काठमाडौं । भारतीय व्यापारी तथा अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अडानी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।
अडानी भारतसँगै पूरै एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनी विश्वभरमा सबैभन्दा धनी तीनजना मध्ये पर्ने पहिलो एसियाली व्यक्ति पनि हुन् ।
बिलिनियर्स इन्डेक्सका अनुसार अहिले अडानीको कूल सम्पत्ति १३७.४ बिलियन डलर पुगेको छ । सर्वाधिक धनी व्यक्तिको सूचीमा उनीभन्दा अगाडि अमेजनका संस्थापक जेफ बेजोस र टेस्लाका सीईओ एलन मस्क रहेका छन् ।
बिलिनियर्स इन्डेक्सका अनुसार सबैभन्दा धनी व्यक्ति मस्कसँग अहिले कूल २५१ बिलियन डलर सम्पत्ति रहेको छ । दोस्रो स्थानमा रहेका बेजोससँग १५३ बिलियन डलर सम्पत्ति रहेको छ ।
पछिल्लो केही समययता अडानीको सम्पत्ति द्रूत गतिमा बढेको थियो । पछिल्लो २४ घण्टामा मात्रै अडानीको नेटवर्थ १.२ बिलियन डलरले बढेको छ । जनवरीदेखि यतामात्रै अडानीको सम्पत्ति ६०.९ बिलियन डलर बढेको रिपोर्टमा उल्लेख छ ।
अडानी गत फेब्रुअरीमा मात्रै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी बन्न सफल भएका थिए । गत अप्रिलमा पहलिोपटक अडानीको सम्पत्ति १०० बिलियनभन्दा माथि पुगेको थियो ।