यसपटककाे निर्वाचन नेपाली कांग्रेसका लागि निर्णायक हुनसक्छ । चुनावमा जनताले साथ दिए भने त्यसपछि कांग्रेस एक्लै चुनावमा जानेछ । चुनावमा मतदाताले पत्याएनन् भने अरूले कांग्रेसलाई छाड्नेछन् । यसैले यो नै नेपाली कांग्रेसका लागि अन्तिम चुनावी गठबन्धन हुनसक्छ ।
सत्तारुढ गठबन्धनका हर्ताकर्ता पुष्पकमल दाहालले भदौ १५ सम्ममा गठबन्धनको टुङ्गो लागिसक्ने ठोकुवा गरेका छन् । कांग्रेस आधाभन्दा कमै स्थानमा मान्दै छ भन्ने हल्ला चलेको छ । ‘महामन्त्री गगन थापाले कांग्रेसलाई कम क्षेत्र दिइयो भने विद्रोह हुने चेतावनी दिएकाले मात्र अलमल भएको हो प्रधानमन्त्री शेरबहादुर देउवा त ८० स्थानभन्दा कम दिए पनि मान्छन्’ भन्ने कांग्रेसकै कार्यकर्ताहरूले भन्न थालेका छन् । सम्भावना पनि यस्तै देखिएको छ ।
चित पनि पट पनि माओवादीकै !
‘जितेकाे ठाउँ नछाड्ने’ सूत्र अपनाउँदा सबैभन्दा घाटा कांग्रेसलाई र फाइदा माओवादी केन्द्रलाई हुन्छ । कांग्रेसले २३ स्थान पाउँदा माओवादी केन्द्रले ३६ स्थान पाउनेछ । यी स्थानमा ‘बार्गेनिङ’ गर्नै परेन । पछिल्लाे निर्वाचनमा कुल १३ प्रतिशत मत भएको माओवादीकाे भागमा पर्नुपर्ने त २२ क्षेत्र न हो । वास्तविक शक्तिभन्दा पहिले नै बढी क्षेत्र माओवादीले पाउँदा भाग घट्ने त कांग्रेसकै होला ।
समर्पण कि विद्रोह ?
यही सूत्र अपनाउने हो भने त मोहन बस्नेत, गोविन्द पोखरेल र राजीव शाहहरूले कांग्रेसबाट उमेदवारी दिनै पाउनेछैनन् । अर्को ५ वर्षमा यिनीहरू असान्दर्भिक हुनसक्छन् । कांग्रेसले पनि खसआर्य समूहकै धेरै उमेदवार उठाउँछ । त्यस अवस्थामा यिनीहरू समानुपातिकमा राखिएछन् नै भने पनि छानिनेमा पर्नेछैनन् ।
नियतिले ठगेकाहरू !
बस्नेत, पोखरेल र शाही उदाहरणमात्र हुन् । कांग्रेसका यस्ता धेरै नेताहरूको राजनीतिक जीवन यसपटकको निर्वाचनले समाप्त पार्न सक्छ । तनहुँको क्षेत्र नम्बर १ मा वरिष्ठ नेता रामचन्द्र पौडेलले उमेदवारी दिने घोषणा गरिसके । अब रह्यो क्षेत्र नम्बर २ । क्षेत्र नम्बर १ जितेकाले नछाड्ने सूत्रअनुसार त नेकपा (एकीकृत समाजवादी)ले पाउने थियो ।
गठबन्धनकै नेता पौडेलले नै चाहे र उचित क्षतिपूर्ति पाए एकीकृत समाजवादीले क्षेत्र १ त छाड्ला तर क्षेत्र २ माग्यो भने के हुन्छ ? एकीकृत समाजवादीले तनहुँँको दुवै क्षेत्र छाड्यो भने दुवैतिर नेकपा (एमाले)को मत थपिन्छ । त्यस अवस्थामा शङ्कर भण्डारीले के गर्ने? ध्रुव वाग्ले, गोविन्द भट्टराई, प्रदीप पौडेलहरूले के गर्ने? जितप्रकाश आलेकै लागि चुनाव लड्न ढिलो भइसक्यो भने रघुनाथ पौडेलले त यसपटक चुनाव लड्न नपाए सकियो ।
संघमा माओवादीले छाडेपछि प्रदेशमा त पक्कै दाबी गर्ला । संघकै सूत्र अपनाउने हो भने दुई क्षेत्र त पाउने नै बाँकी दुई क्षेत्रमा एकीकृत समाजवादीले पनि त दाबी गर्ला । मुस्किलले एउटा क्षेत्र कांग्रेसले पाए को उमेदवार हुने ककस्ले कमण्डलु लिने? तनहुँ त उदाहरणमात्र हो । गोर्खा, लमजुङ सबैतिर सकसै सकस छ । अर्थात्, कांग्रेसका कार्यकर्ताका लागि गठबन्धन नै ‘सकसबन्धन’ हुनेछ ।
विद्रोह गर्ने आँट !
कमण्डलु नलिने हो भने ‘अन्तरात्माकाे आवाज सुनेर’ स्वतन्त्र उमेदवारी दिने आँट गर्नु पर्यो । तर, यी माथि लेखिएकाले स्वतन्त्र उमेदवारी दिने आँट गर्न सजिलो देखिँदैन । चुनाव महँगो छ र मतदातामा ‘अस्थिर’ प्रवृत्ति बढ्दो छ । शक्ति हुनेसँग पैसा पनि हुन्छ । पैसाले शक्ति बढाउँछ । यही गणित चुनावमा पनि त लागु हुन्छ । त्यसमाथि ठालुहरूको मिलेमतोलाई कार्यकर्ताले मान्न त गाह्रो छ भने मतदाताले के मान्लान् र ?
अरूकै हितचिन्तक
अरू पार्टीका नेताले देशका हकमा जे गरे पनि आआफ्नाे पार्टीकाे त भलो नै चिताएको र गरेको देखियो । कांग्रेसका नेता भने बढी नै आत्मकेन्द्रित भएका छन् । चुनाव सकिएपछि मतदातासँग त टाढाको कुरा कार्यकर्तासँग पनि संवाद, सम्पर्क गर्दैनन् भन्ने आक्रोश मिश्रित गुनासो जताततै सुनिन्छ । यस्तो व्यवहारबाट नेता र कार्यकर्ताबीचमा आत्मीयता र अपनत्व पक्कै कम हुँदैगएको छ । कार्यकर्तासँग समेत टाढिएका नेताले जनताको नजिकमा हुने वा तिनका कुरा सुन्ने त पक्कै गरेका छैनन् ।
उदाहरण भारतको ऐना यतैको
कार्यकर्तासँग टाढिएका र जनताकाे कुरा नसुन्ने नेताले नेतृत्व गरेको पार्टीको हबिगत कस्तो हुन्छ भन्ने उदाहरण भारतीय राष्ट्रिय कांग्रेस हो । सन् १८८५ मा स्थापित दक्षिण एसियाकै अग्रणी राजनीतिक दल अहिले जनाधार र बलियो इतिहास भएर पनि चुनावमा नराम्ररी परास्त भएको छ । दिल्ली र उत्तर प्रदेशमा भारतीय जनता पार्टीलाई हराउन रणनीतिकरूपमा कांग्रेसका मतदाताले आम आदमी र समाजवादी दललाई मत दिए । तैपनि, अझै भारतीय राष्ट्रिय कांग्रेसको मताधार २० प्रतिशत छ । तर, चुनाव जित्दैन । लोकसभामा प्रमुख विपक्षीको मान्यता पनि पाएको छैन ।
विश्लेषकहरू भारतीय कांग्रेसका कमजोरीमध्ये सबैभन्दा ठूलो जनतासँगकाे सम्बन्ध र सम्पर्क तथा जनभावनाको कदरको अभाव प्रमुख हो भन्छन् । नेपाली कांग्रेसजस्तै अरूलाई ओत दिने कांग्रेस अहिले खुम्चिँदै आफैँ छहारी खोज्ने अवस्थामा पुगेको छ । नेताहरूको ठालु चरित्र, इतिहासकाे ब्याजमा बाँच्ने प्रवृत्ति र सैद्धान्तिक विचलन भारतीय कांग्रेसकाे अधोपतनकाे मूल कारण मानिन्छ । भारतीय राष्ट्रिय कांग्रेससँग सिद्धान्त, चरित्र एवं इतिहासका दृष्टिले निकट नेपाली कांग्रेसमा पनि उस्तै लक्षणहरू देखिन थालेका छन् ।
दुबोको जरा
यस्तै प्रवृत्ति निरन्तर रहे नेपाली कांग्रेस सीके प्रसाईले भनेजस्तो ‘दुबाे’ रहिरहन पक्कै सक्तैन । जरा नै नभएपछि कसरी मौलाउला र ? जरा त समर्थक मतदाता र कार्यकर्ता न हुन् । कांग्रेस ओइलाउन त २०५८ बाटै थालेकाे हो तर अहिलेसम्म भाग्य र इतिहासले धानेको छ । यस्तै रहे अब धानिन सक्तैन । यद्यपि, पार्टीका रूपमा खुम्चिए पनि विचार, संस्कार र जनाधारमा भने भारतीय राष्ट्रिय कांग्रेसजस्तै नेपाली कांग्रेस पनि बाँची रहनेछ ।
नेपाली कांग्रेसका नेताले चरित्र जोगाएर जनतासँग टाँसिनुभन्दा अस्तित्व गुमाएरै भए पनि सत्तामा जाने पक्ष रोजेका छन् । मतदातालाई त के रोज्ने भन्ने निर्णय गर्न उति गाह्रो हुनेछैन तर बिचरा कार्यकर्ता भने सकसमा पर्नेछन् । कार्यकर्ताले नबोली र मतदाताले खुलेरै दिल्ली र उत्तरप्रदेशमा जस्तो रणनीतिक निर्णय गरे भने ‘भुइँको टिप्दा पोल्टाको खस्न’ सक्छ ।