गत वर्ष असोजमा सार्वजनिक महाकाव्य ‘अग्नि’ यो वर्षको मदन पुरस्कार विजेता कृति हो । यसले मदन पुरस्कारसँगै पाँच इनाम जितिसकेको छ । रुमानी परिकल्पनामा अक्सर सतही विषयलाई साहित्यले केन्द्रमा राखिरहेका बेला समाजको पिँधमा सदियौँदेखि पिल्सिएर बसिरहेको जातीय विभेदको विषय अग्निले उठान गर्यो । आरनबाट देशलाई हेर्ने र त्यहीँबाट आफ्ना कुरा राख्ने अग्निले यो वर्षभरिका कृतिलाई पछि पार्यो । समकालीन समाजको गहिरो विषयवस्तु सरल भाषा र सहज शैलीमा यथार्थ पस्किँदा अग्निले आफ्नो दरिलो उपस्थिति जनायो । लेखकले दिमागमा यसको विषय वर्षौँ बोकेर हिँडे । जब लेख्न कस्सिए, उनीसँग केही प्रसंग ठोक्किन आइपुगे । त्यसले केही निजी अनुभूति जन्माइदियो । र, त्यो अनुभव र अनुभूति अग्निलाई ‘फाइनल टच’ दिँदा मिसाउन मिल्यो । उनै अग्निका लेखक डा. नवराज लम्सालसँग यसको विषय, मदन पुरस्कार प्राप्ति र यसबीच निजी जिन्दगीका केही सन्दर्भबारे बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :
० ० ०
अग्नि मन पराइनुको कारण ?
गएको असोजमा अग्नि सार्वजनिक भयो । त्यसयता यसमा केन्द्रित भएर धेरै समालोचना, टिप्पणी, समीक्षा आएका छन् । यसमा उहाँहरूले विषयवस्तु र काव्य लेख्ने भाषा नयाँ भएको बताउनुभएको छ । महाकाव्य भन्नेबित्तिकै प्राञ्जल भाषा, संस्कृत र क्लिष्ट भाषा हुनैपर्छ भन्नेजत्तिकै थियो । तर, यसले कविले भन्न खोजेको कुरा गम्भीर भए पनि सरल भाषामा भनेको भन्ने टिप्पणी आएको छ । युवालाई बुझ्न सहज छ भन्ने कुरा आयो । तेस्रो कुरा, अहिलेसम्म बार्दलीमा बसेर विचरा दलित, विचरा मधेसी, विचरा महिला भनेर कठैको भावमा माथिबाट हेरेर तलको कथा लेखियो । तर, यसमा आफ्नो समुदायको कथा पात्र आफैँले बोलेको छ । यो शैलीमा पनि नयाँपन आयो भन्ने प्रतिक्रिया आएको छ ।
म तन्नेरीहरूद्वारा माया गरिएको पात्र हुँ । यसै वर्ष मैले मदन पुरस्कारसहित पाँचवटा पुरस्कार प्राप्त गरेँ । यति प्राप्त गर्नुमा, तन्नेरी पात्रहरूले जस्तो जाने त्यस्तै लेखे । जस्तो जान्दछन् त्यस्तै समीक्षा र समालोचना लेखे । किताब पढेपछि जे मन पर्यो त्यही लाइन निकाले र सामाजिक सञ्जालमा पोस्ट गरे । तर, ‘म नवराज दाइको अग्नि पढ्दै छु’ भनेर लेखे । नयाँपुस्ताले यति धेरै सामाजिक सञ्जालमा लेखिदिनुभयो, मभन्दा कम उमेरका भाइहरूले मलाई माया गर्दैगर्दै यहाँसम्म ल्याइदिनुभएको हो । अग्रज पुस्ताको नजर ममाथि कम थियो । अब हेरौँ, के हुन्छ ।
अग्रज पुस्ताले नजरअन्दाज गरेको अथवा हेपिएको वा लखेटिएको कवि हो तपाईं त्यसो भए ?
अघिल्लो पुस्ताले त्यति धेरै महत्त्व नदिएको हो । उनीहरूले मलाई रेडियो नेपालको कार्यक्रम सञ्चालक, पत्रकार, बीबीसीको रिपोर्टर मात्रै सम्झिए । रेडियोको कार्यक्रम सञ्चालकको लोकप्रियताको प्रभाव मेरो साहित्यमा पर्यो । अग्रज पुस्ता एकाधबाहेक कसैले पनि नवराज लम्सालमाथि समीक्षा गरेको मलाई सम्झना छैन । गोविन्दराज भट्टराई, अभि सुवेदी र दिनेश अधिकारीबाहेक कसैले मेरा रचनाबारे केही लेखेजस्तो लाग्दैन । ठूला कवि, साहित्यकार, समालोचकले मलाई प्रेम गरेको अनुभूत मैले गरेको छैन । जबकि, अनुज पुस्ताका कैयौँ मूल प्रवाहमा रहेका तन्नेरीहरूले मेरा कविता र गीतलाई आदर्श मानेर ‘दाइ, तपाईं जस्तै लेख्छु’ भन्नेहरू हुनुहुन्छ । म जहाँ छु आज यो पाका र अग्रजहरूको प्रेरणा र आशीर्वादले होइन । तन्नेरीहरूको हार्दिकताले हो ।
दलित समुदायको विषय नै उठान गर्नुको कारण ?
यसमा तीनवटा कुरा छ । इतिहास, भूगोल र संस्कृतिमा टेकेर लेख्नुपर्छ भन्ने मेरो मान्यता छ । रुमानी कल्पना र अन्टसन्ट लेख्नु हुँदैन भन्ने मेरो धारणा छ । इतिहास, भूगोल र संस्कृतिको जगमा टेकेर समय, संवेदना र समाज लेखेपछि मात्रै नेपाली साहित्य हुन्छ भन्दै आएको छु म ।
मैले अग्निमा आएर धार परिवर्तन गरेको होइन । कर्णमा पनि सिमान्तकृत पात्र खोजेको थिएँ । बाले अर्घ्य चढाएर पूजा गरिरहेको कर्णलाई शक्तिशाली देशको राजदूतजस्तो देखेको थिएँ । दुनियाँले धर्मराज भनेको युधिष्ठिर र पाण्डवलाई मैले लठेब्राहरूजस्तो देखेँ । मलाई कर्ण शक्तिशाली लागेको थियो । तर, कर्ण हेपिएको थियो । धरामा मैले समाजको बहुलता र विविधता लेखेँ । मैले लेख्ने निरन्तरताको यात्रामा अर्को विषय हो, अग्नि ।
तेस्रो, दलित समुदायको कथा हो । तर, कथामा बग्दा दलित समुदायसँगै हाम्रो समाजशास्त्रीय दृष्टिकोण, इतिहासको विश्लेषण पनि हो । एउटा दलित पात्रले आरनमा बसेर देशको धर्म कस्तो देख्छ, यसमा उल्लेख छ । त्यहाँ नवराज लम्साल हावी छैन । म माध्यम मात्रै हुँ, मैले उठाएको पात्र हावी छ । पात्रले आफ्नो कुरा भन्छ । उसलाई मैले उचालेर, तौलिएर हैन, निर्वाध रूपमा आफ्नो कुरा भन्न दिएको छु । मेरो पात्रले आरनमा बसेर देशको धर्म, संस्कृति र भूगोल हेर्छ । देशको शासनसत्ता र भूगोल हेर्छ । कथा दलित समुदायको भएर बग्छ । तर, समग्रमा देशको प्रतिनिधित्व गर्छ । देशको एउटा मूल प्रवाहको मूल्यांकन गर्छ ।
अग्नि लेख्दै गर्दा यो उचाइ हासिल गर्ला भन्ने लागेको थियो ?
त्यसरी मैले सोच्दै सोचिनँ । तर, मैले नढाँटी भन्नुपर्छ, मलाई पुरस्कारको केही रहर कर्णमा थियो । धेरैले कर्णमा यो भनेका पनि थिए । अलिअलि रहर धरामा पनि थियो । तर, त्यो पनि भएन । किन भएन, त्यो म जान्दिनँ । र, मेरै हुनुपर्छ भन्ने मेरो दाबी पनि होइन । पुरस्कार र मेरो दूरी अलि टाढै थियो भन्ने लागेको थियो ।
अग्निबाट मदन पुरस्कार नै जित्छु भन्ने अपेक्षा थियो ?
अहिले पाँचवटा पुरस्कार पाएको र पद्यमश्रीको उत्कृष्ट पाँचको सूचीमा पनि परेपछि ए हुन्छ कि क्या हो भन्ने मनमा परेको थियो । तर, पुरस्कार पाउँछ नै भन्ने अपेक्षा र आग्रह थिएन ।
लेखकले लेख्दै गर्दा पुरस्कारको लोभको भोक हुँदै हुँदैन ?
त्यस्तो हुँदैन । पुस्तक निस्किएर बजारमा आएपछि त्यसको चर्चा हुन सुरु भएपछि केही अपेक्षा हुन्छ होला । तर, लेख्दै गर्दा लेखक विषयवस्तुमा नै निर्लिप्त भएर डुबिरहन्छ । म कर्ण लेख्दा त्यसमै निर्लिप्त भएर विषयवस्तुमै डुबेको थिएँ । म जहाँ जाँदा पनि मेरो पात्र कर्ण भनेर मुसारिरहेको हुन्थेँ । धरामा पनि त्यही नै भयो । अहिले अर्कै पात्र मेरो दिमागमा छ । लेख्दै गर्दा मलाईजस्तै अरूलाई पनि होला भन्ने लाग्छ । तर, निस्किएपछि कहीँ कतै त्यस्तो देखिए पनि राम्रा लेखकले त्यो अपेक्षा गर्छन् भन्ने लाग्दैन । पाएकोलाई सहज रूपमा ग्रहण गर्छन् होला भन्ने लाग्छ ।
अग्निले दलितको विषय उठान नगरेको भए यो सफलता पाउँथ्यो होला ?
यो विषय उठान नगरेको भए अर्कै विषय उठान हुने थियो । अर्कैै विषय योजति संवेदनशील नहुन पनि सक्थ्यो । लेखेकले समय, समाज र संवेदना लेख्ने हो । मुलुकको मूल मुद्दा लेख्ने हो । ०६२/०६३ को जनआन्दोलनपछि भएको परिवर्तन, समाजवादोन्मुख संविधान आएपछि पनि समाजमा जटिलता छ । छुवाछूत र विभेद कायम छ । जातीय र आर्थिक शोषणको समस्या छ । लोककल्याणकारी राज्य हुन सकेको छैन । सबैतिर निराशा र कुण्ठा छ । त्यो विषय लेख्नु थियो । ठिक समयमा ठिक विषय लेखेँ कि भन्ने थियो ।
पारिवारिक रूपमा यो विषय जोडिन नआएको भए यही समय यो विषयले अग्निमा ठाउँ पाउँथ्यो ?
पाउँथ्यो । यो ०५७ सालदेखि लेख्न थालेको थिएँ । यसमा लुकाउनुपर्ने कुरा केही छैन । फाइनल टच दिने बेला केही पारिवारिक कारणहरूले विषयवस्तुमा गम्भीर हुन सघायो । पारिवारिक घटनालाई मैले ठूलो रूपमा लिइनँ, तर समाजले लियो । मेरा कतिपय नातागोता र इष्टमित्रले यसलाई ठूलो रूपमा लिए । तर, मेरो आफ्नै परिवारले भने ठूलो रूपमा लिएन । मैले दिमागमा जुन चेतना खेलाउँदै आएको थिएँ, मैले ३० वर्षदेखि रेडियो नेपालमा जे बोलिरहेको थिएँ, काव्यमा जे लेखिरहेको थिएँ, व्यवहारमा त्यही भएको हो । त्यसैले मैले त्यसलाई ठूलो रूपमा लिइनँ, तर समाजले लियो ।
मेरो एकजना आफन्तमा बुवा इन्जिनियर र छोरो डाक्टर छन् । छोराको बिहे थियो । मलाई पनि बोलाइयो । ‘जन्ती जान त तिमी व्यस्त मान्छे, भ्याउँदैनौ’ भनेर बोलाइन, ‘भोजमा चाहिँ आऊ है’ भने । भोज कहाँ छ भनेर मैले सोधेँ । उहाँले ‘मलाई ठाउँको नाम थाहा छैन, म पछि फोन गर्छु’ भन्नुभयो । म फोन कुरेर बसेको थिएँ । तर, फोन आएन । भोेजमा सबै आफन्त भेला भए । तर, मलाई नदेखेपछि एकजनाले सोधेछन्, ‘नवराज खोइ ? बोलाएको छैन कि क्या हो ?’ उनले भनेछन्, ‘किन नबोलाउनु, बोलाएको थिएँ । रेडियो नेपालको हाकिम, ठूलो साहित्यकार कहाँ आउँछ ।’ मलाई त्यहीँबाट एकजना मित्रले फोन गरेर ‘किन नआएको ?’ यसो भन्दै छन् भनेर सोधे । तर, भोज कहाँ हुँदै छ भनेर मैले सोध्दा पनि भनिएन त म कसरी जाऊँ ? यो खालको चेतना समाजमा छ । तर, यसमा पनि मलाई केही गुनासो छैन । यद्यपि, यी स–साना घटनाले मलाई कतै न कतै छोएको हुनसक्छ । पुस्तकमा मेरो पात्रले व्यक्त गर्ने अभिव्यक्तिमा कहीँ न कहीँ अभिव्यक्त भएर आयो होला ।
आफन्तकै त्यो र त्यस्ता घटनाले विचलित बनाएन ?
जस्तो बोल्यो त्यस्तै लेख्यो, जस्तो लेख्यो त्यही जीवन नवराज लम्सालले बाँच्यो भन्ने मेरो पहिचान बन्यो । मेरो निजी जीवनमा मैले कहिले आफन्तको प्रहार सहेँ, कहिले समाजको प्रहार सहेँ । त्यसलाई सहेर हिँडे । तर, नवराज लम्साल दुइटा भएर बाँचेन । म कहिल्यै विचलित भइनँ । मेरो आशाको दियो कहिल्यै निभेन । अप्ठ्यारा र जटिलता आए, तर त्यसलाई सहेँ ।
म कट्टर पुरोहितको छोरो हुँ । पुरोहित र ज्योतिषी बाउनको छोरो हुँ । म आफैँ जजमानी गर्दै हिँडेको पुरोहित हुँ । मेरो घरमा जे घटना भयो, त्यही घटनाका कारण ८० वसन्त पार गर्नुभएका मेरा बालाई म छोड्न सक्तिनँ थिएँ । मैले दुःखले बढाएर, पढाएर हुर्काएकी छोरी हो । सुनौलो भविष्य बोकेर हिँडेकी छोरीको सपनाको हत्या पनि गर्न सक्तिनँ थिएँ । कान्छो पुस्ताको सपना फुलाउनु थियो । जीवनको उत्तरद्र्धमा पुगेका बुवाको मन दुखाउनु पनि थिएन । त्यसैले त्यो बेला सन्तुलन मिलाउन मलाई निकै जटिल थियो । त्यो समय जो महिला र दलितका लागि काम गरेको हुँ भन्थे, उनीहरूले मलाई छुट्टै भेटे । मेरी श्रीमती र बुवालाई छुट्टाछुट्टै भेटे । छोरीसँग छुट्टै भेटेर ‘आफूले रोजेको मान्छेसँग विवाह गर्नुपर्छ’ भने । मलाई भेटेर ‘उनीहरूको गम्भीर प्रेम केही होइन, हल्ला मात्रै हो, मेरो भान्जो विदेशमा छ, म झिकाउँछु, ऊसँग छोरीको बिहे गरिदिऊँ’ भने । श्रीमतीलाई भेटेर ‘नवराज दाइको सार्वजनिक छवि छ र सबैले स्वीकार्ला, तपाईंको त तिज, तिहार आउला, यसो हुन नदिनुस्’ भने । त्यही मान्छेले बुवा र आमालाई भेटेर ‘बा, तपाईंको छोरो बौलायो कि क्या हो, पुरेतको घरमा के हो यस्तो ?’ भनेर उकासे । एउटै मान्छे तीनचारवटा रूप लिएर खेले । यहाँ कोही महिला अधिकार र दलित अधिकारका लागि लड्नेभन्दा पनि विषयलाई उचालेर त्यसमा आफ्नो रोजीरोटी खोज्नेहरूको भीड रहेछ । विषयलाई गिजोलेर बाहिर ल्याउने र त्यसमै खेल्नेहरूको खेतीपाती नै यही रहेछ । पहिचान भएका मान्छेको त समाजमा यस्तो छ, आम मान्छेको हालत के होला भनेर यसलाई धन्दा बनाएर बस्नेको ठूलो जमात रहेछ । जो जानेबुझेको र पढेलेखेको छ, जो समाज परिवर्तनको ठेक्का लिएर हिँडेको छ, उसबाट बच्नचाहिँ मलाई कठिन भयो । अनि, म झल्याँस्स बिउँझिएँ, यो समाज त भ्वाङ परेको समाज पो रहेछ । जे होस्, जस्तो होस्, तर भित्र एउटा र बाहिर एउटा भएर बाँच्न चाहिनँ । मलाई लाग्यो, क्षमतावान् मान्छे मारियो भने ऊ आफ्नो क्षमताकै कारण मारिन्छ । म मारिन तयार छु, तर द्वैध चरित्र लिएर बाँच्दिनँ भन्ने निर्णय गरेँ ।
मदन पुरस्कार पाएको खबर सुन्नेपछि अग्निलाई हातमा लिएर मायाले सुम्सुम्याउनुभयो ?
त्यति बेला मलाई शून्य भएको महसुस भयो । कर्ण र धराको चर्चाका कारण मलाई त्यो बेला केही आस थियो । तर, त्यो नभएपछि योपटक मलाई त्यति धेरै आस थिएन । शून्यजस्तो पनि भयो । वाउ ! जस्तो पनि भयो । खुसी भएँ । त्यसपछि मैले अग्नि नै सम्झिइनँ । मैले निजी जिन्दगीका केही कुरा सम्झिएँ । निजी अप्ठ्यारा सम्झिएँ ।
जस्तै ?
मेरी छोरीको अन्तरजातीय विवाह भएको कुरा जगजाहेर छ । बिहीबार तपाईंसँग कुरा गरिरहेको छु । भोलि (शुक्रबार) नातिनी सात वर्ष प्रवेश गर्छिन् । आज निस्किने बेला भन्दै थिइन्, ‘छतमा राखेर पौडी खेल्ने सानो स्विमिङ पुल ल्याइदिनुस् ल ।’ म ‘हुन्छ’ भनेर तपाईंसँग भेट्न आएको छु । नातिनी मैसँग छिन् । मेरो घरमा हुर्किरहेकी छिन् । योबीचमा मेरा केही नातालाई छोडेर जसले समाजमा नाम र प्रतिष्ठा बनाएका छन्, ती मान्छे मेरो घरमा आजसम्म फर्किएका छैनन् । तर, जसको समाजमा नाम छैन र साधारण लेखपढ मात्रै गरेका छन्, उनीहरू भने आइरहेका छन् । म र मेरी छोरीसँग, नातिनीसँगै बसेर खाइरहेका छन् । तर, जसको समाजमा नाम र इज्जत छ, ऊ दुइटा मान्छे भएर, दुइटा चरित्र देखाएर बाँचिरहेको छ । बाहिर समानता, अधिकारका चर्का कुरा गर्ने, ठूला घर बनाएका र गाडी चढ्ने इज्जत कमाएका मान्छेले मेरो घरको दैलोको सँघार नाघेका छैनन् । यसमा मेरो आपत्ति हैन । तर, कम्तीमा दुइटा जिन्दगीचाहिँ नबाचौँ भन्ने हो, जसले समाजलाई भ्रममा राखेको छ । जे बोलिन्छ त्यो गरौँ । देख्नलाई एउटा, तर यथार्थमा अर्कैै कुरा नगरौँ भन्ने मेरो भनाइ मात्रै हो ।
मैले ३० वर्ष रेडियो र आफ्ना काव्यमार्फत जे वकालत गरेँ, जिन्दगीमा त्यही बाँचे । यो मेरा लागि सौभाग्य पनि हो । बोले र लेखेजस्तै जीवन बाँच्न पाउनु मेरा लागि अहोभाग्य हो । मैले दुइटा जिन्दगी बाँच्नु परेन । म यसमै खुसी छु । यी कुरा मैले सम्झिएँ । यो खबर पुग्दा उनको मनमा के लाग्छ भन्ने सम्झिएँ ।
तीन दशकपछि महाकाव्यले मदन पुरस्कार पायो । यो लामो समय स्तरीय महाकाव्य लेखिएन ?
महाकाव्य लेखिरहेका छन् । राम्रै महाकाव्य पनि लेखिरहेका छन् । तर, तिनले उठाएका विषय समाजले सिधै पक्रिएन कि ? अथवा, आजको पाठकले बुझ्ने भाषा भएन कि ? लेखकले लेख्ने विषय लेखकको आफ्नै हुनुपर्छ, तर भन्ने भाषा र शैली पाठकलाई छुने हुनुपर्छ । सायद यी कुरामा हामी कतै चुक्यौँ कि ?
महाकाव्य लेखन विधा नै ओझेलमा पर्यो, त्यसैले प्रोत्साहनका लागि पनि पुरस्कार दिनुपर्छ भन्ने सोच पनि छ हाम्रो साहित्यजगत्मा ?
यस्तो सोच छ भन्ने मलाई लाग्दैन । यो उदारता, हार्दिकता छ भन्ने लाग्दैन । र, बलियो पुस्तकलाई नै पुरस्कार दिइनुपर्छ भन्ने मेरो मान्यता पनि हो । कुनै व्यक्ति र विधाको असशक्ततालाई हेरेर, कुनै समुदायको असशक्ततालाई हेरेर पुरस्कार दिइनु हुँदैन । काव्यको विशिष्टता नै पुरस्कार पाउने आधार बन्नुपर्छ ।
महाकाव्य लेखनमा कविहरू किन अल्छी भए ?
जटिल विधा हो यो । साधना पनि चाहिन्छ । पाठक कम हुने खतरा पनि छ यसमा । प्रकाशक पाइहाल्न पनि जटिल छ जस्तो लाग्छ । भलै, मेरो हकमा त्यो समस्या भएन । बुकहिलले प्रेमपूर्वक छापिदियो । अरू विधामा पनि साधना, शोध र दुःख नगरी लेख्न सकिन्न । तर, महाकाव्यले खोज्ने ओझ, विषयवस्तुको गम्भीरता, दार्शनिक पक्ष, जीवन र जगत्को सम्पूर्ण पक्षको गहिराइमा पुग्न सहज छैन । कवितामा एक झिल्को मात्रै भए पुग्छ । तर, महाकाव्य हुन भूगोल, भाषा, चिन्तन, भावना, विषय, समय र परिवेश चाहिन्छ । त्यसमा पनि महाकाव्यको फ्रेमवर्कभित्र बस्नुपर्छ । केही मात्रामा लेखकले विद्रोह गरेर सीमाको वरिपरि त घुम्ला, तर पूरै फ्रेमवर्क नै भत्काउन सक्तैन । यो जटिलता पनि एउटा मुख्य कारण भएर आँट नगरेको हो कि भन्ने पनि लाग्छ । अरूले नगरेको मैले गरेँ भन्ने अर्थ नलागोस्, तर मेरो हकमा मैले संस्कृत साहित्य पनि सँगैसँगै एमएसम्म पढेकाले यसमा सहयोग भयो भन्ने लाग्छ । कक्षा–८ देखि नै मैले कालिदासको महाकाव्य कुमार सम्भवको अध्ययन गर्न पाएँ । यसले महाकाव्यप्रति मेरो रस बस्यो । यसकै निरन्तरता हो भन्ने लाग्छ ।
यो विधामा लेखेर दालरोटीको जोहो हुँदैन भनेर पनि धेरैको आकर्षण भएन कि !
हुनसक्छ । बजारमा धेरै बिक्री हुँदैन भनेर पनि हुनसक्छ ।
नेपाली साहित्यको गुणस्तर खस्कियो भन्ने टिप्पणी हुँदै आएको छ । सहमत हुनुहुन्छ ?
यसलाई दुई पाटोबाट हेर्नुपर्छ । विषयवस्तुका हिसाबले यो उर्वर समय हो । शोषण, अन्याय, नारी जागरण, लैंगिक समानता, पर्यावरणका विषयमा लेखकहरूले लेखिरहनुभएको छ । विषयवस्तुका हिसाबले नेपाली साहित्य खँदिलो र भरिलो विषय हो । तर, त्यसको भाषिक प्रवाह र काव्यिक चेत तथा लेखनको कलामा परिष्कार भने आवश्यक छ ।
हामीमा खडेरी समालोचना र समालोचकको छ । विषयमा आएको नयाँपन र लेखनको शिल्पमा सुधार हुनुपर्ने पक्षको बीचबाट रेफ्रीको भूमिका खेल्न सक्ने समालोचकको अभाव छ । कक्षाकोठामा पढाएकै प्राध्यापकीय शैलीको समालोचना भइरहेकाले नयाँपुस्तालाई मैले के लेख्यो भने राम्रो हुन्छ भनेर सन्देश प्रवाह गर्न विद्वत जमात चुकिरहेको छ ।
नेपालमा पठन संस्कृति उचाइमा पुग्दा नपुग्दै ओरालो लाग्यो भन्ने चिन्ता धेरैमा छ । यसले नेपाली साहित्यलाई कता डोर्याउँदै छ ?
यसको कारण छ, धेरै किताब एकै प्रकृतिका विषयमा लेखिए । एउटा पुस्तक बिक्री भयो भने यस्तोचाहिँ बिक्री हुनेरहेछ भनेर त्यस्तै पुस्तक दशवटा लेखिन्छ । आफ्नो मौलिकपन बनाउनुभन्दा अर्को चलेको पुस्तकको स्टाइल पछ्याउने चलन आयो । पढिसकेको विषयमा करिब–करिब उस्तै विषय र शैलीको पुस्तक किन पढ्ने ? यसले पठन संस्कृति घटाएको पक्कै हो । घोस्टराइटिङ ज्यादै बढ्यो । एउटै मान्छेबाट दुईतीन महिना लगाएर निश्चित पारिश्रमिकका लागि लेखिने पुस्तकमा खासै मिहिनेत हुँदैन । र, एउटै व्यक्तिको लेखनशैली आउने भएकाले फरक शैली र शिल्प चाहनेका लागि ती पुस्तक रोजाइमा नपर्नु अर्को कारण हो । उस्तै–उस्तै लाग्ने पुस्तक किन पढ्ने भन्ने भयो । यो लहरमा फरक विषय र प्रस्तुतिसहित आएका पुस्तक पनि किनिन छोडे ।
मदन पुरस्कार पाइसकेपछि अग्निको बिक्री बढ्यो ?
सूचीमा परेपछि नै बिक्री बढ्यो । पाँच हजार छापिएको थियो । करिब–करिब सबै सकियो । दोस्रो संस्करण प्रेसमा छ, अब छ्ट्टिै आउँछ ।
रेडियो कर्मको तीन दशकमा हजारौँ अन्तर्वार्ता लिएको मान्छे अहिले अन्तर्वार्ता दिँदै हिँड्दा कस्तो लाग्दो रहेछ ?
मैले दिनकै तीनचारवटा अन्तर्वार्ता लिएँ । मधुवन मैले २५ वर्षदेखि हप्ताको एक घण्टा साहित्य÷साहित्य भनेर अन्तर्वार्ता गरेको २५ वर्ष पूरा भयो । यो २५ वर्षमा मैले कुन अग्रज साहित्यकार र समालोचकसँग अन्तर्वार्ता गरिनँ होला । कसको किताबको समीक्षा र समालोचना गरिनँ होला । तर, त्यो कोही मलाई कवि स्वीकार्न तयार छैन । त्यो सायद उहाँहरूको कमजोरी पनि होइन होला, मेरो रेडियो कर्मले साहित्यलाई ओझेलमा पारिदिएजस्तो लाग्छ ।
म विषय प्रवेश गर्छु, आफूले अन्तर्वार्ता लिँदा के सोध्ने होला, कति सोध्ने होला, कति समयमा सकाउने होला, विषयबाट बहकिनेलाई कसरी तानेर विषयमा बाँध्ने होला भन्ने हुन्थ्यो । अहिले अन्तर्वार्ता दिन बस्दा म पनि कतै मेरा कतिपय अतिथिले विषयबाहिर बहकिएर कुरा गर्दा मलाई जति सकस हुन्थ्यो, विषयमा फर्काउन त्यही समस्या पो दिने हुँ कि भन्ने लाग्छ । ठिक बाटोमा हिँड्छु कि हिँड्दिनँ भन्ने पनि लाग्छ । तर, अनौठो खुसी लाग्दो रहेछ ।
यो पनि पढ्नुस् : म बौलाएकै हो