छिल्लो समय किशोरकिशोरीमाथि हिंसाका घटना बढ्न थालेको छ । विशेषगरी यो उमेर समूहका किशोरी बलात्कृत भएका घटना बढेको देखिन्छ ।
नेपालको कानुनले १८ वर्षमुनिका बालबालिकालाई नाबालिगका रूपमा परिभाषित गरेको छ । उनीहरू उचित निर्णय लिन परिपक्व भएको मानिँदैन । उनीहरूको मानसिक विकास कस्तो हुन्छ, उनीहरू कसरी निर्णय लिन्छन् ? प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर पाटन मानसिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. वासुदेव कार्कीसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश :
मानसिक विकासका हिसाबले किशोरावस्था कस्तो अवस्था हो ?
मानिसको ब्रेनमा दुईवटा भागबाट क्रिया प्रतिक्रिया भइरहेको हुन्छ, जसमध्ये इमोसनल ब्रेनले भावनाहरूसँग रहेर प्रतिक्रिया जनाउँदछ ।
अर्को हुन्छ, दिमागको अघिल्लो भाग (प्रिफ्रन्टल कोर्टेक्स) जसले योजना बनाउने, सही गलत छुट्ट्याउने, परिणाम सोच्ने काम गर्दछ ।
१२ वर्षभन्दा माथि १९ वर्षसम्मको उमेरका बालबालिकामा इमोसनल ब्रेन हाबी हुने हुँदा यो उमेर चञ्चल, अपरिपक्व, कुनै पनि कुरामा छिटो लोभिने, अरूको विश्वासमा छिटो परिहाल्ने र निर्णयमा परिपक्वता नभएको अवस्था हो ।
शारीरिक विकास र दिमागको विकास सँगसँगै हुँदैन ?
बालबालिकाको शारीरिक विकास, उनीहरूमा उमेरअनुसारका चाहना, भावना बढ्दै जानु मानसिक रूपमा परिपक्व हुनु होइन । उनीहरूको शारीरिक विकास छिटो भएको देखिए पनि मानसिक विकास आफ्नै प्रक्रियामा भइरहेको हुन्छ ।
मानिसको दिमागमा दुईवटा भाग हुन्छन्, जसमध्ये अघिल्लो भाग (प्रिफ्रन्टल कोर्टेक्स)ले लजिक लगाएर कुन काम गर्दा के परिणाम हुनसक्छ भनी विश्लेषण समेत गर्न सक्छ । तर, टिन एजर्सको हकमा यो भाग विकास भइसकेको हुँदैन । जसकारण उनीहरू कसैको बहकाउमा छिटो लाग्न सक्ने, क्षणिक खुसीमा रमाउने, कुनै कुरामा एकोहोरो भएर लाग्नेजस्ता बानीका हुन्छन् ।
किशोरावस्थामा आउने भावनालाई कसरी व्यवस्थापन गर्ने ?
पहिलो कुरा त बालबालिका कस्ता कुराहरूमा धेरै चासो राख्छन् र कस्तो बन्दै जान्छन् भन्ने कुरा उनीहरूको हुर्काइ, अभिभावकत्वमा निर्भर गर्छ । हामीले बालबालिकालाई कसरी हुर्काइरहेका छौँ भन्नेबारे बृहत् बहस गर्नु जरुरी छ ।
दोस्रो कुरा, उनीहरूमा प्राकृतिक रूपमा विकास हुँदै जाने यौनजन्य भावनाहरूको व्यवस्थापनमा पनि अभिभावक नै पहिलो जिम्मेवार हो । उनीहरू कस्तो बानी–व्यवहार देखाइरहेका छन्, कुन वातावरणमा घुलमिल भइरहेका छन् भन्ने कुरा बुझ्नु र चासो राख्नु जरुरी छ ।
कतिपय अवस्थामा उनीहरूले आफूमाथि भएका घटना डरले पनि कसैलाई सेयर नगरेका हुनसक्छन् । यो अवस्थामा अभिभावक नै परिपक्व बनेर उनीहरूको असल साथी बनिदिनुपर्छ । र, सँगसँगै टिनएज पार भएसँगै उनीहरूका जिम्मेवारी, उनीहरूका कामका परिणामबारे पनि सजग गराउँदै लैजानुपर्दछ ।
किशोरावस्थामा मनोसामाजिक परामर्शको कति महत्त्व छ ?
टिनएजमा हुने विभिन्न मनोसामाजिक समस्या आउन नदिने महत्त्वपूर्ण माध्यम हो, परामर्श । जुन टिनएजको मध्यदेखि अत्यावश्यक हुन्छ । उनीहरूमा हुने परिवर्तनलाई कसरी ह्यान्डल गर्ने, गलत कुराहरूलाई कसरी इग्नोर गर्ने भन्नेबारे घरदेखि विद्यालय र सामाजिकस्तरबाटै परामर्शको आवश्यकता देखिन्छ ।
हाम्रा पञ्चवर्षीय योजना र स्वास्थ्य नीतिहरूमा परामर्शको प्रस्ट व्यवस्था गरिएको छ । तर, व्यवहारमा छैन । टिनएजर्सका स–साना घटनालाई पनि परिवार र समाजले नबुझिदिँदा ठूलो समस्या निम्तिएका घटना धेरै छन् । यस्ता घटनाले उनीहरूलाई वयस्क भएपछि पनि निर्णय लिने, अघि बढ्ने प्रक्रियामा दीर्घकालीन असर पार्दछ ।
यौनशिक्षाको कमीले आपराधिक घटना बढाइरहेको हो ?
हाम्रो समाजमा टिनएजर्सका यौनसँग सम्बन्धित भावनाहरूलाई खुलेर राख्ने र छलफल गर्ने अभ्यास छैन । बालबालिकाका हरेक हुर्काइ स्वस्थ हुनपर्छ । त्यसका लागि यस्ता विषयमा छलफल गर्ने परामर्श बाँड्ने वातावरण बन्नुपर्छ । त्यसका लागि सरकारले विद्यालय शिक्षामा लगाानी बढाउनु जरुरी छ । किशोरावस्थाका लागि दिइने शिक्षाको दायरा बढाउनु जरुरी छ ।
यौनका सवालमा हाम्रो समाजमा लुकाइने, उनीहरूलाई खुल्ने परिवेश नबनाइनु त्रुटिपूर्ण छ । तर, यसो भन्दैमा अभिभावक र समाजलाई मात्रै दोष दिन पटक्कै मिल्दैन । किनकि, राज्यको हरेक नागरिक कानुनसँग जानकार हुनुपर्दछ । हरकोहीले कुनै गलत क्रियाकपलाप गरिरहँदा आफूमा आकर्षित हुन्छ भन्ने हेक्का राख्नु जरुरी छ ।
हाम्रो समाजमा ‘अरूलाई यही काम गर्दा कानुन नलाग्ने मलाई किन सजाय हुने ?’ भन्ने भावनाले अपराधलाई प्रोत्साहन गरिरहेको देखिन्छ । तर, त्यसो नभई हरेक घटनामा कानुनबमोजिम सबैलाई बराबर कारबाही हुन्छ भन्ने मानसिकता विकास गर्नु जरुरी छ ।
यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा १८ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि ऊभन्दा ठूला हरेक व्यक्ति अभिभावक हुन् । र, ती अभिभावकले बालबालिकाले गर्ने गलत निर्णयलाई अपरिपक्व निर्णयको रूपमा बुझेर उनीहरूलाई सम्झाउन, बुझाउन सक्नुपर्छ, न कि त्यस्ता निर्णयको गलत फाइदा उठाउन ।