काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने आज स्वदेश फर्कंदै छन् । दोहाबाट उनी कतार एयरवेजको जहाजमार्फत नेपाल फर्कन लागेका हुन् ।
प्रहरीका अनुसार उनी सवार जहाज आज बिहान ९ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
उनलाई पक्राउ गर्नका लागि विमानस्थलमा प्रहरी ‘अलर्ट’मा छ । सन्दीपलाई नियन्त्रणमा लिएपछि सिधै प्रहरी वृत्त गौशाला लैजाने तयारी छ ।
१७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीपले असोज २० गते (आज) आफू नेपाल फर्कने बताएका थिए । उनीविरुद्ध इन्टरपोललबाट ‘डिफ्युजन नोटिस’ जारी भएको थियो ।
सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।
काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।
भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए ।
उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी समेत जारी भयो ।
बलात्कारसम्बन्धी मुद्दा बढीमा २५ दिनभित्र अदालतमा बुझाउनुपर्छ । यस्तोमा सन्दीप बढीमा २५ दिन प्रहरी हिरासतमा रहन सक्छन् ।
प्रहरीले जाहेरीका आधारमा सन्दीपविरुद्धका प्रमाण संकलन गरिसकेको छ । प्रमाणका रूपमा सीसीटीभी फुटेज, पीडितको बयान, स्वास्थ्य परीक्षण, होटेल कर्मचारीको बयानलाई राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।