काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी संसदीय दलको नेतामा मनोनीत भएका छन् ।
सोमबार सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले रायमाझीलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनित गरेका हुन् ।
“सम्माननीय प्रधानमन्त्री, नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता श्री शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा सदस्य माननीय रमेशजंग रायमाझीलाई नेपाली कांग्रेस राष्ट्रियसभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गर्नु भएको छ,” कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
यसअघि, कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारी थिए । उनको राष्ट्रियसभाको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो ।