काठमाडौं । डेंगु संक्रमण यो वर्ष तीव्र रूपमा फैलिइरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ ।
मन्त्रालयकाअनुसार ०७८ माघयता भदौ १४ गतेसम्म दुई हजार आठसय २७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये जेठ १५ यता मात्रै एक हजार चारसय ४० जना संक्रमित थपिएका छन् ।
यो वर्ष बागमतीमा सबैभन्दा धेरै एक हजार छसय ९७ जना डेंगु संक्रमित भएका छन् । लुम्बीनी प्रदेशमा छसय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ६८ जिल्लाहरूमा एक वा एकभन्दा बढी डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।
यो वर्ष डेंगु प्रकोपकै रूपमा फैलिइरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।
यसअघि सन् २०१९ मा फैलिएको डेंगुबाट छ जनाको मृत्यु भएको थियो ।