site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दसैँमा पनि स्कुल ड्रेस !
Sarbottam CementSarbottam Cement

पुराना दिनका दसैंँ सधैँ स्मृतिमा रहिरहन्छ । बाल्यकाल, किशोरकालको दसैँमा आफूले भोगेका, बिताएका, अनुभूत गरेका क्षण आज पनि स्मरण गर्दा मन पुलकित हुन्छ ।

त्यति बेलाको दसैँ बाल्यकाल, युवावास्थाको दसैँ भएकोले रमाइलो गर्ने, खानपान गर्ने र नयाँ लुगा लगाउनेमा बढी केन्द्रित रहन्थ्यो । गाउँमा हुँदा दसैँमा बाहिर भएका सबै आफन्त घर फर्किन्थे । बाहिर गएका साथीभाइ पनि गाउँ आउँथे । सबैसँग भेट हुन्थ्यो । गाउँ र सहरका कुरा हुन्थे । एउटा बेग्लै किसिमको रमाइलो हुन्थ्यो । वास्तवमा त्यो बेलाको दसैँ भनेको कर्तव्यमा नबाँधिएको दसैँ हुन्थ्यो । बिन्दास रमाइलो, फुक्काफाल ।

आजको दसैँ भनेको छोराबुहारी, छोरीज्वाइँ, नातिनातिनाको अभिभावकत्व बोकेको दसैँ भएको छ । हिजो दसैँ भनेको घुम्नु, फिर्नु, उफ्रिनु हुन्थ्यो भने आज आफैँ हिँड्न नपाइने दसैँ भएको छ । हिजो मुक्त दसैँ थियो भने आज कर्तव्यबाट बाँधिएको दसैँ भएको छ । त्यसैले हिजोको दसैँ र आजको दसैँमा आकाश जमिनको अन्तर देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सबैभन्दा त रमाइलो त्यो बेला नयाँ लुगा आङमा पर्दा कति खुसी भइन्थ्यो, बयान गरेरै सकिन्न । आज दराज खोलेर हेर्‍यौँ भने लगाउँदै नलगाएका लुगा र कोटहरू बग्रेल्ती भेटिन्छन् । आज लुगा किन्दै गयो, तर लगाउने समय नै जुर्दैन ।

हिजो झापामा हुँदा त्यो थिएन । दसैँमा लुगा सिलाउनका लागि साइँला दाइकोमा दैनिक ताकेता गर्न जान्थेँ म । ‘लौ न साँल्दाइ, छिटो सिइदिनु न’ भन्दै तिनको घरमै धर्ना दिइन्थ्यो । उनी पनि ‘जाऊ, अब टाँकघर हाल्न मात्रै बाँकी छ’ भन्थे । र, त्यसले पनि केही दिन खाइदिन्थ्यो । अदालतमा तारिख धाएजस्तो बिहान जुरुक्क उठनासाथ म साँल्दाइकोमा पुग्थेँ । दिउँसो पनि एकफेर पुग्थेँ र साँझमा पनि एकफेर ।

Global Ime bank

अरूभन्दा पनि रमाइलो के हुन्थ्यो भने बाले दसैँमा लुगा सिलाइदिँदा पनि उही निलो प्यान्ट र सेतो सर्ट नै सिलाइदिनु हुन्थ्यो । ‘यसलाई स्कुल जाँदा ड्रेस पनि चाहिन्छ’ भन्दै दसैँमा ड्रेसको बन्दोबस्त हुन्थ्यो । आफूलाई त नयाँ लुगा लगाउन पाए पुग्यो ।

झापामा हुँदा मासु कहिले पनि अघाउँजी खान पाइन्थेन । खेतीपाती, धनसम्पति जति भए पनि उही दसैँको बेलामै खसीबोका काटिने हो । हाम्रो हजुरबुवा हुन्जेलसम्म केके पूजा भनेर सप्तमी, अष्टमी, कालरात्रि गरेर घटीमा पनि तीनवटा बोका काटिन्थ्यो ।

त्यसपछि त अरू ११ महिना मासु खान जुर्नु नै पर्थ्यो । किनभने, मासु काट्ने कुरो व्यावसायिक भइसकेको थिएन । कहिलेकाहीँ शनिश्चरे हाटमा मासु भेटिए खान जुर्थ्यो ।

शनिश्चरे हाटमा एकजना थिए खसीकट्टा कार्की, कहिलेकाहीँ तिनकोमा गएर एक–दुई किलो मासु ल्याएर झोल हालेर पकाइन्थ्यो । ठूलो जहान । हजुरआमाले सबैलाई दुई–तीन टुक्रा मासु र झोल पार्दै कचौरामा दिनुहुन्थ्यो ।

त्यसबखत बोसो आओस् कि छाला परोस्, केही फालिँदैनथ्यो । सप्पै खाइन्थ्यो । आजजस्तो यो खाने त यो नखाने भन्ने नै थिएन ।

जहाँसम्म नियात्राको कुरो छ, दसैंँको संस्मरण जोडिएको एउटा नियात्रा नै लेखेको छु मैले, ‘गण्डकीको मुहानतिर’मा । विदेशी पर्वतारोहीहरूको एउटा समूह मनास्लु हिमालतिर जाँदै थियो । तिनको दसैँ नहुने । र, म पनि सोही टोलीमा खटिएपछि मेरो पनि दसैँ हुने सम्भावना रहेन ।

म अघिल्लो दिन नै गोरखा, घ्याम्पेसाल हुँदै आरुघाट पुगेर बास बसेको थिएँ । भोलिपल्ट बिहानैदेखि मालश्री बज्न थाल्यो रेडियोमा । त्यसै दिनदेखि घटस्थापना सुरु भएको थियो ।

सर्वत्र मालश्रीको धुन गुञ्जिरहेको थियो । तर, यो मालश्रीको धुनका बीच आफूलाई उक्लनु थियो मनास्लुतिर । यता कर्तव्य निर्वाह गर्न मनास्लु उक्लिनुपर्नेछ, उता मालश्रीको धुनले मनलाई काठमाडौं फर्की भनिरहेको छ । यस्तो असमञ्जसको अवस्थामा त्यो यात्रा गरेको छु । मन, मालश्री र मनास्लुको त्यो घम्साघम्सीमा म मुछिएको थिएँ । त्यही हिमाली यात्रा र घर सम्झनाको उहापोहमा त्यो यात्रा गरियो ।

बडो मुस्किलले माथि पुगेँ । हेरेँ । रमाइलो गरेँ । तर, त्यसैबीच एकजना फ्रेन्च आरोहीको मृत्यु भयो । अब तिनको लास काठमाडौं ल्याउनुपर्ने भयो । र, तिनको लास लिएर फर्किनुपर्ने भएकोले काठमाडौंबाट गएको हेलिकोप्टरबाट मसहित सबै सप्तमीका दिन काठमाडौं आइपुगेका थियौँ ।

तपाईंलाई भनूँ, सरकारले खटाएका दुईजना सम्पर्क अधिकृतको लास लिन म हिमाली क्षेत्रमा गएको छु भने दुईजना विदेशीको लास पनि ल्याएको छु । र, त्यो क्षण कति पीडादायी हुन्छ होला, तपाईं अनुमान गर्नुस् त !

(नियात्राकार ढकालसँग गरिएको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement