काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई उपप्रधानमन्त्री बनाएर नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ को सम्मान गरेको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफू संविधान जारी हुँदा पार्टीको निर्णयबमोजिम उपप्रधानमन्त्री भएको बताए ।
“कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा म उपप्रधानमन्त्री थिएँ । कांग्रेस पार्टीले १ नम्बर क्षेत्रबाट चुनेर पठाएको उपप्रधानमन्त्री बनाएको हो नि, प्रकाशमान बनेको होइन । पार्टीले काठमाडौं क्षेत्र नम्बर १ लाई सम्मान गरेको हो नि,” उनले भने ।
नेता सिंहले निर्वाचनपश्चात् नयाँ संविधानलाई कार्यान्वयन गर्ने मिसन बाँकी रहेको भन्दै गठबन्धनलाई जिताएर जनताले सहयोग गर्नुपर्ने बताए । साथै, उनले रुख चिह्नमा भोट हालेर सहयोग गर्न आग्रह गरे ।
उनले संघीयतामाथि प्रश्न उठेको भन्दै संघले अधिकार दिन नखोज्दा र आवश्यक कानुन बनाउन नसक्दा प्रश्न उठ्ने ठाउँ रहेको बताए ।
सिंहले पार्टीले जितेर सरकार बनाउने र संविधानमा तोकिएको अधिकार प्रदेश र स्थानीय तहलाई हस्तानान्तरण गर्ने उल्लेख गरे । नेता सिंहले नारामा भनिएजस्तो सिंहदरबारको अधिकार हरेक वडावडामा पुरउने काम कांग्रेसले गर्ने दाबी गरे ।
तपाईं आगामी प्रधानमन्त्री उमेदवार हो भन्ने प्रश्नमा प्रकाशमानले राजनीति सम्भावनाको खेल रहेको बताए । रानजनीति भनेको सम्भावनाको खेल भएको भन्दै भोलिका दिनमा प्रधानमन्त्री बन्न सक्ने र नसक्ने सम्भावना उत्तिकै रहेको उनले बताए ।
उनले अहिले सांसद मात्र निर्वाचित हुने भन्दै त्यसपछि अन्य पदको आकांक्षा राख्ने बताए । “भोलि संसदीय दलको संरचना र पार्टीले गर्ने निर्णयले त्यसको निर्धारण गर्ने हो,” उनले भने, “अहिले नै कुनै पदको आकांक्षा राख्नेभन्दा भोलिको आवश्यकताका आधारमा अघि बढ्ने हो ।”