site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अनि उसको जवाफ आएन
Sarbottam CementSarbottam Cement

‘मलाई अलिक सन्चो छैन । बिरामी महसुस गरिरहेको छु, राम । उपचारको क्रममा छु । सायद केही समय तिम्रा चिठीको जवाफ लेख्न सक्दिनँ होला । दुःख नमान है ।’

जीवनले लेखेको पत्रको अन्तिम भागमा यो वाक्यांश थियो । तर, उसलाई कुन स्वास्थ्य समस्या थियो, कति जटिल थियो र कति समयदेखि पिरोलिरहेको थियो भन्ने कुरा त्यहाँ उल्लेख थिएन ।

मान्छेको शरीर, रोगव्याधि लागिरहन्छ । उसलाई पनि सामान्य केही समस्या होला, यस्तै सोचेँ । तर, साथी हो, बिरामी भएको कुराले मन पिरोलियो । त्यसैले हतार–हतार जवाफी पत्र लेखेँ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘प्रिय जीवन, तिमीलाई के भयो त्यस्तो ? तिमी धेरै नआत्तिऊ, चाँडै निको हुनेछ । नजिक भए भेट्न आउने थिएँ, तर टाढा छु । त्यसैले टाढैबाट भए पनि तिम्रो सुस्वास्थ्यको कामना गर्दछु ।’

यी वाक्यहरूसहित अरू कुरा लेख्दा सधैँझैँ त्यो चिठी दुई पाना लामो भएको थियो ।
०००
२०४२/४३ सालतिर लमजुङबाट हाम्रोे सिँगै परिवार काठमाडौं आयो । म पनि काठमाडौं आएँ र बालाजुको तरुण माविमा भर्ना भएँ ।

Global Ime bank

बाल्यकालका केही समय काठमाडौं, नक्सालको पुर्ख्यौली घरमा बिताए पनि पढ्ने बेला लुमजुङको गाउँमै गएर भर्ना भएँ । त्यसपछि काठमाडौं आएको थिइनँ ।

त्यसैले पनि यति बेला म काठमाडौंमा नितान्त नौलो थिएँ । काठमाडौं सहरमा बोल्न, खान, लाउन, हिँड्न केही नजान्ने गाउँको पाखे केटो थिएँ म !

माध्यमिक विद्यालय भएको बालाजु क्षेत्र त्यति बेला काठमाडौं सहरको बाहिरी घेरामा पर्थ्यो । र, ठ्याक्कै विद्यालय भएको ठाउँचाहिँ सहरकै एक भागजस्तो देखिन्थ्यो । बालाजुबाट पश्चिम वनस्थलीतिर र पूर्वतिर गोंगबु, सामाखुसीतिर भर्खरै निर्माण भएको चक्रपथ वरिपरि बस्ती विकास हुँदै थियो । ती क्षेत्रलाई अर्धसहरी क्षेत्र भन्न सकिन्थ्यो ।

बालाजुभन्दा पर उत्तर काँठमा रहेका नेपालटार, धर्मस्थली, काभ्रेस्थली, जीतपुरफेदी, फुटुङ, सांग्लाजस्ता बस्ती पूरै गाउँका स्वरूपमा थिए । धेरैजसो काँचो इँटा र केही पाकेका इँटाले बनेका घरहरू । ती गाउँहरूमा कतैकतै पक्की घर पनि देखिन्थे । तर, हरेकजसोे घरमा गोठ देखिन्थ्यो । अनि, वरिपरि खेत र बारी भएको गाउँ ठूलो फाँटको बीचमा देखिन्थ्यो ।

त्यहाँको स्कुलमा विद्यार्थी प्रशस्त थिए । १५÷१६ सय बढी होलान् । म पढ्ने कक्षा आठमा दुईवटा सेक्सन थिए । जसमा करिब डेढ सय छात्र–छात्रा थिए ।

भर्ना ढिलो भएकै कारण म भने सेक्सन ‘बी’मा परेको थिएँ । केही विद्यार्थी बालाजुको सहरी क्षेत्र, केही गोंंगबुदेखि वनस्थलीसम्मका अर्धसहरी क्षेत्र र अधिकांश नेपालटारमाथिको काँठबाट आएका हुन्थे । थोरै विद्यार्थी मात्रै नयाँबजार, पकनाजोलजस्ता सहरी बस्तीबाट आएका भेटिन्थे ।

मजस्ता थोरै विद्यार्थीचाहिँ त्यस क्षेत्रमा डेरा गरेर बस्नेहरू थियौँ । भर्खर काठमाडौँ आएर घर बनाएका वा डेरा गरी बस्नेमध्ये धैरैजसो नुवाकोटेहरू थिए ।

सहरी पाराका विद्यार्थीमा कतिपयचाहिँ निजी विद्यालयमा फेल भएर कक्षा उक्लिन नपाएका वा उति बेलाका बोर्डिङ स्कुलबाट रेस्टिकेटमा परेर आएका धनाढ्यका सन्तान पनि नभएका हैनन् ।

कक्षा आठको कक्षाशिक्षिका सावित्री मिस हुनुहुन्थ्यो । म पढ्न गएको पहिलो दिन सावित्री मिसले हाजिरी लिन थाल्नुभयो । उहाँले मेरो नाम लिनासाथै मैले उठेर ‘यस मिस’ भनेँ ।

म उठ्दा मात्रै पनि धेरै विद्यार्थी मलाई हेरेर गललल हाँसे । म कच्याककुचुक परेको टोपी लगाएर स्कुल गएको थिएँ । उनीहरू त्यही देखेर हाँसेका रहेछन् । कारण बुझेपछि मैले टोपी फुकालेर झोलामा राखेँ । त्यसपछि त उनीहरू झनै हाँसे । यसपालि भने ती मेरो टुप्पी देखेर हाँसेका रहेछन् ।

सावित्री मिसले ‘किन हाँसेको ?’ भन्दै हाँस्नेहरूलाई हकार्नुभयो । अनि उनीहरू चुप लागे ।

दुई अञ्चल परको पहाडी गाउँबाट आउने मजस्ता ‘पाखे’हरूलाई सहरी, अर्धसहरी र काठमाडौंका रैथानेले हेपेजस्तो अनुभव भयो ।

हाम्रो गाउँको स्कुलमा चार कक्षामा पुगेपछि मात्रै अंग्रेजी विषयको पढाइ सुरु हुन्थ्यो । यहाँ त अंग्रेजीका अलावा ‘सेन्स अफ मोरालिटी’ नामको अतिरिक्त विषय पनि पढाइ हुँदो रहेछ । स्कुल सुरु भएको केही दिनपछि नै त्यो विषयको कक्षा पनि सुरु भएको थियो ।

कोषबहादुर सरले सबैलाई पढाउँदै गरेको पाठबाट एकएक अनुच्छेद पढ्न लगाउनुभयो । मलाई अंग्रेजीको ग्रामर त कनीकुथी आउँथ्यो, तर त्यस्तो साहित्यिक पाराको किताब कहिल्यै पढेको थिइनँ । नपढेको भएरै होला, आत्तिएँ । मैले त्यसको वाक्य फुटाउनै जानिनँ । हड्याङ–हुडुङ के–के भनेँ के–के ।

सरले खासै केही भन्नु भएन । तर, क्लासका साथीहरू हाँसे । म हतप्रभ भएँ । आफूलाई नितान्त एक्लो महसुस गरेँ ।

गाउँबाट शरणार्थी बनेर आएको मेरो परिवार काठमाडौंमा बडो बिजोगसँग डेरा गरेर बसेको थियो । त्यसैले अरू कसैलाई डेरामा लैजाने अवस्था थिएन । अरूलाई डेरामा नलगेपछि तिनले पनि लैजाने भएनन् । यस्तोमा सहपाठी वा स्थानीय साथी बन्ने कुरा असम्भव थियो ।

यस्तोमा मलाई साथ दिने यौटा साथी भेटियो । त्यो थियो, जीवन अर्थात् जीवनकुमार ।

थाहा छैन, ऊ कसरी मनजिक आयो र घनिष्ट साथी भयो । ऊ जिद्दी गरेरै मेरो डेरामा आयो । मेरोमै भात खायो र मलाई उसको घरमा बारबार लैजान थाल्यो । उसका बुवा–आमा दुवै पढेलेखेका, सम्पन्न हुनुहुन्थ्यो ।

उसको बुवा त कुनै अन्तर्राष्ट्रिय संस्थामा राम्रै जागिर गर्नुहुन्थ्यो । देश–विदेश गइरहनुहुन्थ्यो । आर्थिक हैसियत नमिल्ने भए पनि उसले मलाई न्यानो मित्रता दियो । उसले मलाई पारिवारिक स्नेह दियो र मेरो काठमाडौंको बसाइ अनि स्कुलको पढाइ पनि सहज बनाइदियो ।

राजधानीको स्कुल भएका कारण राष्ट्रिय कार्यक्रमहरूमा यहाँका छात्र–छात्रालाई सहभागी गराउने प्रचलन रहेछ । स्कुलको वार्षिक सत्र सुरु भएको केही समयमै रोमानियाका तत्कालीन राष्ट्रपति निकोलाई चाउचेस्कु र उनकी पत्नी एलेना राजकीय भ्रमणमा नेपाल आएका थिए । तिनको स्वागतमा हामीलाई दरबारमार्गमा लगिएको थियो ।

उनलाई स्वागत गरेर घरतिर फर्किंदै गर्दा डेरानजिकै पुगेपछि बाटोमा पर्ने यौटा घरको झ्यालबाट एकजना किशोरीले ‘राम, आज म जान पाइनँ, के–के भयो ?’ भनेर जिज्ञासा राखिन् ।

उनी मसितै पढ्ने साथी रहिछन् । मलाई खुसी लाग्यो । मलाई कक्षामा याद गरेको र नाम सम्झेको कमसेकम अर्को एकजना साथी पनि पाएँ भन्ने भयो । उनै संगीता भोलिपल्टदेखि नै सँगै स्कुल जाने–आउने र पढाइमा सहयोग गर्ने साथी भइन् ।

त्यो स्कुल त्यति बेला राजधानीमा रहेका राम्रा सामुदायिक स्कुलमध्येको एक गनिन्थ्यो । र, गौरवको कुरा, आज पनि यो राम्रो स्कुलमा दरिन्छ ।

स्कुलमा साहित्यिक गतिविधि व्यापक हुनेरहेछ । ‘शिक्षा सौरभ’ नामको साहित्यिक पत्रिका प्रकाशित हुँदो रहेछ । त्यसमा विद्यार्थीका लेखरचनाहरू छापिँदो रहेछ ।

पढाइ सुरु भएको केही समयमै स्कुलमा कविता लेखन प्रतियोगिताको आयोजना भयो । मलाई कविता लेख्न आउँदैनथ्यो । तर, दाइलाई कवितामा राम्रो दक्खल थियो । त्यसैले मैले दाइसँग कविता लेखाई मागेँ ।

दाइले पनि अनुष्टुप् छन्दमा ‘बालक’ शीर्षकको कविता लेखिदिए । कविता नलेखे पनि मलाई कविता पढ्न भने मज्जाले आउँथ्यो । त्यसैले प्रतियोगितामा गएर कविता लयमा नै वाचन गरेँ ।

अन्ततः तृतीय स्थान हासिल भयो मलाई । यसपछि म शिक्षक र विद्यार्थी सबैको नजरमा परेछु । सबैजनाले ‘राम, तिमी त कस्तो राम्रो कविता लेख्दा रहेछौ’ भन्न थाले ।

सर, मिसहरूले पनि पछिपछि हरेक कार्यक्रममा मलाई ‘कविता लेख है’ भनेर प्रेरणा दिन थाल्नुभयो ।

कविता पनि सधैँ दाइसँग लेखाई माग्ने कुरा थिएन । त्यसपछि बाध्य भएर आफैँ कविता लेख्न थालेँ । फलतः कविता लेखनप्रति मेरो रुचि जागेर आयो । यसरी मैले शार्दूलविक्रीडित, मन्दाक्रान्ता, शिखरिणी, अनुष्टुप्, मात्रिक, इन्द्रवज्राजस्ता छन्दमा कविता लेख्दै गएँ । छापिँदै गयो ।

कविता लेखनको श्रेय मेरो दाइ र म पढेको विद्यालयलाई जान्छ नै । यही कविता लेखन र वाचनले मलाई अरू विद्यार्थीहरूमाझ स्थापित गराउन मद्दत पनि गर्यो ।

स्कुलमा कक्षागत र नियमित परीक्षा भइरहन्थे । ती परीक्षामा म उत्कृष्ट चारमा पर्न सफल हुन्थेँ । अद्र्धवार्षिक परीक्षामा म चौथो भएँ । प्रथम हुने कविता, द्वितीय हुने पर्वता र तृतीय हुने संगीता तीनैजना छात्रा थिए । । म भने संगीताभन्दा ३ अंक कम ल्याएर चौथो पोजिसनमा थिएँ । तृतीय हुने संगीताचाहिँ झ्यालबाट मलाई बोलाउने तिनै साथी थिइन् ।

कक्षाका छ दर्जन विद्यार्थीमध्ये उत्कृष्ट पाँच÷छमा तीव्र स्पर्धा हुन थाल्यो । हाम्रो यौटा छुट्टै ग्याङजस्तो देखिन थाल्यो ।

त्यति बेला प्रथम हुने कविता पढाइमा उच्चस्तरको सफलता हासिल गर्दै अमेरिकातिर व्यावसायिक काममा संलग्न भइन् । पर्वता र संगीताचाहिँ आफ्नो पढाइ सकाईवरी काठमाडौंमै बसेर घर, व्यवहार अनि र व्यवसाय सम्हाल्दै छन् ।

जीवनसँगै मसित हिँड्ने अर्को साथी भेटियो, बाबुलाल र दयाराम । उनीहरू दुवै पढाइमा मध्यम खालका थिए । विस्तारै भोला, विनोद, रमेश, नारायण, दयाराम, कुमार, किरण, उषा, मनीषा, मेनुकालगायत मसँग घनिष्ट हुँदै गए ।

भोला बौद्धिक खालका, नारायण साहित्यिक अनि रमेशचाहिँ राजनीतिक चेत भएका थिए । पकनाजोलतिरबाट आउने एकजना साथी थियो, जो मजाले गीत गाउँथ्यो ।

पर्वताको चाहिँ पढाइसँगसँगै गायन पनि राम्रो थियो । संगीताको हक्की स्वभाव र नेतृत्व क्षमता अनि कविताको तीक्ष्ण बुद्धि सबैलाई प्रभावित पार्ने खालको थियो ।

विद्यालयमा विज्ञानका शिक्षक दाहाल सर सबैका प्रिय हुनुहुन्थ्यो । उहाँजस्तो उत्कृष्ट शिक्षण कौशलले युक्त शिक्षक मैले त्यसपछि देखिनँ । इतिहास पढाउने प्रमिला मिस, नेपाली पढाउने दाहाल सर, अंग्रेजीका थापा सरलगायत शिक्षकहरूको प्रत्यक्ष निगरानीमा हाम्रो विद्यार्थी जीवन अघि बढ्दो थियो ।

प्रमिला मिसको कक्षामा गीत गाउने, कविता भन्नेजस्ता कार्यक्रमहरू भइरहन्थे ।

उदय सर स्कुलको हेड हुनुहुन्थ्यो । सधैँ कालो चस्मा लगाएर विद्यालय आउने उहाँलाई देखेपछि सारा विद्यार्थी थर्कमान हुन्थे । दादागिरी गर्ने स्वभावका विद्यार्थीको सातो जान्थ्यो, उहाँलाई देखेर । तर, मेरा क्रियाकलापका कारण मैले सबैको माया पाउँदै गएँ ।

मलाई काठमाडौंको काँठ र सहर क्षेत्रसँग परिचित गराउने गुरु नै जीवन थियो । स्कुलनजिकै एकजना आमैको पसलमा मोहर कप चिया र एक सुकाको एक टुक्रा पाउरोटी खान पाइन्थ्यो । मलाई यो ठाउँसित बाबुलालले परिचित गराएको थियो । अनि, पछि गएर दिनदिनै लैजाने काम जीवनले गर्यो ।

रेडियो नेपालमा वासुदेव मुनालले बाल कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँलाई प्रभात विजयानन्द दाइले सहयोग गर्थे । त्यसमा सोमबार, बुधबार र शुक्रबार ‘कोभन्दा को कम’ सञ्चालन हुन्थ्यो ।

बालाजुबाट साझा बसमा एक सुका भाँडा तिरेर हामी त्यो कार्यक्रममा सञ्चालन हुने हाजिरीजवाफ र कविता प्रतियोगितामा भाग लिन जान्थ्यौँ । तर, कहिलेकाहीँ हामीलाई विद्यालयको पोसाकमा देख्दा बसका सहचालकले ‘यी विद्यार्थीहरू गाडीबाट झरेर भाडा नतिरी भाग्छन्, चढ्न दिन्नँ’ भनेर गाली गर्थे ।

बालाजु रानीवनमा त्यति बेला प्रशस्त आरु पाइन्थ्यो । हामी त्यो टिप्न भनेर जंगलमा जान्थ्यौँ । संरक्षित क्षेत्र भएकाले त्यसको सुरक्षा सेनाले गर्थ्यो । आरु टिप्दाटिप्दै सिपाही आउँदा ‘लौ भागौँ साथी हो’ भन्दै भाग्थ्यौँ ।

हठात् हामीले गाउँ फर्किनुपर्यो । हाम्रो परिवार शरणार्थी बनेर काठमाडौँ आएको थियो । बाको शरणार्थी जीवन सकिएकाले होला, वार्षिक परीक्षाअगावै हामी गाउँ फर्कियौँ ।

मैले जीवनका अलावा अरू कसैलाई यो कुरा बताइनँ । जीवनले मलाई काठमाडौंमा रोक्ने उद्देश्यले मेरो बासँग पनि अनुरोध गर्यो । उसले ‘गाउँमा राम्रा विद्यालय हुँदैन, त्यहाँ राम्ररी पढ्न पाइँदैन’ भनेर निकै सम्झाउन खोज्यो । मलाई गाउँ नलैजान उसले अनुनय गर्यो ।

तर, जीवन सफल भएन । म गाउँ जानैपर्यो । गएँ र वार्षिक परीक्षा दिने बेलामा गाउँकै स्कुलमा भर्ना भएँ ।

त्यति बेला जिल्लामा फोन सुविधा थिएन । इमेल, फेसबुकको कल्पना कसैले गर्ने कुरै थिएन । सञ्चारको यौटै माध्यम भनेको हुलाक थियो । त्यसैले म गाउँ पुग्नेबितिक्कै जीवनलाई चिठी लेखेँ ।

उसले पनि मलाई तुरुन्तै जवाफ फर्कायो । सर, मिसहरू ‘राम कता हरायो ?’ भनेर आत्तिएछन् । उसले मेरो बारेमा थाहा भएका कुरा सरहरूलाई जानकारी दिएछ ।

चिठी आदानप्रदानका क्रममा आएको उसको अन्तिम नासो थियो, सुरुमै उल्लेखित चिठी ।

धेरै समयसम्म मेरा कुनै पनि चिठीको उत्तर नआएपछि मैले सोचेँ– ऊ सहरको धनी मान्छे, म गरिब गाउँले, उसले के सम्झिन्थ्यो र मलाई ।

अनि, मैले पनि उसको सम्झना मस्तिष्कबाट विस्तारै हटाउँदै गएँ ।

एसएलसी परीक्षा सकिएपछि म काठमाडौं आएँ । पुराना साथीहरूको याद आयो । उनीहरूलाई खोज्दै म हाम्रो डेरा भएको घरतिर पुगेँ ।

ओहो, कस्तो ठूलो बस्ती भइसकेको रहेछ गोंगबु त ! त्यहीँ नै नयाँ बसपार्क बनिसकेको रहेछ । हिजोका खेतहरूमा भव्य महलहरू खडा भएछन् । राजधानीभित्रको हिजोको गाउँ, अहिले विशाल सहर भएछ । मैले कुनै पनि साथीको घर पत्ता लगाउन सकिनँ ।

स्कुलमा गएको भए पत्तो लाग्थ्यो होला । तर, किन हो कुन्नि, स्कुल जाने हिम्मत आएन । अनि, मेरो स्मृतिपटबाट विस्तारै उनीहरू टाढा–टाढा हुँदै गए ।

जब संसारमा फेसबुक नामको प्रविधि भित्रियो, त्यसले थुप्रै पुराना साथीलाई फेरि एकै ठाउँमा ल्याइदिन थाल्यो ।

मेरो अवचेतन मस्तिष्कमा भने स्कुलका साथीहरूको सम्झना मेटिएको रहेनछ । मैले सम्झेसम्मका साथीलाई फेसबुकमा खोज्न थालेँ ।

एक–दुई साथी भेटिए । तर, तीमध्ये केहीले विद्यालयको त्यो संसारलाई नै बिर्सिसकेका रहेछन् । कोही माथिल्लो ओहोदामा पुगिसकेकाले होला, मेरो जिज्ञासालाई खासै महत्त्व दिएनन् ।

मैले सम्झेका साथीहरूको नाम भेटिँदा ‘तपाईं २०४३–४६ तिर फलानो स्कुलमा पढेको हो ?’ भनेर फेसबुकमा सन्देश पठाउँथेँ ।

स्कुल छाडेको ३५ वर्षपछि अनुमानकै आधारमा फेसबुकमा सन्देश पठाउँदा एकजना साथीबाट सकारात्मक जवाफ पाएँ । उनले पनि पहिलो झमटमा मलाई याद गरिनन् । त्यति बेलाका हरेक कुरा सम्झाएपछि भने उनले मलाई सम्झिन् ।

उनले अरू केही साथीहरूका विषयमा बताइन् । फेसबुकको प्रोफाइलबारे जानकारी दिइन् । भ्याएकाको फोन नम्बर पठाइदिइन् । त्यसैको आधारमा अर्को एक घनिष्ट साथीसित मेरो लामो समयपछि सम्पर्क भयो ।

त्यसपछि मात्रै मलाई जीवनका बारेमा थाहा भयो । उसको त क्यान्सर रोगका कारण निकैअघि नै निधन भइसकेको रहेछ ।

उसले बिरामी भएँ भनेपछि फेरि मेरो पत्रको जवाफ नदिएको त यो संसारबाटै बिदा लिएकाले पो रहेछ । मैले जीवनजस्तो प्रिय साथीलाई बेकारमा ‘माया मारेको’ आक्षेप लगाएको रहेछु ।

सायद प्रायश्चितस्वरूप म केही लेख्न बसेँ, कम्प्युटरमा । उसका अनेक सम्झनाहरू मनमा बाढीको भेलसरि आइरहेको थियो ।

देखेँ, आँखाबाट झरेका आँसुहरूले किबोर्ड भिजाइसकेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement