काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी गरिएको छ । डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई नेपाली सेनाको स्काई ट्रक हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो ।
सेती अस्पतालले उनको अवस्था जटिल भएको भन्दै विशिष्टीकृत अस्पतालमा लैजान सुझाव दिएको छ ।
तर, डा. केसीले भने आज काठमाडौं आउन अस्वीकार गरेका छन् । उनलाई मनाएर काठमाडौं ल्याउन हेलिकप्टर तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
उनकाअनुसार अस्पताल तथा प्रशासन कार्यालयको टोलीले केसीलाई फकाउने प्रयास गरिरहेको छ ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै ९ दिनदेखि विभिन्न सात बुँदे माग राखेर उनी अनशनमा छन् ।