काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रीहरूले अन्य उमेदवारको निर्वाचन प्रचारप्रसारमा भाग लिन नपाउने निर्वाचन आयोगको प्रस्तावको विरोध गरेको छ ।
आयोगले प्रस्तावित आचारसंहितामा आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा संघ, प्रदेशका मन्त्रीहरूले अन्य उमेदवारको निर्वाचन क्षेत्रमा गएर प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ ।
आयोगले सोमबार दलहरूसँग गरेको छलफलमा सहभागी कांग्रेस सहमहामन्त्री जीवन परियारले आफूले आयोगको प्रस्ताव कांग्रेसलाई मान्य नहुने बताएको जानकारी दिए ।
“राजनीति गरेरै मन्त्री पद हुने हो । हाम्रो पार्टी सत्तामा छ । कुनै पनि राजनीतिक दलको मान्छे उमेदवार हुँदा वा नहुँदा यस्तो व्यवस्था गर्न मिल्दैन । मेरो र मेरो पार्टीको गम्भीर ध्यानाकर्षण छ भनेर मैले आयोगसमक्ष कुरा राखेको छु,” उनले बाह्रखरीसँग भने ।
यस्तै, आयोगले सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको भन्दै खुकुलो बनाउन पनि कांग्रेसले माग गरेको छ । छलफलका क्रममा सहमहामन्त्री परियारले वर्तमान समयमा सामाजिक सञ्जाल पनि सञ्चार माध्यमजस्तै निर्वाचन प्रचारप्रसारको अभिन्न अंग भएको भन्दै सामाजिक सञ्जालबाट निर्वाच प्रचारप्रसार गर्न कडाइ गर्न नहुने सुझाव दिएको बाह्रखरीलाई जानकारी दिए ।
कांग्रेसले मौन अवधि सुरु हुनु १५ दिन अघिबाट मात्र चुनाव प्रचारप्रसार गर्नुपर्ने व्यवस्थामा पनि असन्तुष्टि जनाएको छ । आयोगले प्रचारप्रसारका लागि बिहान ८ देखि बेलुकी ७ बजेसम्मका लागि छुट्याएको समयमा पनि कांग्रेसले असन्तुष्टि जनाएको छ ।
“मनोनयनको समय कि त पछाडि सार्नुपर्यो । हैन भने त उमेदवारले उमेदवारी दर्ता गराएपछि त घरदैलो कार्यक्रममा लागि हाल्छ नि,” सहमहामन्त्री परियारले बाह्रखरीसँग भने, “घरदैलो कार्यक्रम, कोणसभालगायतको विषय मौन अवधिको १५ दिन अघिबाट मात्र गर्ने कुरा व्यवहारिक भएन भनेर पार्टीबाट मैले कुरा रोखको छु ।”
आयोगले बिहान ८ देखि बेलुकी ७ बजेसम्मका लागि समय छुट्याए पनि कांग्रेसले भने बिहान ६ बजेदेखि चुनाव प्रचारप्रसारका लागि घरदैलो गर्न पाउनुपर्ने धारणा राखेको परियारले जानकारी दिए ।
निर्वाचन खर्चका विषयमा पनि आयोगको भन्दा फरक धारणा आफूले पार्टीको तर्फबाट प्रस्तुत गरेको परियारले बताए ।
“निर्वाच खर्चको विषयमा उमेदवारले स्वघोषणा गर्नुपर्ने, मञ्च व्यवस्थापनको खर्च तीन दिनभित्र बुझाउनुपर्ने जस्ता स–साना विषय व्यवहारिक भएन यसलाई सच्याउनुहोस् भनेर मैले सुझाव दिएको छु,” उनले भने ।