इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खान सार्वजनिक पदमा रहन अयोग्य रहेको बताएकाे छ ।
पूर्व क्रिक्रेटर खानले यसअघि नै यस मुद्दालाई लिएर आफूप्रति राजनीतिक पूर्वाग्रह राखिएको बताइसकेका छन् ।
खानमाथि विदेशी लब्ध प्रतिष्ठित व्यक्तित्वहरूबाट प्राप्त उपहारहरू र तिनीहरूको बिक्रीबाट प्राप्त रकम सम्बन्धमा विस्तृत विवरण सार्वजनिक नगरेको आरोप लगाइएको छ । खानले महँगा रोलेक्स घडीहरू र एउटा औँठी लगायत उपहार प्राप्त गरेको बताइएको छ ।
खानका वकिलहरूले आयोगको सो निर्णयविरुद्ध उच्च अदालतमा चुनौती दिने बताएका छन् ।
निर्वाचन आयोगको पाँच सदस्यीय समूहले सर्वसम्मत रूपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध यो निर्णय दिएको बीबीसीका पत्रकार अन्वर्सन एथिराजनले बताएका छन् ।
पाकिस्तानमा खान निकै लोकप्रिय रहेका छन् । हालै मात्र उनका पार्टीले उपनिर्वाचनमा अपार सफलता हासिल गरेको थियो ।
अविश्वासको मत पारित गरी सत्ताबाट हटाइए यता खानले आम निर्वाचनको पक्षमा मुलुकभरि नै र्यालीको आयोजना गर्दै आएका थिए । तर, खानमाथिको यो प्रतिबन्ध कति लामो समयसम्म कायम रहने भन्ने स्पष्ट भएको छैन ।
खानले गत महिनामा आफूले प्रधानमन्त्रीकालमा प्राप्त गरेका कम्तीमा चारवटा उपहार बेचेको र त्यसबापत प्राप्त रकम आफ्नो आयकरमा जोडेको बताएका थिए ।
पाकिस्तानमा सरकारी अधिकारीहरूले आफूले प्राप्त गरेका उपहारहरूको सार्वजनिक विवरण दिनु पर्दछ । यद्यपि, उनीहरूले केही उपहार सस्तो मूल्यमा निजी प्रयोजनका लागि पछि खरिद गर्न सक्छन् ।
बीबीसीबाट ।