साहित्य
कराइमा थपक्क राखिएको दूधजस्तै थिएँ
तिमी जोडन बनेर घुलियौ ममा
म जमेँ
दही बनेँ
सोचेँ– जम्नु मेरो सौभाग्य हो
तर, मलाई जमिरहन पनि त दिएनौ
मदानी बनेर मथिरह्यौ मेरो हृदयलाई
सोचेँ– मेरो नियति हो दुखाइ
तिम्रा औँलाका कापहरूमा नौनी बनेर टाँस्सिन पाउनुको खुसीमा
मैले आफू आधा छुट्नुको पीडा नै भुलिदिएँ
जीवनका राप र तापहरूमा खरिँदा खरिँदै
पत्तै पाइनँ रहरहरू बिलौनी भइसकेछन्
म रङहीन भइसकेकी छु आज
बाँकी कुनै यात्रा छ न फर्किन सक्ने बाटो
देख्दै छु तिमी खोज्दै हिँडिरहेका छौ, अर्को कराइ ।
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९ १५:५१
प्रतिक्रिया दिनुहोस्