site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सय वर्षपछि भारतीय कांग्रेसको नेतृत्व नेहरू–गान्धी परिवार बाहिर, खड्गेले फर्काउलान् साख ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय कांग्रेसले नयाँ नेतृत्व पाएको छ । गएको सोमबार भएको चुनावबाट मल्लिकार्जुन खड्गे नेतृत्वमा पुगेका हुन् । उनले प्रतिस्पर्धी शशि थरुरलाई सातहजार ८९६ मतले पराजित गरे । 

कांग्रेसको नेतृत्वका लागि दुई विख्यात उमेदवार थरुर र खड्गे मैदानमा थिए । तर, बाजी खड्गेले मारे । उनी १३७ वर्ष पुरानो पार्टीको नेतृत्वमा पुगेका हुन् । 

नेतृत्व चयनका लागि देशभर ४० मतदान केन्द्र र ६८ बुथमा मतदान भएको थियो । मतदान प्रक्रियामा ९ हजार ८०० जना प्रतिनिधि सामेल भएका थिए । जसमध्ये ९६ प्रतिशतले मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहान १० बजेदेखि सुरु भई दिउँसो ४ बजेसम्म सञ्चालन भएको मतदानको नतिजा दिल्लीको अकबर रोडस्थित पार्टी मुख्यालयमा आज घोषणा भएको थियो ।

भारतीय कांग्रेसको नेतृत्व चयनका लागि पछिल्लो २४ वर्षमा पहिलोपटक चुनाव भएको हो । यसअघि सन् १९९८ मा सीताराम केसरीलाई हटाएर सोनिया गान्धीले नेतृत्व लिएकी थिइन् । सोनिया सबैभन्दा लामो समयसम्म पार्टी सभापति (१९९८–२०१९) बनिन् ।

Global Ime bank

सन् २०१७ र २०१९ बिच राहुल गान्धी सभापति बने । तर, सन् २०१९ मा भएको आम चुनावमा पार्टीले निराशाजनक प्रदर्शन गरेपछि उनले कमजोरी स्वीकार्दै पद त्यागे । अन्तरिम अध्यक्षको रूपमा आमा सोनिया गान्धीले नेतृत्व लिएकी थिइन् । अब खड्गे निर्वाचित भएसँगै नेतृत्व गान्धी परिवार बाहिर पुगेको छ ।

पार्टी एक सय वर्ष नेहरू–गान्धी परिवारको हातमा
कांग्रेस भारतका सबैभन्दा पुराना पार्टीहरूमध्ये एक हो । तर, पार्टी लामो समयदेखि नेहरू–गान्धी परिवारको 'जागिर' गर्ने थलो भएको भन्दै भारतमा तीव्र आलोचना हुँदै आएको थियो ।

अहिलेसम्म परिवारका ६ सदस्यहरू मोतीलाल नेहरू, जवाहरलाल नेहरू, इन्दिरा गान्धी, राजीव गान्धी, सोनिया र राहुलले कांग्रेस पार्टीको नेतृत्व गरेका छन् । कांग्रेसको अस्तित्वको १३७ वर्षमा नेहरू–गान्धी परिवारका सदस्यहरूले मात्र एक सय वर्षभन्दा बढी समयसम्म पार्टीको नेतृत्व गरेका छन् । मोतीलाल नेहरू पहिलोपटक सन् १९१९ मा पार्टी सभापनि बनेका थिए । मोतीलालको पाँचौँ पुस्तासम्मले पार्टीको नेतृत्व गरे । 

पार्टीमा गान्धी परिवारको दबाबको आलोचनालाई रोक्न राहुलले पार्टीले पार्टी प्रमुखको रूपमा गैर–गान्धी चयन गर्नुपर्ने धारणा राखेको थिए । फलस्वरूप गान्धी परिवारको कट्टर बफादार मित्र खड्गे सभापतिका लागि उठे । उनलाई वरिष्ठ कांग्रेस नेताहरू र पार्टीको शीर्ष कमान्डको समर्थन थियो ।

खड्गेलाई खुला समर्थन गरेका पार्टीका कतिपय शीर्ष नेताहरूले थरुरलाई भेट्नसमेत नचाहेको भन्दै थरुर आफैँले आलोचना गरेका थिए । जसले कांग्रेसको सभापतिको चुनावको विश्वसनीयतामाथि प्रश्न पनि उठेको थियो ।

चाखलाग्दो कुरा त के छ खड्गेलाई मनोनयनमा 'ग्रुप अफ २३' (जी–२३) वरिष्ठ कांग्रेस नेताहरूको समर्थन गरेका थिए । जी–२३ तथाकथित विद्रोहीहरूको समूह हो, जसले अगस्ट २०२० मा सोनियालाई खुला पत्रमार्फत पार्टीमा प्रणालीगत परिवर्तन गर्न आग्रह गरेका थिए । थरूर सोही जी–२३ सामेल थिए । 

कर्नाटकको कालाबुर्गी जिल्लाको एक साधारण पार्टी कार्यकर्तादेखि सभापति पदको दौडमा खड्गेको यात्रा उतारचढावले भरिएको छ । दक्षिणका दलित नेता खड्गेलाई सभापति पदको दाबेदार बनाएर कांग्रेसले पार्टीभित्रको क्षमताको बलमा साधारण कार्यकर्ता पनि सभापतिमा पुग्न सकिन्छ भन्ने सन्देश कार्यकर्तालाई दिन खोजेको भारतीय विश्लेषकहरूको भनाइ छ । 

सन् १९७२ मा आफ्नो राजनीतिक करिअर सुरु गरेका खड्गेले कर्नाटकको कालाबुर्गी जिल्लाको गुरमितकल सिटबाट लगातार नौ पटक विधायकको चुनाव जितेका थिए । त्यसपछि उनलाई कन्नड भाषामा ‘सोल इलाडे सरदार’ भनियो, जसलाई चुनावमा हराउन असम्भव छ ।

पहिलोपटक सन् २००९ मा लोकसभामा निर्वाचित भएका उनी केन्द्रमा मनमोहन सिंह नेतृत्वको यूपीए सरकारमा मन्त्री बनेका थिए । आफ्नो कार्यकालमा उनले संविधान संशोधनका लागि अभियान चलाएका थिए । जसका कारण हैदराबाद र कर्नाटक क्षेत्रका जनताले शिक्षा र रोजगारीमा आरक्षण पाएका थिए । सन् २०१४ मा उनी लोकसभामा विपक्षी दलको नेता थिए । तर, २०१९ मा चुनाव हारे । 

के खड्गे मोदीको भाजपाविरुद्ध उभिन सक्लान् ?
आठ वर्षदेखि सत्ताबाहिर रहेको कांग्रेस पार्टी पुन: सत्ताको स्वाद चाख्न चाहन्छ । तर, ८० वर्षीय नवनिर्वाचित सभापति खड्गे नरेन्द्र मोदीविरुद्ध उभिन नसक्ने भारतीय विश्लेषकहरू बताउँछन् । उनीसँग काम गर्ने प्रशासनिक अधिकारीहरूका अनुसार खड्गे एक चतुर राजनीतिज्ञ हुन्, जसले विनम्रताका साथ व्यवहार गर्छन् । तर, उनी मोदीको उत्तर भने होइनन् ।

राजनीतिक टिप्पणीकार के बेनेडिक्टलाई उद्धृत गर्दै बीबीसी हिन्दीले भनेको छ,  “खड्गे एकदमै नरम व्यक्ति हुन् । थरुर प्रधानमन्त्री पदका लागि राम्रो उमेदवार हुन सक्छन् । तर, कांग्रेस अध्यक्ष पदका लागि उनी राम्रो उमेदवार होइनन् । कांग्रेसलाई पुनः ऊर्जावान बनाउन आवश्यक छ । पार्टी मर्मत गर्नुपर्छ । तर, खड्गेले भाजपालाई जित्न सक्ने छैनन् ।”

सन् २०१९ को आम निर्वाचनमा कांग्रेस २० भन्दा पनि कम सिटमा खुम्चिएको थियो ।

सेन्ट स्टिफन्स कलेजमा अध्ययन गरेका थरुरलाई देशका थोरै बुद्धिजीवीहरूमध्ये एक गनिन्छन् । विदेशमा पनि पढेका उनी सानै उमेरमा संयुक्त राष्ट्रमा काम गरे । उनी संयुक्त राष्ट्र संघको उप–महासचिव बने । भारतले उनलाई महासचिव पदका लागि समर्थन गरे पनि सफल हुन भने सकेनन् ।

पार्टी वृद्धहरूकै कब्जामा
कुनै पनि राजनीतिक पार्टीले कुनै खास समय परिस्थितिमा के निर्णय गरिरहेको छ भन्ने कुरा तत्कालको अवस्थालाई मात्र हेरेर, देखेर भन्न नसकिने राजनीतिक विश्लेषक शंकर तिवारी बताउँछन् । महात्मा गान्धीले समेत सुभासचन्द्र बोसविरुद्ध कांग्रेस पार्टीको सभापतिका लागि सिताराम पद्गैयालाई उठाएका थिए । तर, पद्गैयालाई पराजित गर्दै बोस पार्टीको सभापति बने । तर, महात्मा गान्धीको असहयोगका कारण बोसले एक वर्षको कार्यकाल पनि पूरा नगरी राजीनामा दिनुपर्‍यो । जुन १९३० को दशकको कुरा थियो । 

अहिलेमात्र नभएर जवाहरलाल नेहरूको पालामा पनि पार्टी सभापति को बन्ने भन्नेमा नेहरू र सरदार बल्लभभाई पटेलबीच द्वन्द्व चलेको विश्लेषक तिवारी स्मरण गर्छन् । विश्वकै सबैभन्दा पुरानो पार्टीमध्ये एक मानिने, सय वर्ष पार गरेको पार्टीको चुनावमा राष्ट्रिय नेतृत्वका लागि भएको चुनावमा देखिएको ध्रुवीकरण सही नभएको उनको विश्लेषण छ ।

भन्छन्, “झट्ट हेर्दा राम्रो देखिएको छैन । एकातर्फ कांग्रेस कुलीनहरूको पार्टी भनिएकाले दलितलाई अध्यक्षमा निर्वाचित गरेको छ । तर, ती दलित समुदायका नेता जो कुलीन भन्दा बाहिरी वर्गबाट आएका छन्, उहाँ स्वयम् कुलीनको कब्जामा हुनुहुन्छ ।” 

कतिपय जानकारहरू खड्गेको उमेर र विचारका कारण देशको नयाँ राजनीतिक परिस्थितिलाई नयाँ विचार र गति दिन नसक्ने आकलन गर्छन् । तर, दुनियाँभरका एकस्पोजर पाएका, पार्टीलाई आवश्यक पर्ने नयाँ विचार र गति दिन सक्ने, समयको पदछाप बुझ्न सक्नेलाई कांग्रेस कार्यकर्ताले अनुमोदन नगरेको विश्लेषक तिवारीको टिप्पणी छ ।

उनका अनुसार पछिल्लो समय पार्टीको जुन शक्तिको संरचना  छ, त्यो संरचनाले थरुर भन्दा खड्गेसँग काम गर्न सहज ठानेर कांग्रेस पार्टीका मतदाताले यस्तो निर्णय गरेका हुन् । उनले राजनीतिक शास्त्रको 'आइरन ल अफ ओलीगार्ची'को जिकिर गर्दै भने, “त्यो वृद्धतन्त्रले पार्टीको शंक्ति संरचनामा पार्टीमा शक्तिशाली रहेका मानिसहरू त्यसमा रहेको शक्तिलाई आफ्नो पक्षका मानिसलाई जिताउँदा नै सहज हुुन्छ भनेर यस्तो गरेका हुन् । यसको परिणाम आगामी दिनमा हेर्न लायक र रोचक हुनेछ ।” 

भारतीय जनता पार्टी (भाजपा)ले कांग्रेसलाई 'दलित विरोधी, मुस्लिम विरोधी पार्टी'का रूपमा प्रचार गर्दै आएको छ । ८० वर्षीय दलित समुदायका खड्गेको जितले एउटा जवाफ त दिएको छ तर त्यो जवाफ मात्रै कांग्रेसलाई जिताउन र दिशा दिन पर्याप्त नहुने तिवारीको विश्वास छ । भन्छन्, “खड्गेलाई राखेर चलाउँदा त्यहाँभित्र खाइपाइ आएकालाई सजिलो हुन्छ । तर, थरुरलाई कुरा मनाउन कठिन थियो । त्यसैले अनुमोदन गरेनन् ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !