काठमाडौं । नेपालमा डेंगी संक्रमित सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म देशभर डेंगी संक्रमित सात जनाको मृत्यु भएको छ भने नौ हजार ८३५ जनामा संक्रमण पुष्टि भएको छ ।
महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै ललितपुरमा तीन हजार ६२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, काठमाडौंमा दुई हजार ४१४, मकवानपुरमा ६६३ तथा रुपन्देहीमा ५७० जनामा संक्रमण देखिएको छ ।
भक्तपुर, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवनमा गरी आठ हजार २४५ जनामा संक्रमण पुष्टि भएको छ । मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा संक्रमित भेटिएका महाशाखाको तथ्यांक छ ।
डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।
त्यस्तै, डेंगी निको हुने विश्वासमा मेवाको पातलगायत घरेलु औषधिहरु प्रयोग नगर्न तथा दुखाइ कम गर्ने औषधिले आन्तरिक र भित्री अंगमा रक्तश्राव गराउने हुँदा पेनकिलरको प्रयोग नगर्न पनि चिकित्सकहरुको सुझाव छ ।