बुटवल । लुम्बिनी विकास कोषले सञ्चालन गरेको बिजुली बसको यान्त्रिक परीक्षणलाई छठपर्वसम्म निरन्तरता दिइने भएको छ । लुम्बिनी विकास कोषको बिहीबार बसेको सचिवालय बैठकले नि:शुल्क बस सेवा तिहारसहित छठसम्म दिने निर्णय गरेको हो ।
दसैँको अवधिमा नि:शुल्क बिजुली बसप्रति आर्कषण बढेकाले तिहार र छठसम्म सेवा दिने निर्णय भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
दसैँको अवसर पारेर असोज १३ गतेबाट नि:शुल्क रूपमा बौद्ध परिपथ क्षेत्रमा नि:शुल्क बिजुली बस सञ्चालन गरिएको थियो । बुधबारसम्म साढे ९ हजार बढीले लुम्बिनीको धम्म यात्रामा सहभागी भएको कोषका बोर्ड सदस्य तथा परीक्षण इकाइ संयोजक विश्वराज पौडेलले जानकारी दिए ।
लुम्बिनी विकास कोषले पाँचवटा बस लुम्बिनी तिलौराकोट, लुम्बिनी देवदह, लुम्बिनी रामग्राम, लुम्बिनी बुटवल र लुम्बिनी सैनामैना क्षेत्रमा नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।