काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)स्थायी समितिका सदस्य तथा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणमा लागि काठमाडौँ आइपुगेका छन् ।
उनी आज दिउँसो ३ बजे विशेष विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली विमानस्थलमा पुगेको थियो ।
सभामुख सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका लीले ६७ जनाको जम्बो टोलीको नेतृत्व गरेका छन् । छ महिनामा चीनबाट यो तेस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चीनका स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौंको भ्रमण गरी उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय विषयमा विस्तृत छलफल गरेका थिए ।
अध्यक्ष ली रुस, मंगोलिया हुँदै नेपाल आएका हुन् । नेपाल भ्रमणपछि उनी दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।
उनले आज सभामुख सापकोटासँग नयाँ बानेश्वरस्थित संसद् भवनमा द्विपक्षीय वार्ता गर्नेछन् । लीको सम्मानमा सभामुख सापकोटाले साँझ रात्रिभोजको आयोजना गर्नेछन् ।
उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन उनले नयाँ बानेश्वरमै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तालिका छ ।
अध्यक्ष लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा भेटवार्ता, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ ।
पछिल्लो दुई भेटवार्ता बानेश्वरको संसद् भवनमै हुने बताइएको छ । अध्यक्ष ली बिहीबार नेपालबाट दक्षिण कोरिया प्रस्थान गर्नेछन् ।
उनी काठमाडौं आइपुग्दा कडा सुरक्षा व्यवस्था गरिएको थियो । सडक खाली गरेर उनलाई होटलसम्म पु¥याइएको थियो । प्रहरीले उनको सवारीका क्रममा सडकका दायाँबायाँ सर्वसाधारणलाई आवतजावतमासमेत रोक लगाएको थियो ।