site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
माकुरो
Sarbottam CementSarbottam Cement

जरैसुद्ध उखेलिएका विषालु घाँसहरू क्रमशः थुपारिँदै छन्, एक–दुई हातले होइन, हजारौँहजार, लाखौँलाख हातहरूले । अब त घाँस थुपार्ने काम पनि झन्डै–झन्डै सिद्धिसकेको छ । त्यसलाई आगो लगाएर खरानी पार्ने काम मात्र बाँकी छ ।

सम्भवतः ती घाँसहरूको अन्त्य यस किसिमले होला भन्ने कुरामा गैँडाछाप अनुहारलाई विश्वास थिएन क्यारे ! ऊ विभ्रान्त छ, चकित छ । साँच्चो कुरा भन्ने हो भने त्यस सम्बन्धलाई लिएर उसको बुद्धिसम्मत चेतनामा कुनै कुरो उब्जिन नै सकेको छैन । त्यसैले यस विषयमा उसको कण्ठस्वरबाट कुनै किसिमको शब्द फुट्नै सकेको छैन आज ।

तर, यतिखेर मलाई उसको बोलीको होइन पेट्रोल वा मट्टीतेलको खाँचो छ, साह्रै खाँचो छ । सलाई त मसँग पनि छ र मेरा साथीहरूसँग पनि छ, तर मट्टीतेल र पेट्रोल भने छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

थुपारिएका ती विषालु घाँसहरू यति हरिया छन् कि हामी सबैको खल्तीको सलाईले पनि त्यसलाई हुरहुरी दन्काउन सक्तैन । मट्टीतेल र पेट्रोल त त्यही गैँडाछाप अनुहारसँगै छ ।

गैँडाछाप अनुहारलाई त्यस विषालु घाँसप्रति मोह थियो, साहै्र मोह थियो । त्यसप्रति मोह छैन भनेर जतिसुकै अभिनय गरे पनि उसको आँखाको कुण्डलबाट भने मोहको रङ किमार्थ पनि मेटिन सकेको थिएन ।

Global Ime bank

तर, ऊ भन्ने गर्छ, “मै त हजूर ! हजूरहरूको सेवक । यो घाँस उखाल्नुपर्छ । यसले मलाई पनि घाटा पार्यो । तर हजूर ! यो घाँस साहै्र विषालु छ, उखाल्ने मान्छेको हातखुट्टा गलाइदिन्छ, शरीर सडाइदिन्छ ।”

उसको कुराले न त मलाई नै छाप पार्न सकेको छ न मेरा साथीहरूलाई नै । वास्तवमा उसको भनाइमा ध्यान दिएकै छैनौँ हामी सबैले । बरु, उसको त्यस तर्साउने किसिमको बोलीलाई ठट्टाठट्टैमा उडाइदिने पो गरेका छौँ हामीले ।

आजै पनि कुराकुरैमा भन्यो, “यस्तो मुस्किलको समयमा मैले पनि कम सेवा गरेको छैन नि हजूरहरूको । चिनी खुवायो, नून–तेल खुवायो, मिट्टीको तेल लायो । मेरो तारिफ हुनुपर्नेमा उल्टो मेरो खिल्ली उडाउँछ हजूरहरूले ।”

पेट्रोल र मट्टीतेलको सम्झनाले म गैँडाछाप अनुहारतिर हेर्छु । मसँगसँगै मेरा साथीहरूका आँखा पनि उसलाई खोज्न थाल्छन् । तर, ऊ त्यहाँ थिएन ।

ऊ त पारितिर जाने डुङ्गातिर सोझिँदै पो रहेछ । तर, डुंगा चढ़्ने आँट भने गर्न सकेको रहेनछ । मान्छे बाहिरबाट मोटोघाटो देखिए तापनि भित्रबाट त कायर न हो ऊ ।

खोलापारि बसेको त्यो अजङको माकुराले आफ्नो मुखबाट फुरुरु...फुरुरु... उडाएको धागो, अनि त्यो धागोले बुनेको जालमा फसेको डुंगालाई अझै बिर्सिएको थिएन उसले । जालोमा बेरिएको डुंगालाई त्यो अजङको माकुराले जसै निल्न सुरु गरेको थियो, हामीसँगसँगै त्यो गैँडाछाप अनुहार पनि झयाप्ल्याङ पानीमा हाम्फालेको थियो ।

मैले र डुंगामा बसेका मेरा साथीहरूले उसलाई सहारा नदिएको भए ऊ त्यति बेला नै मुर्दा हुने थियो । जाती भयो ऊ बाँच्यो । किनारा लागेपछि ‘बचाऊ बचाऊ’ भन्दै त्यसै–त्यसै कहालिँदै कुलेलम ठोकेको थियो त्यहाँबाट ।

दगुर्दादगुर्दै एक्कासि तीन बल्ड्याङ खान पुगेको थियो ऊ । घर पुगेर आफ्नो गोदामका सारा सरसामान र नगद–नारायणलाई लुकाएपछि बल्ल होश आएको थियो उसको । तर, उसको सन्त्रासले लखेटिएको आवाजले दिएको सन्देश भने एक कान दुई कान मैदान भएको थियो ।

सडक–सडकबाट, पसल–पसलबाट, विद्यालय–विद्यालयबाट खेतको आली–आलीमा फैलिएको त्यो सन्देशले त्यो अजङको माकुराको खाका खिचिदिएको थियो । हेर्दाहेर्दै चर्कन थालेको थियो महँगाइ ।

एकातिर त्यो महँगाइले पिल्सिएका र थिचिएका किसान मजदूरहरूलाई पोलो परेको थियो भने अर्कोतिर जागिरदार र उनका घरका माऊहरूलाई पनि कम पोलो परेको थिएन । पोलो त मलाई र प्रोफेसर साथीलाई पनि परेको थियो ।

केही दिनपछि प्रोफेसर साथीलाई लिएर म फेरि खोला–धारमा पुगेको थिएँ । हामीसँगसँगै गैँडाछाप अनुहार पनि थियो । त्यस दिन त उसले ‘डुंगा चढ्दिनँ’ भनेर कानै समातेको थियो । किनभने, त्यस दिन पनि वारि र पारि गर्न लागेका डुंगाहरूलाई त्यो अजङको माकुराले आफ्नो जालमा अल्झाएर सुलुत्त–सुलुत्त निल्दै थियो ।

गैँडाछाप अनुहारले नै भोगिसकेको दृश्य भए पनि प्रोफेसर साथीको निम्ति भने उधुम आश्चर्यको विषय बन्न गएको थियो । वारि किनारामा पलेँटी कसेर बसेको एकजना कर्मकाण्डीले उसलाई देवता ठानेर धूपबत्ती बाल्न पनि शुरू गर्दिएका थिए ।

तर, त्यति बेला गैँडाछाप अनुहारको आँखा भने हामीतिर थिएन । साँच्चै भन्ने हो भने दुई–चारजना ग्रामीण अनुहारलाई लिएर चोरबाटो पत्ता लगाउन ऊ हिँडिसकेको थियो । चोरबाटो पत्ता लगाएपछि उसको नोटको पत्र पनि बढ्दै थियो र उसको भुँडीको पत्र पनि बढ्दै थियो ।

यतिखेर गुप्त बाटोबाट पनि जाने विचारले ऊ निकै अगाडि पुगिसकेको छ । उसको पछि–पछि दगुरेर साध्य छैन । डुंगाबाटै गएर उसलाई समाउने सुर छ मेरो ।

आज पनि मन लुगलुगाउने किसिमको कुनै घटना घटेको छैन । हिजो, अस्ति र अस्तिको अस्ति पनि त्यस किसिमको घटना घटेको थिएन । हाम्रो डुंगा कुनै बिघ्नबाधा नपरीकन नै पारि पुगेको थियो ।

खास कुरा त के भने त्यो अजङको माकुरालाई हेरेर फर्किएको दिनदेखि प्रोफेसर साथीले त्यसको बारेमा सोच्न शुरु गर्दिएका थिए ।

“साँच्ची त्यो माकुरो त्यस्तो अजङको कसरी भयो ?” त्यही प्रश्नलाई लिएर खुलदुली थियो उनलाई ।

उनी दिनहुँ भनेजसो त्यो माकुराको वरपर पुग्ने गर्थे, नाना किसिमका कुराहरूको जाँच गरेर फर्किने गर्थे । वास्तवमा संसारको कुनै भागमा पनि त्यस जातिको माकुरो देखिएको थिएन । कुनै पनि ‘इन्साइक्लोपेडिया’मा त्यस किसिमको माकुराको वर्णन थिएन । त्यस सम्बन्धमा पत्ता लगाइहाल्छु भन्ने अठोट थियो उनको । त्यस सम्बन्धमा खोजी गर्दागर्दा बल्लतल्ल ती विषालु घाँसको स्पर्शले त्यो माकुरोमा प्राण–सञ्चार हुँदो रहेछ भन्ने यकीन गर्न पुगेका थिए उनी ।

त्यो कुरो थाहा पाएको भोलिपल्टैदेखि त्यो घाँस उखेल्छु भन्ने निर्णय लिएको थिएँ मैले उनीसँगसँगै । चोरबाटोबाट धनाढय हुन पुगेको गैँडाछाप अनुहारलाई पनि सुनाइटोपलेको थिएँ मैले आफ्नो अठोट ।

मेरो अठोट सुनेर खुशी हुनुपर्नेमा ऊ त झन् साह्रो ममाथि व्यंग्य खन्याउँदै त्यसै–यसै खितखिताइदिएको थियो बरु । तर, उसको खितखिताइले पुरिएको थिइनँ म । मेरो हौसला र जाँगरमा झन्–झन् पाइन लाग्दै थियो उसको व्यंग्यवाणको रोपाइले ।

फेरि अरूहरूसँग पनि घाँस उखेल्नेबारेमा सघाउ माग्न पुगेको थिएँ । तर, कसैले पनि मेरो कुरा सुनेनन् । फेरि त प्रोफेसर साथीलाई लिएर घाँस उखेल्न शुरु गर्दिएको थिएँ, दुईजना मात्रै भए पनि । केही साता घाँस उखेलेपछि एक दिन ज्यान हत्केलामा राखी पौडिएर खोलापारि पुगेको थिएँ म ।

सधैँझैँ त्यो अजङको माकुरो त्यस दिन पनि त्यहीँ थियो । उसको आकारप्रकारमा कुनै किसिमको परिवर्तन आएको थिएन । जस्ताको तस्तै थियो ऊ । डुंगा निल्दा अघाएर हो कि अर्थोकै कुनै कारणले हो, त्यस दिन भने उसले आफ्नो मुखबाट धागो ओकलेर मलाई छोप्ने जाँगर देखाएको थिएन ।

त्यहाँबाट फर्किएपछि मैले त्यो कुरा शहर–शहरमा प्रचार गरेको थिएँ, गाउँ–गाउँमा प्रचार गरेको थिएँ । मैले त्यो विषालु घाँस उखेल्ने गरेकोले नै त्यो अजङको माकुराको धागो ओकल्ने शक्ति क्षीण भएको हो भन्ने अडकल काटेकाले केही विद्यार्थी र किसान, मजदूरहरू उखेल्ने काममा मलाई सघाउ पुर्याउन आएका थिए ।

निकै घाँस उखेलेपछि फेरि एक दिन हामी सबैजना डराउँदै–डराउँदै डुंगा चढेर पारि पुगेका थियौँ । त्यस दिन पनि गैँडाछाप अनुहार हामीसँगसँगै थियो । त्यस दिन पनि त्यो अजङको माकुराले हाम्रो डुंगामा जाल हान्ने चेष्टा गरिटोपलेको थियो ।

चेष्टा त निकै–निकै नै गरेको थियो उसले । तर, उसको मुखबाट निस्किएको धागो खोलाको बीचसम्म पुग्ने त के कुरा स्वयम् ऊ बसेको किनारासम्म पनि पुग्न सकेको थिएन । बीचैमा टुक्रिएको थियो । त्यो दृश्यले त साह्रै बढेको थियो हाम्रो हौसला ।

त्यस दिन पनि कुनै किसिमको दुर्घटना नघटेपछि हाम्रा घाँस उखेल्ने हातहरू हजारौँहजार थपिएका थिए, लाखौँलाख थपिएका थिए । तर, दुर्भाग्य ! गैँडाछाप अनुहारको अनुहार भने निन्याउरो भएको थियो ।

त्यस दिनदेखि बेलामौकामा गैँडाछाप अनुहार कहिले त्यो विषालु घाँसको विषले ‘हेर है हात कुहिएला’ भन्ने वाक्य हामीलाई ताकेर उडाइदिने गर्थ्यो त कहिले फेरि ‘हेर है, शरीर फतफती कुहिएर झर्ला है’ भन्ने वाक्यले हामीलाई तर्साउने ग्थ्यो ।

कहिले फेरि भयले लखेटिएको स्वाङ गर्दै ‘लौ हेर है, त्यो विषालु माकुरो बुई चढ्न आइपुग्यो’ भन्दै दगुर्ने गर्थ्यो त कहिले फेरि घाँस उखेल्न थालेकाहरूको अगाडि थच्चिएर ‘फलाना–फलाना ठाउँमा त्यो माकुराले यतिजना श्रमिकलाई सर्लक्कै निलिदियो’ भन्ने गर्थ्यो । कहिले यतिजना छात्रछात्रालाई मरमरी चपाइदियो भन्ने गर्थ्यो त कहिले यतिजना किसानलाई माटोमुनि नै धसाइदियो भन्ने गर्थ्यो ।

हो, उसको कुराले वातावरण भयानक भइरहेको थियो तापनि हरेस खाएका थिएनौँ हामीले । हाम्रो हौसलाले स्वाभाविक किसिमको नै तुल्याइरहेको थियो गैँडाछाप अनुहारले हामीहरूलाई ताकेर हामीहरूतिर उडाइदिने गरेको अस्वाभाविक छनकलाई ।

यस्तैमा एक दिन फेरि सयौँ–सयौँ डुंगा लिएर हामी पारि पुगेका थियौँ । त्यस दिन त त्यो अजङको माकुरो चाउरिएको थियो । साँच्ची–साँच्ची, सारै नराम्रोसँग चाउरिएको थियो ऊ । उसका हातखुट्टा झिनिएका थिए, पेट थ्याप्चिएको थियो । जालो बनाउने कुरा त परै जाओस्, मुखसम्म पनि बाउन सकेको थिएन उसले । हाँस्दै फर्किएका थियौँ हामी फेरि उही विषालु घाँस उखेल्ने ठाउँमा ।

डुंगा पारि किनारामा पुग्दा नपुग्दै यतिखेर गैँडाछाप अनुहार फेरि त्यहीँ भेटिन्छ । ऊ चोरबाटोबाट मट्टीतेल र पेट्रोल लिएर सुटुक्क लुस्किने विचारमा रहेछ । तर, बाटो छेकिहाल्छु म । मसँगसँगै उसको बाटो छेकिहाल्छन् मसँग आएका श्रमिक साथीहरूले पनि ।

अब त्यहाँबाट उम्कन सक्ने शक्ति हुदैन उसमा । मेरा साथीहरूमध्ये कति त पेट्रोल र मट्टीतेलको ड्रम डुंगामा राख्न थाल्छन् । केही साथी त्यो अजङको माकुरालाई अन्तिमपल्ट हेर्ने विचारले पारितिर लाग्छन् । तर, गैँडाछापको अनुहार भने रुन्चे भइरहेको छ । डुंगामा नै ह्वाँ–ह्वाँ रोइदिन बेर छैन । लौ, खुट्टा नै समातेर रुन थाल्यो भने परेन फसाद !

तर, उसको रुवाइ सुन्ने प्रतीक्षामा छैन म । किनभने, विषालु घाँसमा हुरहुरी आगो लगाइदिनु छ मलाई । छिटो–छिटो डुंगा खियाएर किनारामा पुग्छु म । मट्टीतेल र पेट्रोलको ड्रम त्यो विषालु घाँसमाथि रित्त्याउन थाल्छन् । म सलाई कोर्छु ।

यही बेला त्यो अजङको माकुरो हेर्न गएका साथीहरू हर्षले त्यसै–त्यसै कराउँदै आइपुग्छन्, “लौ त्यो माकुरो त मर्यो, लौ त्यो माकुरो त मर्यो ।”

(गरिमा, अंक ८९, २०४७)
(प्रसिद्ध आख्यानकार विष्टको कथासँग्रह ‘आँसु त्यसै त्यसै छचल्किन्छ’बाट ।)

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement