काठमाडौं । बाग्लुङ नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा परेको छ ।
बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्का, वडाअध्यक्ष जीवन आचार्य, प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवि उपाध्याय र राजस्व शाखा सदस्य–सचिव काशिराम शर्मासहित ५ जना विरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा परेको हो ।
उनीहरु पाँच जनाविरुद्ध प्रदेश सरकारको कानुनविपरीत करको दरमा छुट दिएर राजस्व संकलनमा हानिनोक्सानी पु¥याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेको थियो ।
उक्त विषयमा अनुसन्धान गर्दा नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानुनविपरीत ठेक्का लगाएको पुष्टि भएको अख्तियारको दाबी छ ।
प्रदेश सरकारको नियमविपरीत करको दर घटाएर राजस्व संकलन गरी नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनीहरुमाथि आयोगको ऐन २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सजाय दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।