काठमाडौं । वरिष्ठ पत्रकार केदानमान सिंह श्रेष्ठ भन्ने गर्थे, “फ्री एन्ड फेयर जर्नालिजम (स्वतन्त्र र निष्पक्ष पत्रकारिता) गरेर कसैलाई खुसी पार्न सकिँदैन । कसैलाई होच्याउनु वा उचाल्नु पनि पत्रकारिताको धर्म होइन ।”
आफ्नो चार दशक लामो करिअरमा निर्भीक भएर पत्रकारिता गरेका उनै श्रेष्ठको बुधबार ८१ वर्षको उमेरमा काठमाडौंमा निधन भयो । उनी लामो समयदेखि मुटु रोगबाट ग्रसित थिए ।
अन्तर्राष्ट्रिय पत्रकारको रूपमा ख्याति कमाएका श्रेष्ठले फ्रान्सेली समाचार संस्था एएफपीमा ४२ वर्ष, बीबीसीमा २० वर्ष र फार इस्टर्न इकोनोमिक रिभ्यूमा करिब २० वर्ष काम गरे । जापानको आशाही सिम्बुनका लागि पनि करिब १० वर्ष समाचार फाइल गरेका उनले लन्डनको डेली टेलिग्राफमा पनि लेखेका छन् ।
श्रेष्ठका समकालीन साथीहरूले उनलाई फरासिलो स्वभावको मानिसको रूपमा सम्झन्छन् । रोयटर्समा लामो समय काम गरेका हाल स्वतन्त्र पत्रकार ध्रुवहरि अधिकारी लन्डनमा बसेर बीबीसीका लागि काम गर्थे । त्यही बेला श्रेष्ठ काठमाडौंमा बसेर बीबीसीका लागि रिपोर्ट पठाउँथे । उनले काठमाडौंबाट पठाएको रिपोर्टको लन्डनबाट प्रसारण गरको अधिकारी सम्झन्छन् । “उहाँ व्यक्ति मात्र होइन, इन्स्टिट्युसन हुनुहुन्थ्यो । २०४६ भन्दा अगाडि सूचना पाउन गाह्रो थियो । केही लेख्यो कि सरकारलाई प्रष्टीकरण दिनुपर्थ्यो । त्यस हिसाबले मैले भन्दा उहाँले धेरै भोग्नुभयो,” उनले भने ।
उमेर र पत्रकारितामा सिनियर श्रेष्ठसँग उनले समकालीन भएर पनि काम गरे । भन्छन्, “एएफपी र रोयटर्स ठूल्ठूला न्युज एजेन्सी थिए । त्यसैले कसले पहिले ब्रेक गर्ने भनेर प्रतिस्पर्धा पनि हुन्थ्यो । ब्रेक गर्ने चक्करमा कहिलेकाहीँ भेरिफाई नगरी समाचार पठाउदा चुकेका उदाहरण पनि छन्," पुराना दिनलाई सम्झिँदै उनले भने, “सायद २०४३ (२०४४ फागुन) सालतिर होला । दशरथ रंगशालामा खेल भइरहेको बेला ठूलो हुरीबतास आयो । भागदौडमा कुल्चिएर, अल्झिएर मान्छेहरू मारिए । उहाँले एएफपीका लागि न्युज पठाउँदा सय जना मारिए भनेर पठाउनुभयो । सबैतिर त्यही तथ्यांक गयो । तर खासमा ६९ जनाको मात्र ज्यान गएको रहेछ ।”
अर्का पत्रकार तीर्थ कोइराला आफू कलेज पढिरहँदा श्रेष्ठको बारेमा थाहा पाएपछि उनको घरमै गएर भेटेको सम्झन्छन् । “बीबीसीको पत्रकार भनेपछि हामी त्यसै दंग पर्थ्यौं । उहाँ फेरि हँसिलो मान्छे । हामी जस्ता युवालाई प्रोत्साहन गर्ने,” श्रेष्ठलाई सम्झिँदै उनले भने ।
श्रेष्ठ समाचारको स्रोत पुष्टि गर्न उनलाई जहिले सजग गराउँथे । “उहाँ जहिले समाचारको स्रोत भेरिफाई गर्नुपर्छ है भाइ भन्नुहुन्थ्यो । स्रोत भेरिफाई गर्न जोड दिनुहुन्थ्यो । उहाँको अनुभवहरू सुन्थ्यौँ । ६ महिनाअघि फोनमा कुराकानी भएको थियो । स्वास्थ्य ठिक छैन भन्नुभएको थियो,” कोइरालाले भने ।
श्रेष्ठको अन्तर्वार्ता लिन कुनै समय उनको भोटेबहालस्थित घर पुगेका लेखक तथा समीक्षक राजकुमार बानियाँ तीन दिन अघिसम्म पनि उनले म्यासेन्जरमा कल गरेको सम्झन्छन् । “कल उठाउँदा नेवारीमा मात्र बोल्नुहुन्थ्यो । म नेवारी बुझ्दैनथेँ । के भन्नुभएको भन्दा फोन राखिदिनुहुन्थ्यो । मलाई नेवारी आउँछ भन्ने सोचेर हो कि,” उनले भने, “यसरी उहाँले बारम्बार दर्जनौँपटक कल गर्नुभएको छ । अस्ति पनि फोन गर्नुभयो । तर के भन्न गर्नुभएको थियो, अब कहिले थाहा हुने भएन ।”
सात घण्टामा श्रेष्ठको ४५ वर्ष लामो पत्रकारिताको जीवनगाथा उनकै मुखबाट सुनेका समीक्षक बानियाँ भन्छन्, “उहाँ इतिहास हो । उहाँको योगदानलाई सम्झिनुपर्छ । मर्नु बाँच्नु त नियमित हो ।”
श्रेष्ठले आफ्नो लामो करिअरमा इतिहासका थुप्रै घटना परिघटनालाई समाचारमा उतारेका छन् । १९ जेठ २०५८ को दरबार हत्याकाण्डको समाचार यस्तै एउटा घटना हो, जसले उनको करिअरमा उचाइ थपेको थियो । श्रेष्ठले दरबार हत्याकाण्डको घटना एएफपी र बीबीसीमार्फत ब्रेक गरेका थिए । त्यो फ्ल्यास समाचार हातले लेखेर फ्याक्समार्फत अत्यन्त थोरै शब्दमा उनले पठाएका थिए ।
तिनताका फ्याक्स समाचार मुस्किलले सातदेखि २० शब्दमा हुन्थ्यो । त्यो पठाएपछि विस्तृत समाचार आधा घन्टा ढिलो भएपनि खासै फरक पर्दैनथ्यो । उनले राति हतारहतार रामचन्द्र पौडेल, सुजाता कोइराला र रोयल फिजिसियनसँग भेरिफाई गरेर त्यो समाचार पठाएका थिए । जुन खबर बाहिरी विश्वले पहिले पछि मात्र नेपालीले थाहा पाएका थिए ।
उनको पुर्ख्यौली थलो बनेपा हो । तर उनी पोखरामा जन्मिए ।
बुबा पोखराका बडाहाकिम धनशमशेरको अफिसमा कारिन्दा थिए । पछि उनी आठजनाको टोलीसहित काठमाडौं पढ्न आए । दरबार हाई स्कुलमा पढ्न चाहन्थे । तर, त्यहाँ पढन् नपाएपछि उनी लैनचउरस्थित शान्तिगृहमा भर्ना भए । त्यहीँबाट एसएलसी दिए । त्रिचन्द्र कलेजमा राजनीतिशास्त्र र अंग्रेजी लिएर स्नातक पढे ।
त्यतिबेलाको अंग्रेजी दैनिक दी मदरल्यान्डका सम्पादक तथा प्रकाशक मणिन्द्रराज श्रेष्ठकी श्रीमती उनकी ठूली दिदीकी मितिनी थिइन् । त्यही साइनोका कारण उनी दी मदरल्यान्डमा काम गर्न थाले । पछि २०१७ मा मणिन्द्रराजकै सहयोगमा उनले सगरमाथा संवाद समिति (ससस)मा प्रवेश पाए । उनको आगमनसँगै ससस राष्ट्रिय समाचार समिति (रासस) मा परिणत भयो ।
त्यसबेला अखबारमा बढीमा म्याट्रिक गरेका सम्पादक हुन्थे । ग्य्राजुएसन गरेका पत्रकार त नगन्य नै थिए । भारत–चीन युद्ध तथा भारत–पाकिस्ता द्वन्द्व चलिरहेको थियो । तिनताका अमेरिकाको एसोसिएटेड प्रेस (एपी), बेलायतको रोयटर्स, फ्रान्सको एएफपी दिल्लीमुखी थिए । अन्तर्राष्ट्रिय मिडियाका नेपाल प्रतिनिधि भएर आउने प्रायः पत्रकार पनि भारतीय नै हुन्थे । उनीहरूले आफूलाई जतिसुकै स्वतन्त्र दाबी गरेपनि समाचारमा भारतीय दृष्टिकोण नै झल्किन्थ्यो ।
नेपाली मिडियाका समाचार स्रोत भने प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) वा चीनको सिन्ह्वाका समाचार हुन्थे । यी मिडियालाई उद्धृत गर्दा मिडिया कहिले भारतमुखी देखिन्थे त कहिले चीनमुखी । तटस्थ मिडियाको खोजी गर्दा तत्कालीन राजा महेन्द्रको पहलमा एएफपी काठमाडौं आइपुग्यो । त्यहाँ नेपाली नै संवाददाता खोजिएपछि राससबाट एएफपीमा श्रेष्ठ छनोट भएका थिए ।
फ्रान्समै पत्रकारिता तालिम लिएका उनले एएफपीको विशेष संवाददाता हुँदै २०२४ मा ब्युरो चिफ भए । उनलाई राजा वीरेन्द्रको राज्याभिषेकताका हङकङको साप्ताहिक म्यागेजिन फार इस्टर्न इकोनोमिक रिभ्युले ‘अफर’ गर्यो भने जनमतसंग्रह (२०३६) ताका बीबीसीमा जोडिए । उनले भारुदेखि डलर र पाउन्डमा तलब खाए ।
उनी राजाहरूसँग धेरै टाढा र अति नजिक दुवै भएनन् । उनले दरबारबाट दिइने तक्मा, इनाम तथा पुरस्कार कहिल्यै लिएनन् । राजाको हातबाट गोरखा दक्षिणबाहु तेस्रो लिन अस्वीकार गर्दा उनी आलोचित पनि भए । तर, पत्रकारिता छाडिसकेपछि २०६८ मा दुई लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार भने उनले लिए ।
पछिल्लो केही समय स्वतन्त्र पत्रकार भएर रिटायर जीवन बिताइरहेका श्रेष्ठ लामो समयदेखि मुटुका रोगी थिए । श्रेष्ठका पत्नी दिव्यकुमारी सिंह श्रेष्ठ, एक छोरा सुसम मान सिंह श्रेष्ठ र छोरी निना सिंह सुवाल छन् ।