विराटनगर । विराटनगर महानगरपालिकाले तिजका अवसरमा शुभकामना आदानप्रदान आयोजना गरेको छ ।
महानगरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले शुभकामना व्यक्त गरे ।
मेयर कोइरालाले सामूहिक रूपमा चाडपर्व मनाउँदा आपसी सम्बन्ध प्रगाढ हुने बताए । उनले तिजलाई मर्यादित र अनुशासित रूपमा मनाउनुपर्नेमा जोड दिए । “अहिले हाम्रा चाडपर्वको मौलिकता हराउँदै गएको छ,” उनले भने, “तिज मनाउने नाममा केही विकृति पनि देखिन थालेको छ, समाजका लागि यो राम्रो होइन ।"
उपमेयर कार्कीले साथीभाइ, दिदीबहिनी भेला भएर सामूहिक रूपमा रमाइलो गर्ने पर्व तिजको छुट्टै विशेषता र महत्त्व रहेको बताइन् ।
मुख प्रशासकीय अधिकृत उमेश बस्नेतले तिजले समाजलाई जोड्ने बताए । महानगरका सबै महिला कर्मचारीहरूले सामूहिक रूपमा तिज मनाउँदा आपसी चिनजानसँगै संस्थागत एकतामा बल पुगेको विचार व्यक्त गरे ।
समारोहमा महिला कर्मचारीहरूसँगै मेयर कोइराला, उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृतसमेत तिजका गीतमा नाचेका थिए । महानगरले शुभकामना आदानप्रदानसँगै दर खाने कार्यक्रमसमेत राखेको थियो ।