site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिमालयन बैंकमा रहेको हबिबको सेयर किन्ने हिमालयन रि–इन्स्योरेन्सको तयारी

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले हिमालयन बैंकमा हबिब बैंकको नाममा रहेको संस्थापक सेयर किन्ने भएको छ ।  बैंकको संस्थापक सेयर किन्ने प्रकृया सुरु गरेको हिमालयन रि–इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले जानकारी दिएका छन् । 

गत जेठ २५ मा सम्पन्न कम्पनीको चौथो वार्षिक साधारणसभामा सेयरधनीको प्रश्नको जवाफ दिँदै अध्यक्ष गोल्छाले हिमालयनमा रहेको हबिब बैंकको दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर किन्ने निर्णय भएको जानकारी गराएका थिए ।

बैंक तथा वित्तीय संस्थाले मुद्धति निक्षेपमा दिने ब्याजदर निरन्तर घटिरहेको अवस्थामा लगानीको प्रतिफल वृद्धि गर्ने तथा लगानीलाई विविधिकरण गर्न हिमालयन बैंकको मुख्य लगानीकर्तामध्ये हबिब बैंकको सेयर खरिद गर्न प्रकृया सुरु गरेको गोल्छाले साधारणसभालाई जानकारी गराएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले प्रक्रिया अघि बढे पनि सम्पन्न हुन बाँकी रहेको जानकारी गराएका छन्  ।

सभामा सेयरधनीहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष गोल्छाले भने “बैंक तथा वित्तीय संस्थाले मुद्धति निक्षेपमा पाउँदै आएको ब्याजदर निरन्तर घटिरहेको अवस्थामा लगानीको प्रतिफल वृद्धि गर्ने तथा लगानीलाई विविधिकरण गर्न हिमालयन बैंकको मुख्य लगानीकर्ता मध्ये हबिब बैंकको संस्थापक सेयर खरिद गर्न प्रकृया सुरु गरेको छ जुन सम्पन्न हुन बाँकी रहेको छ ।”   

कम्पनीको अधिकतम लगानी बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा रहेको र बैंक तथा वित्तीय संस्थाले मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदर निरन्तर घटिरहेको अवस्थामा पुँजी बजारमा लगानी गर्न सेयरधनीले सुझाव दिएपछि अध्यक्ष गोल्छाको यस्तो भनाइ आएको हो ।

पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिन संस्थापक सेयर गत जेठ ३० मा बिक्रीमा राखेको छ । 

हबिबले बिक्रीको सूचना जारी गर्नुअघि नै हिमालयन रि–इन्स्योरेन्सको साधारणसभामा कुरा उठेकाले बैंकको सेयर उसैले किन्ने देखिएको छ । 

हबिब बैंकले हिमालयन बैंकमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर एकमुष्ट बेच्ने भन्दै सूचना जारी गरेको छ । 

हबिबले हिमालयनको संस्थापक सेयर मूल्य प्रतिकित्ता ११२.८० रुपैयाँ तोकेको छ । 

प्रस्तावित मूल्यलाई आधार मान्दा एकमुष्ठ सेयरको मूल्य तीन अर्ब १३ करोड ७३ लाख रुपैयाँ हुन आउँछ । हिमालयनमा हबिबको १२.९३ प्रतिशत संस्थापक सेयर छ ।

हबिबले पहिलो प्राथमिकता हिमालयनका संस्थापक सेयरधनीलाई दिएको छ । हाल कायम रहेका संस्थापकहरुलाई ३५ दिनभित्र सेयर किन्न समय दिएको छ । 

निर्धारित समयभित्र बैंकका संस्थापकले सेयर खरिद नगरे भने मात्र बाहिर रहेका अन्य व्यक्ति वा संस्थाले किन्न पाउने छन् । 

यसअघि हबिबले पटक पटक अनुरोध गर्दा पनि नेपाल राष्ट्र बैंकले हबिबलाई हिमालयनको सेयर बेच्न दिएको थिएन ।  तर, निर्वतमान गभर्नर महाप्रसाद अधिकारीले जाँदाजाँदै हबिबलाई सेयर बेच्न स्वीकृति दिएका हुन् ।

दुई वर्षअघि पनि संसदको अर्थ समितिमा सांसद डा. स्वर्णिम वाग्लेले हिमालयन बैंकको सेयर एकाघर परिवारलाई किन्न दिन नुहने तर्क राखेका थिए । त्यसबेला तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले पनि सहमति जनाएका थिए । 

पछिल्लो समय हिमालयन बैंकको वित्तीय अवस्था राम्रो छैन् । वित्तीय अवस्था राम्रो नहुँदा लगानीकर्ताले हिमालयनबाट लाभांश पाएका छैनन् ।  गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको बैंकको वित्तीय विवरण हेर्दा संस्थागत लगानीकर्ताले बैंकको सेयर किन्ने संभावना कम छ । 

पहिला ठूलो रकमको र दोस्रो किन्दा स्रोत खुलाउनु पर्ने व्यवस्थाले गर्दा व्यक्तिगत वा संस्थागत लगानीकर्ता आउन सक्ने अवस्था कम छ ।  यस्तो अवस्थामा बैंकको सेयर किन्न सक्ने एउटा मात्र संस्था हो– कर्मचारी सञ्चय कोष । सञ्चय कोष हिमालयन बैंकको संस्थापक लगानीकर्ता हो । 

उसको हिमालयनमा १४ प्रतिशत हिस्सा छ । सञ्चय कोषले हिमालयमा २५ प्रतिशतसम्म स्वामित्व राख्न पाउने व्यवस्था छ । कोषले अझै ११ प्रतिशतसम्म सेयर किन्न सक्नेछ । हिमालयन रि–इन्स्योरेन्सको प्रवेशका कारण कोषले बैंकको थप सेयर किन्न नपाउने संभावना देखिएको छ । 

राष्ट्र बैंकले स्वीकृति दिएमा हबिबले बेच्न राखेको सबै सेयर किन्न तयार रहेको कोषले जानकारी दिएको छ । स्रोत खुलाउनु पर्ने व्यवस्थाका कारण व्यक्तिले सबै सेयर किन्न सक्ने अवस्था नभएकाले सञ्चय कोष वा अन्य संस्थागत लगानीकर्ताले मात्र लिन सक्ने देखिएको छ । 

यसअघि हबिबले २०७६ सालमा हिमालयन बैंकको सेयर बिक्री गर्ने प्रयास गरेको थियो ।  बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सिडिसी) ले सेयर खरिद गर्ने पक्का भएको थियो ।

हिमालयन बैंकले सिभिल बैंकलाई आफूमा समाहित (मर्जर) गरेपछि वित्तीय अवस्था कमजोर देखिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाशसम्म कूल ५० करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको छ । 

बैंकले गत वर्षको यही समयमा एक अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाशमा हिमालयन बैंककको वितरणयोग्य नाफा सात करोड ८० लाख रुपैयाँ मात्रै छ । तेस्रो त्रैमाशमा आइपुग्दा बैंकको निष्क्रिय कर्जा ७.६८ प्रतिशत रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । 

हाल हिमालयन बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रूपैयाँ छ । सिभिलसँग मर्जरअघि हिमालयनमा हबिबको २० प्रतिशत स्वामित्व थियो । अहिले घटेर १२.९६ प्रतिशत स्वामित्व छ । हिमालयनमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी छ । 

हिमालयनमा हिमालयन शम्शेर जबरा, भीम पाँडे, पृथ्वी पाँडे, नरसिंहबहादुर श्रेष्ठ र आनन्दभक्त राजभण्डारीको धेरै सेयर रहेको छ । यसैगरी एन ट्रेडिङ कम्पनीको १२.७१, खेतान ग्रुपको म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेशनलको ११.३८ प्रतिशत, छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत र उद्योगपति शशिकान्त अग्रवालको २.६५ प्रतिशत स्वामित्व छ ।

हिमालयन रि–इस्योरेन्सको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ छ । साधारणसभाबाट पारित भएको साढे चार प्रतिशत बोनस सेयर जोड्दा कम्पनीको पुँजी बढेर १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्