site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कांग्रेसले सय सिट नपाए विद्रोह’ भन्ने शेखर कोइरालाको अभिव्यक्तिले के संकेत गर्दै छ ?

काठमाडौं । सत्ता गठबन्धनमा आगामी निर्वाचनका लागि सिट बाँडफाँटमा जति सकस भइरहेको छ, त्योभन्दा ज्यादा सकस छ कांग्रेसभित्र । सत्तारूढ दल नेपाली कांग्रेसभित्र संस्थापन र इतर समूहलाई सिट भागबन्डाले विवादमा ल्याउने संकेत देखिँदैछन् । 

सत्तारूढ नेपाली कांग्रेसको पुरानो अभ्यास हेर्ने हो भने १६५ सिटमा निर्वाचन लड्दा पनि टिकट व्यवस्थापन चुनौतीपूर्ण नै हुन्थ्यो । जित सुनिश्चित भएका स्थानमा संस्थापन र असुरक्षित हुनसक्ने सम्भावित क्षेत्रमा संस्थापनइतरलाई टिकट दिने अभ्यास कांग्रेसमा पुरानै हो । 

स्थानीय स्तरमा लोकप्रिय वा स्वच्छ छविका व्यक्तिको छनौटमार्फत निर्वाचन केन्द्रित रणनीति बनाउने भन्दा पार्टीभित्रका विपक्षीलाई चुनावकै वेला तह लगाउनु कांग्रेसको विगतदेखिकै अभ्यास हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिट कांग्रेसले लिएर गठबन्धन गर्न निर्देशन नै दिइसकेका छन् । तर, संस्थापनइतर समूह भने सय सिटमुनि गठबन्धन गरे पार्टीभित्रको व्यवस्थापन नै सम्भव नहुने बुझाइमा छ । त्यसैले उसले सय सिट भन्दा कम कांग्रेसले लिए पार्टीभित्र विद्रोह हुने चेतावनी नेतृत्वलाई दिइरहेको छ । 

बिहीबार संस्थापनइतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले नेपाल प्रेस युनियन केन्द्रीय समितिले बीपी जयन्तीको सन्दर्भमा जनकपुरधाममा गरेको कार्यक्रममा गठबन्धनमा सय सिट कांग्रेसले नलिए पार्टीभित्र विद्रोह हु्ने बताए । मुख्यवत्ताका रूपमा जनकपुर पुगेका उनले प्रेस स्वतन्त्रता र लोकतन्त्रको सम्बन्ध अनि त्यसको सुदृढीकरणमा राजनीतिक दल र सरकारको भूमिकाका विषयमा मन्तव्य राखेका थिए । मन्तव्यको अन्तिमतिर उनले राजनीतिक विषय उठाउँदै गठबन्धनका विषयमा बोलेका थिए । 

कोइरालाले कांग्रेसले गर्न लागेको गठबन्धन विचार, सिद्धान्तमा आधारित नभएको भन्दै यसलाई ‘विचित्र’को संज्ञा दिए । उनले कांग्रेस विचार सिद्धान्तमा उभिएर गरिने राजनीतिको ट्रयाकबाट ‘डिरेल’ भएको भन्दै पार्टी नै कठिन मोडमा गुज्रिरहेको बताए । यस्तो गठबन्धनमा पनि सिट बाँडफाँटमा कांग्रेसले आवश्यकता भन्दा लचिलो बनेर छोड्दै गए त्यसले विद्रोह निम्त्याउने चेतावनी दिए । 

“यो पवित्र हो कि अपवित्र गठबन्धन, निर्वाचनपश्चात् मात्र थाहा हुन्छ । आजै भन्न सक्ने अवस्था छैन । अहिले तपाईंहरूले सोध्नुभयो भने पनि म भन्न सक्दिनँ । तर, गठबन्धनमा रहेका चार दलको सिद्धान्त र विचार कांग्रेससँग मिल्दैन,” डा. शेखरले भने, “कांग्रेसले बहुमत ल्याउन कम्तीमा १०० सिटमा चुनाव लड्नुपर्छ, त्योभन्दा सिट संख्या कम भए पार्टीभित्र विद्रोह र विग्रह हुन्छ ।” 

उनले त्यसो भन्दै गर्दा आफूलाई अगाडि भने राखेका छैनन् । उनले आफैँले विद्रोह गर्छु भनेका हुन्, उनको समूहले विद्रोह गर्छ भनेका हुन् वा कार्यकर्ताको तहबाट विद्रोह हुन्छ भन्ने कुरा भने खुलाएका छैनन् । 

हुन त डा. शेखरको यो चेतावनी पहिलो भने होइन । उनले स्थानीय तहमा निर्वाचनअघिको बहसमै गठबन्धन गर्न नहुने बरु पार्टीभित्र न्यायोचित टिकट वितरणमार्फत पार्टी एक बनाए कांग्रेसले एक्लै बहुमत ल्याउने बताएका थिए । 

पार्टी केन्द्रीय समिति बैठकमा उनले लिखित र मौखिक दुवै धारणा राखे पनि केन्द्रीय समितिले उनको धारणालाई महत्वको ठानेन । त्यही केन्द्रीय समिति बैठकले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गर्यो । 

गठबन्धनको विपक्षमा रहेका उनले पार्टी निर्णय मान्ने भन्दै कार्यकर्तालाई निर्वाचनको तयारीमा गाउँगाउँ जान आह्वान गरेका थिए । अहिले उनले गठबन्धनको विपक्षमा मत राखेका छैनन् । गठबन्धनका विपक्षमा आफू नरहेको भन्दै कांग्रेसले लिने सिट भने भने एक सय भन्दा कम हुन नहुने उनको अडान छ । भने, सयबाट पनि घटाए विद्रोह हुने बताइरहेका छन् । 

शेखरले भनेको विद्रोह कस्तो ? 

डा. शेखर कोइराला गतवर्ष मंसिरमा भएको १४औँ महाधिवेशनबाट पार्टी सभापतिमा देउवासँग चुनाव लडेका नेता हुन् । दोस्रो चरणमा शेरबहादुर देउवाले उनलाई पराजित गर्दा उनले ४०.७५ अर्थात् झण्डै ४१ प्रतिशत मत पाएका थिए । 

कांग्रेसभित्र गुटीय राजनीतिमा पार्टीले पाउने सबै अवसरमा संस्थापन र संस्थापनइतिरबीच ६०/४० को भागबन्डा नौलो विषय होइन । 

महाधिवेशनमा पराजित भएपछि शेरखले आफू भागबन्डाको पक्षमा नभएर न्याय र एकताको पक्षमा भएको भन्दै देउवासँग भाग माग्न नजाने बताएका थिए । तर, देउवाले कुनै पनि निर्णय प्रक्रियामा सोध्ने नगरेको र पार्टी मिलाएर लैजान नखोजेको भन्दै केही महिना अघि पार्टीमा र पार्टीबाट प्रतिनिधित्व गर्ने सबै ठाउँमा ४० प्रतिशत दाबी गर्ने निर्णय शेखर समूहले गरेको छ । 

हुन त नेपाली कांग्रेसको स्थापनाकालीन समयदेखि नै दुईवटा समूहको अस्तित्व रहेकाले उनीहरूबीच घोषित अघोषित भागबन्डा हुँदै आएको छ । 

११औँ महाधिवेशनपछि नेपाली कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) एकता भएपछि भने ६०/४० को भागबन्डा संस्थागत अभ्यासकै रूपमा अघि बढेको थियो । १२औँ महाधिवेशनलाई एकता महाधिवेशन भने पनि देउवा सभापतिमा पराजित भएपछि उनले ४० प्रतिशत हिस्सा आफूले प्रयोग गर्दै आएका थिए । १३औँ महाधिवेशनमा देउवा रामचन्द्र पौडेललाई हराएर एकीकृत कांग्रेसको सभापति बने । सभापति बनेपछि देउवा पक्षले पौडेल पक्षलाई ४० प्रतिशत भाग दिँदै आएको थियो । 

गतवर्ष मंसिरमा भएको महाधिवेशनबाट देउवा पुनः निर्वाचित हुँदा उनले झण्डै ५९ प्रतिशत मत पाएका थिए । त्यसवेला करिब ४१ प्रतिशत मत पाएका शेखरले अहिले ४० प्रतिशत सिट आफूले पाउनुपर्ने दाबी गरेका छन् । 

स्रोतका अनुसार शेखर समूहले ५० प्रतिशत हिस्सा टिकटका लागि सिफारिस गर्नेगरी ५० जनाकै सूची तयार पारेको छ । शेखर समूहले ४० प्रतिशत नै पाउँदा पनि ५० सिट लिन कांग्रेसले १२५ सिट पाएको हुनुपर्छ । अन्यथा उनको दाबीअनुसार सय सिट कांग्रेसले लिँदा पनि उनको समूहले पाउने सिट ४० मात्र कायम हुन्छ । 

कांग्रेसले चुनावमा गठबन्धन नगरे नराम्रो हार बेहोर्ने र विगतमा भन्दा कमजोर हुने विश्लेषण भइरहेको छ । सभापति देउवाले त सार्वजनिक रूपमै यो कुरा बताउँदै आएका छन् । यस्तो बेला शेखरले किन विद्रोहको कुरा गर्दैछन् त ? 

शेखर निकट नेता गुरुराज घिमिरे कार्यकर्ता तहबाट हुनसक्ने विद्रोहले पार्टीलाई कमजोर बनाउने भएकाले यसप्रति नेता शेखरले नेतृत्वलाई सचेत गराएको बताउँछन् । 

“पार्टीमा १६५ हैन २०० भन्दा बढीनै चुनाव लड्न योग्य साथीहरू हुनुहुन्छ । तर, विडम्बना हामी ८०–८५ सिटमा चित्त बुझाएर गठबन्धन गर्ने तहमा पुगेका छौँ,” घिमिरेले बाह्रखरीसँग भने, “यति कम सिटमा सहमति भए कार्यकर्ता वा तल्ला तहको नेताहरूबाट विद्रोह भयो भने कसरी रोक्न सकिन्छ भन्ने चिन्ता उहाँले व्यक्त गर्नु भएको हो ।” 

उनले विद्रोह गर्नेले भनेर वा सोधेर विद्रोह नगर्ने बताए । “पार्टी व्यवस्थापन गर्नेले क्षमता गुमाए निम्तिने विद्रोहलाई कसरी रोक्ने हेनुपर्छ,” घिमिरेले भने । 

२०७४ सालको निर्वाचनबाट कांग्रेस प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको थियो । वाम गठबन्धन नामकरण गरेर एमाले र माओवादी मिलेर चुनाव लड्दा त्यसको क्षति कांग्रेसले बेहोरेको थियो । 

अघिल्लो प्रदेश र प्रतिनिधि सभा चुनावमा लजास्पद परिणाम बेहोरेको कांग्रेसले गत पाँच वर्षमा आफूलाई सुधार्ने आवश्यकता भन्दा चुनाव हार्नुको मुख्य कारण कम्युनिस्ट एकता भएको दोहो¥याइरह्यो, सभापति देउवाले त कुनै पनि भाषणमा छुटाएनन् । 

अहिले अवस्था फेरिएको छ । वाम गठबन्धन र एमाले–माओवादी एकता टिकाउन नसक्दा नेपाल कम्युनिस्ट पार्टीमात्र होइन एमाले पनि विभाजित अवस्थामा छ । त्यसैको परिणामस्वरूप स्थानीय तहको निर्वाचनमा कांग्रेस  पहिलो दल बनेको छ । त्यसकारण गठबन्धनमै चुनावमा जाने विषयमा यसपटक फरक मत राख्ने अवस्थामा शेखर छैनन् । तर, उनले गठबन्धनमा कांग्रेसले सय सिट लिनैपर्ने पक्षमा मत राखिरहेका छन् । 

कांग्रेसले सय सिट नलिए पार्टीको साख कमजोर हुने र कार्यकर्ता र मतदाताबाट विद्रोह भए त्यसले गठबन्धनसँगै पार्टीलाई थप क्षति पु¥याउने शेखर समूहका नेता रामकृष्ण यादवको भनाइ छ । 

“नेपाली कांग्रेस देशको पहिलो शक्ति हो । देशभर कांग्रेसको पक्षमा माहोल छ । त्यसकारण हामीले सिट बाँडफाँट गर्दा सय सिट घट्नु हुँदैन, घट्यो भने नेता कार्यकर्ता व्यवस्थापनमा समस्या हुन्छ । विद्रोह र कलह पार्टीमा हुन्छ भनेर उहाँले भन्नुभएको हो,” यादवले भने, “पार्टीभित्र टिकट दिने कार्य न्यायोचित भएन भने समानुपातिकमा पनि मत कम आउँछ । त्यसकारण न्यायोचित टिकट वितरणका लागि उहाँले ध्यानाकर्षण गनुभएको हो ।” न्यायोचित टिकट वितरण भएन भने शेखर समूहले विद्रोह गर्ने हो भन्ने प्रश्नलाई यादवले अस्वीकार गरे । 

न्यायपूर्ण ढंगले पार्टी अघि नबढे नेता वा समूहले होइन कार्यकर्ता र मतदाताले विद्रोह गर्नसक्छन् भन्ने डर भएको उनले बताए । 

“उहाँले आफू वा आफ्नो समूहले विद्रोह गर्छ भन्नु भएको हैन । यो गलत बुझाइ तल्लो तहसम्म नजाओस्,” यादवले भने, “उहाँले त कार्यकर्तामा भएको असन्तुष्टिले गर्दा उनीहरूले विद्रोह गर्छन् भन्नुभएको हो । उहाँले गम्भीर विषय उठाउनु भएको छ जसलाई नेतृत्वले आत्मासात् गर्नुपर्छ ।”

तर, नेता गुरूराज घिमिरे त पार्टीभित्र न्यायोचित टिकट वितरण नभए, जित्ने उमेदवारले टिकट नदिएर समूगत स्वार्थ हाबी भए चुनावी प्रक्रियामै एउटा समूहले भाग नलिनसक्ने बताउँछन् । 

“पार्टी नेतृत्व र शीर्ष नेतृत्वबाट त विद्रोह हुने केही सम्भावना छैन । विद्रोह भए कार्यकर्ताबाट हुने हो । त्यो कसरी रोक्ने भन्ने कुरा चाहिँ जटिल विषय हो,” नेता घिमिरेले बाह्रखरीसँग भने, “६०–४० भएन भने यहाँ नेताहरूले चुनाव नै नलड्ने भन्नुभएको छ । हामी नलड्ने तपाईं एक्लै चुनाव लड्नुस् भन्नुभएको छ । उहाँहरूले त्यस्तो भन्नुभएको छ भन्ने सुन्नमा आएको छ । त्यसलाई टिमकै कुरा मान्नु पर्ला ।”

संस्थापन टिममा फरक–फरक बुझाइ

केही दिनअघि आफ्नै सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले गठबन्धनको विपक्षमा नबोल्न सबैलाई निर्देशन दिएका थिए । 

त्यही दिन देउवाले गठबन्धन कार्यदललाई ८६ सिट कांग्रेसलाई राखेर चित्त बुझाउन अर्को निर्देशन दिएका थिए । 

सभापतिले जे निर्देशन दिए पनि शेखरले भने सय सिटको बटमलाइन कांग्रेसले बनाउनु पर्ने र त्यो भन्दा मुनि सम्झौता गर्न नहुने पक्षमा वकालत गरिरहेका छन् । 

बिहीबार शेखरले दिएको अभिव्यक्तिलाई संस्थापन पक्षले भने फरक–फरक कोणबाट प्रतिक्रिया जनाइहेको छ । 

शेखरसँगै सभापति भिडेका कल्याण गुरुङ शेखरको अभिव्यक्तिलाई पार्टी अनुशासन विपरीत मान्छन् । सभापतिमा चुनाव लडे पनि देउवाबाट केन्द्रीय सदस्य मनोनीत भएका उनी निर्वाचनको सम्मुखमा यस्ता अभिव्यक्तिले कार्यकर्तामा नकारात्मक असर पर्ने बताउँछन् । 

“गठबन्धनको निर्णय गर्ने बेलामा केन्द्रीय समिति बैठकमा उहाँले ‘नोट अफ डिसेन्ट’ लेख्नुपर्थ्यो । नोट अफ डिसेन्ट लेख्न नसक्ने अनि अहिले आएर विद्रोह हुन सक्छ भन्नु गलत हो,” गुरुङले बाह्रखरीसँग भने, “सुरुवातमा भागबन्डा गठबन्धनको दलभित्र मिल्नुपर्छ । अहिले पार्टीमा उहाँले भागबन्डा खोज्ने र पार्टी नीतिविपरीत अभिव्यक्ति दिने समय होइन । अहिले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्छ । त्यसले मात्र पार्टीको वजन बढाउँछ, बार्गेनिङ क्षमता बढाउँछ ।” 

उनले पार्टी एक भएर गए संघदेखि सातै प्रदेशमा कांग्रेसको सरकार बन्ने भन्दै पार्टीभित्रै अलग–अलग दृष्टिकोण आउन थाले पार्टीको ‘बार्गेनिङ पावर’ घट्ने दाबी गरे ।

तर, देउवा समूहकै नेता रामहरी खतिवडा भने शेखरको अभिव्यक्तिलाई दबाबको रूपमा अर्थ्याउँछन् । उनी कोइरालाको अभिव्यक्तिलाई सिट बाँडफाँट गर्ने तहमा रहेका नेताहरूलाई दबाब दिने अभिव्यक्तिको रूपमा लिनुपर्ने बताउँछन् । 

“अहिले कार्यकर्तामा सिट जति अन्य दलहरू र विशेषतः माओवादीलाई सबै सिट दिएर पार्टीलाई कमजोर बनाउन खोजिएको हो कि भन्ने भय छ । त्यसकारण जथाभाबी सम्झौता नगर, कांग्रेसको विगतको भूमिकालाई र अहिलेको अवस्थालाई पनि पनि मूल्याङ्कन गर भनेर दबाब दिनुभएको हुनसक्छ,” खतिवडाले बाह्रखरीसँग भने, “अहिले पार्टीमा कुनै विद्रोह हुने सम्भावना छैन । पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ । उहाँको अभिव्यक्तिले पार्टीलाई कमजोर बनाउने प्रयास होइन कि सिट बाँडफाँट गर्नेहरूलाई पनि सचेत गराउन त्यस्तो अभिव्यक्ति दिनुभएको हुनसक्छ ।”

पार्टीको सिट बढाउन नेतृत्वलाई दबाबको अनिवार्यता संस्थापन पक्षकै नेताहरूले पनि सोचेका छन् । तर, पार्टीभित्र विद्रोह हुन्छ भन्दा जनतामा त्यसको नकारात्मक असर पर्न सक्ने संस्थापन टिमका नेताहरूको बुझाइ छ । 

सभापति देउवानिकट अर्का नेता उदयशमशेर राणा पार्टीभित्र कसैले विद्रोह गर्न नसक्ने बताउँछन् । शेखरको अभिव्यक्तिलाई उनी टिम जोगाउन सिट बार्गेनिङको रूपमा लिन्छन् । 

“उहाँले जित्ने उमेदवारलाई टिकट दिनुपर्छ भन्नुभएको छ । उहाँ पनि दोस्रो भएको पार्टी सभापतिको उमेदवारमा हो । स्वाभाविक रूपमा आफूसँग रहेकालाई टिकट दिलाउने उहाँको पनि जिम्मेवारी हो,” राणाले भने, “उहाँले विद्रोह गर्नु पनि हुन्न, त्यो शक्ति अहिले पार्टीमा कसैको पनि छैन । उहाँले आफूसँग सपोर्टमा रहेका साथीहरूलाई टिकट दिने प्रयास गर्नु उहाँको धर्म पनि हो ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro