विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी ४ मंसिरको चुनावपछि बन्ने सरकारले अहिले टिकट नपाएर छुटेका कार्यकर्तालाई अवसर दिने बताएका छन् ।
सत्ता गठबन्धनले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले अहिले चुनावमा टिकट पाइनँ भनेर हतास नहुन आग्रह गरे । "सरकार बनेपछि फेरि अवसर पाइहाल्नुहुन्छ," उनले भने, "तपाईंहरूलाई हाम्रो सरकार बनिसकेपछि अवसरै अवसर हुनेछ। अहिले टिकट नपाएर अन्यायमा परेकालाई पनि निर्वाचनपछि बन्ने सरकारले सम्बोधन गर्नेछ ।"
आगामी ४ मंसिरको चुनाव सामान्य नभएको भन्दै प्रचण्डले संविधान, लोकतन्त्र र जनताका लागि एक ढिक्का हुन आग्रह गरे ।
लोकतन्त्र र परिवर्तनका विरोधी, प्रतिगामी शक्तिलाई परास्त गरेर विकास र समृद्धिको आधार तय गर्न गठबन्धन आवश्यक रहेको दाबी गर्दै प्रचण्डले यो चुनावलाई पनि आन्दोलनकै रूपमा बुझ्न आग्रह गरे ।