site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सेकेन्ड ह्यान्ड आइमाई !
Sarbottam CementSarbottam Cement

अफिसको काम सधैँभन्दा चाँडै सकियो । त्यसैले रिनु भाउजूलाई नजिकैको एक क्याफेमा भेटेर बाँकी रहेको लेखको काम सल्टाइहाल्ने विचारले फोन गरेँ । उहाँले पनि आज शुक्रबार अफिसबाट घर अलिकति ढिलो पुग्दा केही नहुने भन्दै छिट्टै आइहाल्न आग्रह गर्नुभयो । त्यसपछि म फटाफट त्यतैतिर लागेँ ।

म पुग्दा क्याफेमा निकै भिड थियो । आफूलाई केटाकेटी छँदादेखि नै नचिनेका मान्छेहरूको भिडसँग असजिलो लाग्ने । अहिले पनि त्यस्तै भयो । त्यो असजिलोपनलाई मनको एउटा कुनोमा लुकाएर यसो वरिपरि हेर्दा त केटीहरूको संख्या पो उल्लेख्य देखेँ ।

अझ तिनका आँखामा झल्किएको आत्मविश्वासले मेरो शरीरभरि काँडा उम्रिए । ‘आइमाई’को सामाजिक परिभाषाको साँघुरो परिधि नाघेर बाहिर आउन सकेको यो पुस्ता देखेर मेरो असजिलोपन थोरै भए पनि हरायो ।

Prabhu Bank
Agni Group
NIC Asia

अलिकति सजिलो महसुस भएपछि अबचाहिँ कतै बस्नुपर्यो भनी खाली ठाउँ खोज्दा वरिपरि कहीँ देखिनँ । देखेजति टेबलहरू सबै प्याक थिए । अनि, दुईजना मात्र अट्ने सानो काउच खाली भए नि हुन्थ्यो भनी क्याफेको एक कुनामा ठिंग उभ्भिएर सोच्दै थिएँ, मेरो मनकै कुरो बुझेझैँ गरेर “म्याडम, ऊ त्यहाँ काउच खाली भएको छ, बस्नोस् न !” भनेर छेवैबाट हिँडेको वेटरले मेरै पछाडितिरको खाली काउच देखाउँदै भन्यो ।

उसलाई धन्यवाद दिँदै म काउचतिर लागेँ । त्यसको पाँच मिनेट नबित्दै रिनु भाउजू स्वाँस्वाँ र फ्याँफ्याँ गदै आइपुग्नुभयो ।

Global Ime bank

“अबचाहिँ बुढेसकाल लागेजस्तो छ है मैया रानी ।” स्वाँस्वाँलाई उमेरको दोष लगाएर झुटो बोल्दै गरेको भाउजूका ओठहरूमा लाजको लहर तैरिएको भने उहाँलाई पत्तै थिएन ।

“अहिल्यै बुढेसकाल लाग्यो भन्न मिल्ला र भाउजू ?”

मलाई उहाँले आफ्नो स्वास्थ्यको कुरा उमेरतिर लगेर पन्छाएको मनै परेन । अरूकै हेरविचारमा दिनरात खट्यो, बिहान उठेदेखि राति दश नबजेसम्म कामले भाउजूलाई बाइबाई भन्दैन । मान्छेको शरीरको पनि खट्न सक्ने एउटा सीमा हुन्छ, जसलाई नाघेपछि स्वाँस्वाँ र फ्याँफ्याँ नभएर के होस् त !

हृदयभरि भाउजूप्रति सहानुभूति राख्दै काउचमा राखेको मेरो अफिसको फाइल पन्छाएर उहाँलाई बस्ने ठाउँ खाली गरिदिएँ ।

“धेरै बेर बस्न नभ्याउने भएँ । ग्यास सिलिन्डरको डेलिभरी आउँछ भनेर एकैछिनअघि फोन आयो, के गर्ने ? घरमा त्यति बेला कोही हँुदैनन् । मैले नै पुग्नुपर्छ,” काउचमा थचक्क बस्दै भाउजूले सुनाउनुभयो ।

“हो र ! कस्तो त्यो फोन पनि अहिल्यै आउनपर्ने । किन भएभरको जिम्मेवारी हामीलाई मात्र होला क्या !,” निराश हुँदै बोले म ।

“जिन्दगी... मैया रानी जिन्दगी ! जे पर्छ, बेहोर्नुपर्छ,” व्यवहारसँग आत्मसमर्पण गरेकी भाउजूले फिस्स हाँसेर ल्यापटप ब्यागबाट झिक्दै गर्दा मलाई पनि लाग्यो– हो, वास्तवमै जिन्दगी क्या जिन्दगी ! अनि, समझदार भै’टोपल्दै ल्यापटप अन गर्न लागेकी भाउजूको लेख हेर्न तम्सिएँ ।

“धेरै अपेक्षा नराखे हुन्छ मैया ! मैले आधाउधी मात्र लेखेकी छु,” भाउजूले वर्ड फाइल खोल्दै मतिर हेरेर भन्नुभयो, “ढिलो नगरी लेखको पहिलो हरफ पढ्न सुरु गरेँ है त ।”

“हस्,” मैले मुन्टो हल्लाएँ ।

“पश्चिमतिरबाट पूर्व हान्निएको महिला अधिकारको हावा सुइँसुइँती चलेर  अहिलेसम्म त दक्षिणतिर भ्याईवरी उत्तरी तिब्वतको हिमरेखासम्म पुगिसक्यो रे ! त्यो वेगले बहेको हावासँगै महिला स्वतन्त्रताका पातहरू जताततै हल्लिन थालिसके रे !”

एक हरफ पढिसकेर पुलुक्क मेरो मुख हेर्दै ‘कस्तो छ ?’ भनी भाउजूका आँखीभुइँहरूले सोधे । मनमनै कस्तो केटाकेटीले लेखेजस्तो सुरुवात भन्ने लागे पनि मैले ‘गज्जब छ’ को संकेतमा आँखा ठूल्ठूला पारिदिएँ । त्यही सांकेतिक हौसलामा अडिएर भाउजूले दोस्रो हरफ पढ्न थाल्नुभयो ।

“केही हप्ताअघि मात्र ‘मी टू’को आँधीबेहरीमा परेर मेरै छिमेकी झन्डै जेल चलान नभएका ! उनकै श्रीमती बिचरीले हारगुहार गरेर त्यस्तो हुनबाट रोकिन् रे ! अचेल त उनीहरूको घरकोे सटरमा तरकारी पसल थापेर बसेको मिठुलालले उसकै छोरालाई मिन्टु भनेर बोलाउँदा श्रीमान्चाहिँ मी टू भनेको सुनेर झस्किन्छन् रे ! शब्दै चेतावनीमूलक भएर होला, आफ्नै छोराछोरीलाई पनि ‘मेरो मुटु’ भनेर चेप्य्राइँ पार्दा कतै मी टू पो भनिने हो कि भन्ने भयले दुवैलाई निकै सताउँछ रे !”

यो हरफमा भाउजूलाई व्यंग्यात्मक भाव झल्किएको छ भन्ने ज्ञात भएर होला पढ्दापढ्दै मेरो स्वीकृतिका लागि टक्क रोकिएर पढौँ कि रोकौँको मौन प्रश्न तेर्स्याउनुभयो । मैले फेरि पनि पढौँपढौँको मौन इसारा गरेँ ।

“अस्ति मात्र महिला सशक्तिकरणको हुरीको चपेटामा ठूल्ठूला सहरका मुख्य चौकहरू निकै समयसम्म अस्तव्यस्त भएका थिए रे ! मैले गाइँगुइँ सुनेकी यो त महिलाहरूको वसन्त ऋतृ हो रे ! पुराना परम्परावादी सोचको अन्त्य भएर नयाँ र आधुनिक सोच पलाउने समय रे !”

तेस्रो हरफमा भने पढ्दापढ्दै भाउजू ठप्पै रोकिनुभयो ।

“आ...मैया, यतिबिध्न ‘रे’को कुरा के गर्नु ! मलाई त रे कि रे दोहोरिएकाले यो लेखै भएजस्तो लाग्दैन । त्यसमाथि ठ्याक्क एकथोक भन्न चाह्यो, तर लेख्दै ल्याउँदा अर्थोकै हुन जान्छ ।”

यसरी भाउजूको धैर्य टुट्नुको असर त मलाई पर्नेवाला थियो । अनि, हतारिँदै उहाँलाई भरोसा दिएर भनेँ, “ल, त्यसो भनेर कहाँ हुन्छ ? खै यता देखाउनोस्, म पढ्छु ।”

मेरो कुरा के सुन्नुहुन्थ्यो भाउजूले । उल्टै “पेसाले बैंकर मान्छेलाई नि महिलावादी लेख लेख्न लगाएर हुन्छ ? यो मबाट हुन्न मैया । बरु, पैसाको कारोबार गर्नुछ भने भन्नुस्” भन्दै ल्यापटपै बन्द गर्नुभयो ।

तीन हप्ताअगाडि भाउजूलाई यो लेख लेखिदिन भनेकी थिएँँ । अहिले पूराको त कुरै छोडौँ, आधा पनि राम्रोसँग भएको रहेनछ । त्यसमाथि अन्तिममा आएर मबाट हुनेवाला छैन भनेर उहाँले हात धोएपछि मेरो दिमाग तात्तिने नै भयो ।

“तपाईंलाई भरोसा गरेको त नन्दलाई खाल्टामा हालेर छोड्नुभो नि ! यति छोटो समयमा अब कसलाई गुहारूँ ?” कुरा ठट्टाझैँ लागे पनि मेरो आवाज तनावमिश्रित थियो ।

“एउटी सेकेन्ड ह्यान्ड आइमाई छे, त्यसैलाई गुहार्नोस् मैया,” भरोसामाथिको मेरो टिप्पणीलाई ताकेर भाउजूको मुखबाट तीरजस्तो शब्द निस्कियो ।

सेकेन्ड ह्यान्ड आइमाई ! शब्दै सुनेर म घाइते भएँ । कस्तो विशुद्ध अपमानजनक शब्द ? एक महिलाले नै यस्तो घिनलाग्दो शब्दले अर्की महिलालाई सम्बोधन गर्नु साँच्चै आपत्तिजनक लाग्यो मलाई ।

जे होस्, अब तिखो पारामा प्रयोग भएको शब्द पछाडिको कारण पत्ता लगाउनैपर्ने देखियो । तर, सुरुवात कसरी गर्ने ? दोधार भयो मलाई । किनकि, छेवैमा बसिरहेकी भाउजूको अनुहारमा सेकेन्ड ह्यान्ड आइमाई भनेलगत्तै व्यक्त गरेर नसकिने आवेगको छाल दौडिरहेको थियो ।

मनभित्र असन्तुष्टिको कालो बादल मडारिएको उहाँका आँखामा झल्किन्थ्यो । ओठमा क्रोधको कम्पन प्रस्ट थियो । तसर्थ, केही खास कारण नभई भाउजूले आफूले यस्तो द्वेषपूर्ण अभिव्यक्ति दिनुभएकै होइन भन्नेमा शंकै थिएन ।

आफैँसँग एकैछिनको विचार मन्थनपछि मैले “कसलाई यस्तो नराम्रो शब्दले सम्बोधन गर्नुभएको भाउजू ?” भन्दै सोधेँ ।

“ल ! मैया पनि, केको नराम्रो शब्द नि ! तपाईंले सेकेन्ड ह्यान्ड आइमाई भनेको आजसम्म सुन्नभएकै छैन र ?,” जवाफको साटो उहाँको प्रश्न उल्टै मतिर फर्कियो ।

“अहँ, छैन ! पहिलोपल्ट अहिले तपाईंकै मुखबाट सुन्दै छु,” मैले दृढ शैलीमा भाउजूलाई आश्वस्त पार्दै भनेँ, “नाम भन्नोस् त के थाहा म मान्छे पो चिन्छु कि !”

“भनूँला न विस्तारै । अहिले नै उसको नाम तपार्इंलाई खुलाएर मलाई के फाइदा !”

“के फाइदा चाहनुहुन्छ तपाईं ? ढुक्क हुनोस्, म घाटा पक्कै हुन दिन्नँ ।”

सायद म त्यो नाम जान्नका लागि भाउजूले फाइदाका लागि राख्ने सम्भाव्य सर्त सबै मान्न तयार भइसकेकी थिएँ ।

“उसो भए आवश्यक परेको खण्डमा त्यो सेकेन्ड ह्यान्ड आइमाईलाई नंग्याउनमा तपाईंको सहयोग मलाई मिल्नेछ,” भाउजूको सर्त थियो यो ।

“अवश्य भाउजू,” मैले सर्त स्वीकारेर अधैर्य हुँदै साधेँ, “को हो त्यो ? नाम त भन्नोस् ।”

मेरो ढिपी थेग्न नसकेर केही सोचेजस्तो गर्दै भाउजूले हातेब्यागभित्रको पेन झिकी आफ्नो देब्रे हातको हत्केलामा एउटा नाम लेखेर हात मतिर फर्काउँदै भन्नुभयो, “ल ! अब चित्त बुझ्यो ?”

हत्केलामा लेखिएको नामलाई मैले पत्याउनै सकिनँ र आफूलाई विश्वस्त पार्न उहाँको हातै तानेर लेखिएका अक्षरहरू दोहो¥याउँदै सोधेँ, “के उही फलानाकी श्रीमती ? त्यो फलानो कार्यक्रमकी फलानी !”

मेरा आँखाले त्यस नामलाई विश्वास गर्नै सकेनन् । फलस्वरूप, मेरो आधा सास घाँटीमा रोकिएको थियो । मुख आधा खुल्लै थियो । अप्रत्यासित यथार्थको झट्काले म अर्धचेतको स्थितिमा पुगेकी थिएँ ।

त्यसैले भाउजूले मेरो ढिपीलाई थेग्न नसकी नाम खुलस्त पारेको केही मिनेट बितिसक्दासम्म म भने उहाँको हात अँठ्याइरहेकी थिएँ ।

“अँ...अँ...त्यै हो, हरे ! कस्तो नपत्याएको ?”

कसरी पत्याइहालूँ ? त्यो फलानाकी श्रीमतीलाई भाउजूले दिएको सेकेन्ड ह्यान्ड आइमाईको संज्ञालाई औचित्यसिद्ध गर्ने आधारहरू मसँग केही थिएनन् । फलतः म अलमलिएकी थिएँ ।

मेरो ठिकविपरीत भाउजू भने आरनमा बलेका राताराता कोइलाझैँ जे भेट्यो त्यसैलाई एकै फुकमा पगालौँलाझैँ रातोपिरो हुनुभएको थियो ।

“जीवन भएको एक चेतनशील मान्छेलाई किन एकपटक प्रयोग भइसकेको वस्तुलाईझैँ सेकेन्ड ह्यान्ड नाम दिनुभएको ?,” असमञ्जसबीच मैले भाउजूलाई अर्को प्रश्न तेर्स्याएँ ।

“किन सेकेन्ड ह्यान्ड आइमाई भनेको, कस्तो प्रश्न हो यो मैयाँ ?,” भाउजू चिढिँदै बोल्न थाल्नुभयो, “के भन्ने त मैयाँ त्यसलाई ? त्यो आइमाई लोग्ने मरेर विधवा भएकी होइन । सम्बन्धविच्छेद गरेर बसेकी एकल आइमाई पनि होइन । उसको लोग्ने ज्यँुदै छ । बिहेबारी गरिसकेका दुईथान छोरी र एकथान अविवाहित छोरो छ । नातिनातिना पनि छन् भन्ने सुनेकी छु । त्यस्तो पारिवारिक पृष्ठभूमि हुँदाहुँदै उमेरले पचपन्न काटेको हेक्कै नराखी हाम्रो सामाजिक संरचनाले मागेको लाजको न्यूनतम अंश ‘ल’ लाई लात हानेर अर्काको घरै ध्वस्त पार्न निप्टिएकी त्यो पातकीलाई सेकेन्ड ह्यान्ड आइमाई नभनेर के भन्ने ?”

हरे शिव ! भाउजूले प्रयोग गर्नुभएको भाषा र व्यक्त गर्नुभएको आक्रोश । सधैँ सभ्य र शालीन भएर प्रस्तुत हुने मैले जानेकी रिनु भाउजूको एकछेउ पनि थिएन । यति बेला उहाँ कोही अरू नै हुनुभएको थियो । तसर्थ, अरू उपद्रो उगेल्न नदिन मै अलिकति संयम भएँ र भनेँ, “कुरा त गहिरो पो रहेछ ।”

“कुरा सतही छैन मैया,” भाउजूले प्रस्ट्याउँदै थप्नुभो, “बहत्तर–पचहत्तर वर्ष पुग्यो होला त्यसको लोग्ने । गाईप्राणी ! बिचरोलाई प्रेसर, सुगर, अरू के–के रोगले च्यापेको छ रे ! त्यस्तो लोग्नेलाई कुना थन्क्याएर यस उमेरमा त्यही लोग्नेकै खान्दानी नाममा अडिएर मनलाग्दी गर्दै हिँड्न कुन नैतिकताले दिएको होला ? पातकी । अहिले आएर अर्काको लोग्नेसँग सल्किएर वर्षौँ ओझेलमा पर्न बाध्य उसको परिचयलाई खुलाउन लागिपरेकी रे ! साँच्चै भनूँ त यस्ता सेकेन्ड ह्यान्ड आइमाईलाई ताइ न तुइको महिला सशक्तिकरणको नाराले घिस्याएर बाहिर निकाल्नेहरू तपाईंजस्तै फेमिनिस्ट होइनन् र ?”

भाउजू पटटट पड्किरहनुभएको थियो । उहाँलाई सुन्दासुन्दै मभित्र कतिखेर महिलावादी चेत ब्युँतियो कुन्नि, मैले तुरुन्तै चेतावनी दिँदै भनेँ, “फेमिनिजमको मिसन र विशुद्ध उद्देश्यलाई आरोप लगाउनचैँ पाइन्न है भाउजू !”

“छि ! आरोपधरि सुन्न नसक्ने फेमिनिस्टका कानहरू कस्ता कमजोर । हैन, फेमिनिजमले अनुशासनलाई माझी औँला देखाउँछ कि कसो ?,” भाउजूद्वारा अभिव्यक्त झटाराले मेरो अनुहारमै हानेको महसुस भयो ।

“एक व्यक्तिको कुकर्म हेरेर सिंगोे अभियानलाई दोषी ठान्न मिल्दैन, भाउजू,” मैले बचाउ गर्दै भनेँ ।

“मैयाँ रानी, चारतिरबाट खुट्टालाई च्यापेर पिलिएका फोका उठाउने कसैका जुत्ता आफूले धेरै बेर होइन, पाँच मिनेट मात्र लगाएर अनुभव गर्नोस् । अनि थाहा हुन्छ पीडा कस्तो हुँदो रहेछ । तारेहोटेलमा प्रस्तुत गरिने कार्यपत्रजस्तो स्वादिलो हुन्न जुत्ताको दुखाइ,” भाउजूको कटाक्ष जो कोही तर्सिनलायक थियो ।

यो कटाक्ष सुनी नसक्दै मेरो मनमा कसको घर र कसको लोग्ने बिगारेको भन्ने अर्को प्रश्न उब्जिसकेको थियोे ।

“जुत्ताको दुखाइको भोगाइ सबैको आ–आफ्नै हुन्छ, भाउजू । तर, कसको घर र लोग्ने बिगारेकी रहिछ त्यो सेकेन्ड ह्यान्ड आइमाईले ?,” कसैले सुनिहाल्छन् कि झैँ गरेर नरम हुँदै बोलेँ म ।

भाउजूले निकै बेरसम्म केही जवाफ दिनु भएन । आफ्नै हत्केलाहरू ओल्टाइपल्टाइ गर्नुभयो । घरी हातका औँला तन्काउनुभयो । घरी एक हातलाई अर्को हातका औँलाहरूले मसाज गर्नुभयो । फिटिक्कै बोल्नु भएन ।

निश्चल, काला सुन्दर नानी भएका भाउजूका ठूल्ठूला गाजलु आँखाहरू पनि गुलाम अलीको गीतलाई गिज्याएर टोलाइरहेका थिए । भावशून्य भाउजूलाई हेरेर म पनि एक छिन चुपचाप भएँ ।

हामी दुईबीच निकै बेर क्याफेको हल्ला मात्र गुञ्जिरह्यो । केही बेरको मौनता तोडेर भाउजूले नै भन्नुभयो, “जसको घर र लोग्ने भए पनि छँदाखाँदाको परिवार कसैको त बिग्रियो नि !”

परिवारमा विसंगति भित्रिएपछि घर पक्कै विखण्डनतिर मोडिन्छ भन्नेमा मैले इन्कार गर्ने ठाउँ थिएन । तैपनि, अर्काकी स्वास्नी च्यापेर हिँड्ने लोग्नेमान्छेले पनि नैतिकता त राख्नुपर्थ्यो ।

मैले मेरो तर्क राख्दै भनेँ, “भाउजू, हुन त हामी सधैँ आइमाईलाई दोषी देख्छौँ, तर आफ्नो घरपरिवारको गरिमालाई अर्काकी स्वास्नीसँगको अनैतिक सम्बन्धसँग सम्झौता गर्ने त्यो लोग्ने मान्छे पनि दूधले नुहाएको चाहिँ मान्दिनँ म !”

“दोषी हो त्यो लोग्नेमान्छे । तर, त्योभन्दा दोषी त्यो सेकेन्ड ह्यान्ड आइमाई हो, जसले फेमिनिज्मको आडमा महिला स्वतन्त्रताको धज्जी उडाई । नैतिकताको खिल्ली उडाई । बिरामी लोग्नेको अनुहारमा आफ्नो अनैतिक सम्बन्धको घिनलाग्दो कालो धब्बा ठोकी । छोराछोरी र कुटुम्बेरी नाताले समाजमा शिर ठाडो पारेर हिँड्न नसक्ने बनाई । त्योभन्दा बढी त कसैको घरै ध्वस्त बनाई,” भाउजूले खण्डन गर्नुभयो ।

“को रहेछ त्यो लोग्नेमान्छे, जो नैतिकता बेचेर अर्काकी स्वास्नीलाई डोर्याएर हिडिँरहेको छ ? भेटे त दुई थप्पड हान्न हुन्थ्यो,” भाउजूका कुराले मेरो मनलाई थप्पड हान्न सक्नेसम्मको आँटिलो बनाइसकेको थियो ।

मेरो कुरा भुइँमा पर्न नपाउँदै थप्पड भाउजूकै गालामा परेझैँ गरेर उहाँले मतिर हेर्दै भन्नुभयो, “चरित्र र नैतिकता नभएकालाई थप्पडले केही खालो सार्नेवाला छैन ।”

“हुन त हो भाउजू, साना केटाकेटी भए पो ! छिप्पिएका जिम्मेवार मान्छेलाई नैतिकताको व्याख्या कसले गर्ने ?,” म पनि अलमलमै परेँ ।

“आत्मसम्मान र अनुशासन नभएपछि कसको के लाग्छ ! देख्नु हुन्न ? लाज र मर्यादालाई धोती लगाएर त्यो सेकेन्ड ह्यान्ड आइमाई हप्तैपिच्छे ओठमा लिपिस्टिक पोत्दै भ्याएसम्मका जुम मिटिङमा प्रस्तुत भएकी ।”

आफैँ सहभागी भएको पछिल्लो जुम मिटिङमा देखिएकी त्यो रातो लिपिस्टिकवालीको ओठ मैले स्मरण गरेँ । वास्तवमा त्यसको अभिवृत्ति मलाई पनि अनौठो लागेको थियो । मैले यो कुरा भाउजूलाई सुनाउन खोज्दाखोज्दै ग्यास सिलिन्डरवालाको फोन आइहाल्यो । अरू बोल्नै पाइएन । मलाई भने अरू केही बेर बस्न मन थियो ।

“भाउजू, दाइलाई फोन गर्नु न कतै आज घर छिटै पुग्नुभएको छ कि ?,” अप्ठ्यारो मान्दै मैले भनेँ ।

“के त्यस्तो होला र नि मैया रानी !”

भाउजूले मेरो अनुरोधको मान राख्नै भए पनि फोन गर्नुभयो । तर, उताबाट आफू अझै अफिसमै मिटिङमा व्यस्त भएको र घर आउँदा अबेर हुने जवाफ आयो । हामी दुवै खिस्रिक्क पर्यौँ ।

अन्ततः हामीले घर जानैपर्ने भएपछि पो थाहा भयो कि एउटा उद्देश्य लिएर भेला भएका हामी दुई यस्तो बहसमा केन्द्रित भएछौँ कि वेटरले ल्याएको कफी बरफझैँ चिसो भइसकेको रहेछ । कफी बोकेका बिचरा कपहरू भने सधैँझैँ स्वादको प्रशंसामा चम्किने हाम्रा आँखाहरूको एक दृष्टिलाई धैर्यताका साथ पर्खिरहेका रहेछन् !

हाम्रो काउचकै मास्तिर झुन्डिरहेको भित्तेघडीले प्रत्येक सेकेन्ड टिक्टिक्...टिक्टिक् गर्दै समयको चेतावनी दिएको धरि पत्तो भएनछ हामीलाई । वेटर हाम्रै छेउबाट कतिपटक यताउता गरे त्यसको ख्याल त झनै के हुन्थ्यो ! हाम्रा कुरा छेउछाउका कति कफीप्रेमीले सुने होलान्, त्यसको पनि हेक्का भएनछ ।

केही सीप नलागेपछि भाउजू र म आजको विषयवस्तुलाई त्यहीँ थाती राखेर घर फर्किन काउचबाट उठ्यौँ । हामी क्याफेको मूलढोकाबाट बाहिरन लाग्दा भाउजूका श्रीमान् र घण्टौँ हाम्रो बहसमा परेकी उही सेकेन्ड ह्यान्ड आइमाईसँग जम्काभेट भयो ।

हामीलाई देख्नासाथ दाइले समातेको सेकेन्ड ह्यान्ड आइमाईको दाहिने हात छोडेर भाउजूतिर फर्कंदै अकमकिएर भनेँ, “अफिसको मिटिङ क्यान्सिल भयो । तर, अर्को हप्ताको कार्यक्रमको ढाँचा तयार गर्न यता आएको ।”

केही बेरअघि भाउजूको मुखबाट निस्किएको सेकेन्ड ह्यान्ड आइमाई शब्द सुन्दै झन्डै होस गुमाएकी म अहिले त्यही सेकेन्ड ह्यान्ड आइमाईको हातै समाएर भाउजूकै श्रीमान् उभिएको देख्दा क्याफेको भुइँसँगै आफैँ भासिएको अनुभव गरेँ मैले ।

मेरो मानसिक भूगोलमा उथलपुथल मच्चिएर खुट्टाहरू काँप्न थाले । केही क्षण पहिले जोसले गालामा थप्पड हान्दिन्छु भन्ने मेरो आँटिलो जिब्रो शरम बेचेर नांगिएका दुई मान्छे देखेर लरबराउन लाग्यो । एउटा अकल्पनीय सत्य आफ्नै आँखाअगाडि देखेर मेरो फेमिनिज्मको चेत कमजोर भयो ।

मैले निरीह हुँदै भाउजूतिर मुन्टो फर्काएँ । सम्भवतः आजसम्म जसोतसो मबाट लुकाएको भाउजूको आफ्नै पीडा यति बेला निर्लज्ज भएर मेरोसामु छताछुल्ल भई आफैँ पोखिँदाको पीडाले उहाँलाई ज्युँदै जलाइरहेको थियो । 
मैले त्यही बुझेँ र त्यहाँबाट जतिसक्दो छिटो उम्किने कोसिसमा भनेँ, “भाउजू, म हतारमा छु, लागेँ है ।”

“हस्,” मैले भाउजूबाट एकै बचनको अनुमति पाएँ र क्याफेबाट बाहिरिएँ ।

यसरी अन्त्य भएको साँझले घिस्याएर ल्याएको रातभर म सुत्न सकिनँ । भाउजूको लज्जा भरिएको मुहार र ती दुई मान्छेहरूको थेत्तरो निर्लज्ज अनुहारले मलाई ऐठन गराइरह्यो । मानसिक थकानले थिलथिलिएर तीन दिन थला परेँ म । अफिस जाने कुरा त परै जाओस्, कोहीसँग सम्पर्कमा आउँन पनि मन भएन ।

तीन दिनपछि बल्ल हिम्मत जुटाएर भाउजूलाई फोन गरेँ । उताबाट शालीन र भद्र आवाजमा जवाफ आयो, “म अहिले वकिलसँग परामर्श लिँदै छु, भरे कुरा गर्छु है त मैया रानी ।”

भाउजूको जवाफबाट मिलेको सन्तुष्टिले शरीरभरि तातो रक्तसञ्चार भएसँगै मैले फोन चट्ट काटेँ ।

(बेलायत)                         


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement