घरमा आइपुग्दा रातको दश बजिसकेको थियो । सबै सुतिसकेका थिए । ढोका घचघच्याउँदा धचघच्याउँदा बल्ल किशुले ढोका खोलिन् ।
‘किन यति बेर ?’
‘सिनेमा हेरेर आएको ।’ अजयले जवाफ दियो ।
‘भात राखेको छ ?’ उसले सोध्यो ।
‘तपाईंले खाएर आउनुभएको छैन र ?’
‘कहाँ खानु ?’
‘होटलमा ।’ किशुले भनिन् ।
‘अँ–खाएँ ।’ उसले केही दिक्क र झोँकमा भन्यो ?
‘नखाएको भए पकाइदिऊँ ?’
‘चामल छ ?’
‘भोलिलाई राखेकी छु ।’
‘भो पर्दैन । किन खानुपर्यो ?’ भनेर लुगा फुकालेर अजय कोठामा गयो र लुगाहरू किलामा झुन्ड्यायो ।
अर्को कोठामा छोराछोरीसित किशु सुत्थिन् ।
थकित भएर अजय ओछ्यानमा पल्टियो ।
ऊ सुत्ने मूडमा थिएन, तैपनि करबलले सुत्ने प्रयत्न गर्न लाग्यो । कुरा गर्ने साथी पत्नी पनि थिइनन् । आफ्नै मनसित ऊ कुरा गर्न लाग्यो । अफसोस मान्दै—
जीवन बरबाद भयो । किन बिहे गर्नुपरेको थियो । ३५ वर्षकै उमेरमा दुई तीनजनालाई पाल्नुपर्यो । जागीर छ बैठेगानको, न भनेको बेलामा तलब पाइन्छ । मालिकको खटनमा तलब खानुपर्छ । जति दिन्छ उसको इच्छामा छ ।
आज पनि ओभरटाइम गर्नुपर्यो । स्वास्नीलाई सिनेमा हेरेर आएको भनी ढाँट्नुपर्यो । सिनेमा हेर्नेले होटलमा पेट भरेर आयो होला भन्ने किशुको भनाइ ठिकै थियो ।
तर, यसभन्दा अघि पनि ओभरटाइम गरेर आउँदा सिनेमा हेरेर आएको भन्ने उसको आदतै थियो । किशुले भोलिपल्ट चामल किन्ने पैसा माग्दा उसले ‘साथीले देखाएको मसित पैसा कहाँ पाउनु’ भन्ने जवाफ दिएको थियो र आज पनि त्यही कुरो भएको थियो ।
ओभरटाइम गरेर आएको भन्यो भने किशुले पैसा माग्ली भन्ने डर, जुन ओभरटाइम गरेर उसले आफ्नो पाकेट खर्च, चिया, चुरोट पुर्याउँथ्यो, त्यही खर्च पनि हरिनेछ भनेर ऊ बताउन चाहन्नथ्यो । अनि, ओभरटाइम पनि दिनदिनै कहाँ पाइन्थ्यो र ? मालिक मलाई ठग्ने म आफ्नो जहानलाई ।
अजयलाई आफ्नो दुर्दशा देख्ता दिन दशा बिग्रेकोले यस्तो दुःख खप्नुपरेको हो भन्ने लाग्दथ्यो । तर, अब उसले बुझ्न थालेको छ– यो दिन दशा होइन, आफ्नो अयोग्यताले दुःख पाएको हो ।
कोही भन्छन्— सरकारी जागीर छाडेको फल पायो । दशा लागेको । मति खुस्केको ।
अजयलाई मुखभरि जवाफ दिन मन लाग्थ्यो, तर ऊ जवाफ नदिई हाँस्न लाग्दथ्यो ।
‘मलाई जागीर खान मन लागेन र छाडेको ।’
‘अहिले त राम्रो छ ?’
‘राम्रै छ । तलब पनि धेरै छ ।’ ऊ भन्थ्यो, तर उसको मनःस्थिति बुझ्ने को ? धाक नदेखाए कसले उसको इज्जत गर्ने ? भोकै बसे पनि बाहिर त पेट भरेकै कुरो गर्नुपर्छ ।
अजय निद्रा लागेको जस्तो अनुभव गरेर बत्ती निभाएर सुत्न पल्टियो ।
अर्को कोठामा बच्चा अचानक रोएर उठ्यो । किशु उसलाई थुमथुम्याउँदै दूध खुवाउन लागेकी उसले अनुमान गर्यो ।
बच्चाको स्वरले उसको निद्रा भाग्यो । एक त भोको पेट । दिउँसो चिया पाउरोटी होटलमा उधारो खाएको थियो । त्यसपछि घरमा खाने आशा गरेको पनि त्यत्तिकै भयो ।
ऊ उठ्यो र बत्ती बाल्यो । ऊ पानी खान चाहन्थ्यो । ऊ कोठाबाहिर गयो र भान्छामा पुग्यो । बत्ती बालेर गिलासमा गाग्रीको पानी खन्याउन लाग्दा किशुले ‘को हँ ?’ भनेर कराएकी सुन्यो ।
‘म हो’ उसले भन्यो, ‘पानी खान आएको ।’
अनि, उसले यताउता हेर्यो, खानेकुरा केही छ कि भनेर ।
कतै केही थिएन । भाँडाहरू माझेर भित्तामा ठड्याएर राखिएका थिए । यस्तैमा अचानक उसको आँखा तसलामा राखेको दुई टुक्रा पाउरोटीमा पुग्यो । त्यो भोलि बिहान छोरा वसन्तलाई स्कूल जाने बेला चियासित खुवाउन राखेकी भन्ने सम्झ्यो । पानी खाँदाखाँदै पाउरोटीको लोभ लाग्यो र उसको हात बढ्यो ।
ऊ पाउरोटी र पानी खाएर बत्ती निभाएर फेरि आफ्नै कोठामा आयो । फेरि बत्ती निभाएर सुत्यो । अलिकति सन्तुष्ट अनुभव गर्यो र ओछ्यानमा निद्रा नलागुन्जेल ओल्टेकोल्टे परिरह्यो ।
बिहान उठ्ता उसलाई किशुले बोलाइरहेकी थिइन्, ‘चिया खान उठ्नुस् ।’ चियाको तातो गिलास उसले हातमा लियो । दूध नहालेको फिका चिया ।
‘पाउरोटी मुसाले खाएछ । तसलामा नछोपी राखेको थिएँ । सानो भोकै स्कूल गो ।’ उनले बच्चालाई उसको छेउ ओछ्यानमा राख्तै भनिन्, ‘म पानी लिन धारामा जान्छु ।’
(कोइरालाको ‘सुर्तीको पातमा झुन्डिएको जीवन’बाट)