पोखरा । निर्वाचन नजिकिँदै गर्दा कास्कीका एक उमेदवारले आफ्ना प्रतिष्पर्धीमाथि गम्भीर आरोप लगाएका छन । कास्की १ (क)मा गठबन्धनबाट माओवादी केन्द्रका दीपक कोइराला उमेदवार छन् । उनका प्रतिष्पर्धी एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी हुन् ।
अघिल्लोपटक बाम गठबन्धनबाट प्रतिनिधिसभामा जितेका खगराज र प्रदेशमा जितेका कोइराला अहिले आमनेसामने छन् । एमालेले खगराजलाई मुख्यमन्त्रीको उमेदवारको रुपमा अगाडि बढाएको छ । उनै मुख्यमन्त्रीका आकांक्षी खगराजले प्रतिस्पर्धी कोइरालामाथि हातहतियार तथा खरखजना मुद्दा भएको आरोप लगाएका हुन् ।
गठबन्धनबाट उमेदवार बनेका दीपक कोइरालाको मुद्दा हात हतियार तथा खरखजना अन्तर्गत रहेको भन्दै उमेदवार बन्न अयोग्य रहेको उनले बताएका छन् ।
“मैले साथ दिएर उसले जित्यो भन्नुभएको छ साथीले । ०५१ सालमा पनि उहाँ यतै हुनुहुन्थ्यो कि जनयुद्धमा हुनुहुन्थ्यो, हात हतियार खरखजनामा उहाँको नाममा मुद्दा परेको सीडीओ कार्यालयमा हेर्नुहोला,” उनले भने, “उहाँ त उमेदवारका लागि पनि योग्य हो कि होइन भनेर खोज्नुपर्ने अवस्था छ । म त्यता पनि जान चाहान्नँ । सीडीओ कार्यालयमा गएर हेर्नुहोला ।”
प्रतिस्पर्धी कोइरालाले भने आफूमाथि लागेको आरोपको खण्डन गरे । “म माथि उहाँले भनेजस्तो केही आरोप छैन,” उनले भने ।