम्न आउनेको संख्या बढेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराई बताउछन् ।

“जनु हिसाबले हामीले सोचेका थियौँ त्यहीअनुसार होइन । तर पनि तिहारको पछिको दिनमा आन्तरिक र छिमेकी मुलुक भारतबाट आउने पर्यटकको कारण चितवन र सौराहामा राम्रै रहेको छ,” भट्टराईले भने ।

चितवनमा घुम्न आउने पर्यटकहरूमध्ये झन्डै ८० प्रतिशत आन्तरिक पर्यटक छन् । आन्तरिकसँगै बाह्य पर्यटकको संख्या पनि बढेपछि होटलको अक्कुपेन्सी पनि राम्रो रहेको छ ।

कोरानाले अर्थतन्त्रमा देखिएको असर र रुस–युक्रेन युद्धका कारण यात्रा नै महँगो भएको छ । महँगीको कारण पनि पर्यटकको संख्या अपेक्षाकृत रूपमा बढ्न नसकेको जानकारहरू बताउँछन् । 

समन्वयको अभाव
कोरोनाले ठप्प पारेको पर्यटन क्षेत्र पुनः लयमा फर्किंदै छ । तर, सरकारले पर्यटन क्षेत्रको नीतिगत कार्यक्रम घोषणा नगर्दा अपेक्षाकृत रूपमा पर्यटक बढ्न नसकेको होटल एसोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् ।

“कोरोना लगत्तै डेंगी आयो । हामीले अहिले पूर्ण रूपमा स्वास्थ्य प्रोटोकल सामाग्री पालन गरेका छौँ । तर यसको बारेमा पर्यटकलाई बुभाउन नसक्दा पर्यटको संख्यामा वृद्धि हुन सकेको छैन,” उनले भने ।

निजी क्षेत्रले अहिले गर्नुपर्ने सबै तरिकाले प्रचार–प्रसार गरिसकेको शाहको दाबी छ । तर, सरकार र निजी क्षेत्रबीच समन्वय हुन नसक्दा अपेक्षाकृत रूपमा पर्यटक भित्र्याउन सफल हुन नसकेको शाहको धारणा छ । पर्यटन क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संघसंस्थाहरू प्रचारप्रसारमा चुकेको उनी बताउँछन् ।

“हामीले आह्वान गर्दापनि स्वास्थ्य प्रोटोकल पूर्ण रूपमा पालना गरेका छौँ । नेपालमा आउने पर्यटक कोरोना र डेंगीजस्ता रोगबाट पूर्ण रूपमा सुरक्षित छन् भन्ने विश्वास दिलाउन नसक्दा पर्यटकको संख्या अपेक्षाकृत हुन नसकेको हो । यसका लागि अब पर्यटन क्षेत्रमा काम गर्ने सबै सरकारी संयन्त्र र गैर–सरकारी संघसस्था मिलेर काम सकियो भने अपेक्षाकृत पर्यटन भित्र्याउन सहयोग पुग्छ,” उनले भने ।

सरकारले पर्यटकलाई लक्षित गरी घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयन र अनुगमनमा फितलो भएकाले पनि लक्ष्य अनुसार पर्यटक भित्र्याउन नसकेको व्यवसायीहरूको गुनासो छ ।

"सरकारले पर्यटन क्षेत्रका लागि कार्यक्रम घाषणा गर्ने तर पूर्ण रूपमा कार्यान्वयन नहुनु र फितलो अनुगमनका कारण पनि पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन सकिरहेको छैन । यसका लागि अब सरकार र निजी क्षेत्रबीच समन्वय गरेर अघि बढ्नुपर्छ,” शाहले भने ।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्