एउटा सरकारी नियुक्तिले नेपाली भाषा, साहित्य र संस्कृतिको सिंगो क्षेत्र नै तरंगित भयो । जे–जतिले यो समाचार सुने, ती पनि आश्चर्यचकित भए । तर, फूलकुमारी ‘काँढा’लाई भने बधाई थाप्न भ्याइ नभ्याइ थियो ।
टेलिफोनको घण्टीले उनलाई व्यस्त बनाइरहेको थियो भने प्रत्यक्ष भेटेर खादा र माला लगाइदिनेहरूको भीड पनि उत्तिकै बाक्लो थियो ।
त्यही भेटमा आफूलाई फूलकुमारी नजिक देखाउन चाहने र भविष्यमा काम लिन चाहनेहरूको पनि बाक्लै उपस्थिति थियो ।
नृत्यमा पारंगत र नृत्यमार्पmत नेपाललाई विश्वमा चिनाएको भन्दै फूलकुमारीलाई सरकारले कला प्रतिष्ठानको सदस्यमा नियुक्त गरेको थियो ।
‘ढिलै भए पनि सरकारी निर्णयले मेरो योगदान र योग्यताको कदर गरेकोमा म खुसी छु ।’ अन्तरवार्ताहरूमा फूलकुमारी भनिरहेकी थिइन् ।
“फूलु, पञ्चायत ढलेर के भो र ? देख्यौ नि, अझै पनि म कति पावरफुल छु । मेरै पावरको कमालले तिमी सदस्य भयौ ।” लोग्नेको कुरामा फूलकुमारी लाली पोतिएको अधरमा मुसुक्क मुस्कुराइन् ।
पद बहालीको अनौपचारिक कार्यक्रमलाई औपचारिकता दिन उद्घोषकले सुरु के गरेका थिए, दर्शकदीर्घाबाट तीव्र होहल्लाले पे्रक्षालय गुञ्जियो र ठेलमठेल सुरु भयो ।
त्यही बेलामा महिलाहरूको हुल अघि बढ्यो । एकजना महिललाले तीव्र रोष प्रकट गर्दै भनिन्, “प्रजातन्त्रको पुनर्बहाली गराउनका लागि ज्यानको बाजी लगाउने हामी, तर प्रतिष्ठानको सदस्यमा नियुक्ति पाउनेचैँ प्रतिकार समितिको सदस्य ? प्रजातन्त्रवादीहरूलाई सिध्याउनका लागि बनेको प्रतिकार समितिमा रामनारायण र फूलकुमारी थिए कि थिएनन् ? लु, आज दूधको दूध, पानीको पानी हुनुपर्छ । यस्तो गलत निर्णय गर्ने सरकारलाई पनि हामी छाड्नेवाला छैनौँ । निकाल, तान यो प्रतिकार समितिको सदस्यलाई ।”
फूलकुमारीलाई तान्न गएका महिलाहरूबाट रामनारायण र फूलकुमारी बच्न सकेनन् । कसोकसो गरेर भीडबाट उम्किन सफल फूलकुमारीलाई पक्रन महिलाहरू उनको पछिपछि दौडिए ।
“ए समात्, समात् ! प्रतिकार समितिको सदस्यलाई नछोड ।”
(तरहरा, सुनसरी)