site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बुकनी 
Sarbottam CementSarbottam Cement

मनको गरा बाक्लो थियो, तर विचार शून्य । मन किन कहिलेकाहीँ खाली हुन्छ ? केही सोच्नै मन लाग्दैन । केही गर्नै मन लाग्दैन । केही नपुगे पनि सबैथोक पुगेजस्तो ।

किन शान्त हुन्छ मन कुनै–कुनै बेला ? जसले जे गरे पनि केही प्रतिक्रिया दिन मन लाग्दैन । किन संसारको वास्ता गर्न मन लाग्दैन ? 

भजनी र उनको लोग्ने बिरहुबीच दिउँसोदेखि मनमुटाव बढेको थियो । भजनी गहिरो निद्रामा थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मध्यरातसम्म निदाउन सकेका थिएनन् बिरहु । भजनीलाई उठाउन उनको जिउ हल्लाउँदै रिसाउँदै भने, “उठ् ! हमरसे बात कर् । अनन्द कथि करैले येल छेलै ?”

“धानके बिँया लैले येल छेलै,” भजनीले बिउँझिएजस्तो गरेर भनिन् ।

Global Ime bank

“कखनि येलछेलै ?”

“दिनके ।”

यति मात्र के भनेकी थिइन्, बिरहु निस्केर भान्साघरमा गए । भान्सामा गएर भजनीले दिउँसो ढिकीमा कुटेर राखेको बुकनी (अलि खस्रो कुटिएको खुर्सानी धुलो) एक मुठी ल्याए ।

निद्रामै भएकी भजनीको छातीको सारी बिरहुले हटाए । र, ब्लाउजसहितको उनको छातीमा हात छिराउँदै बुकनी दले । लगत्तै तल्लो पेटमा पनि दलिदिए ।

भजनीको छाला पोल्न सुरु गरिसकेकोले उनी हतपत बिउँझिइन् । बिरहुले किन त्यस्तो गरेका थिए, उनको अनुमानभन्दा बाहिरको कुरो नै थियो ।

उनले छटपटाउँदै भनिन्, “कथिले बुकनी छिटलिहि हमर देहमे ?”

“हमरा मतलब नै कैरके, दोसर कोइके मतलब करबिहि ?”

यो सुनेर उनलाई बिरहु सन्कीझैँ लाग्यो । शंकालु पहिलादेखि नै थियो । जिद्दी पनि त्यतिकै ।

अनन्द बिरहुको मामाको छोरो थियो । दिउँसो धानको बिउ लिन आएको थियो ऊ । ऊ पाहुना थियो । भजनीको देवर पर्थ्यो ।

बिउ लिन आएका देवरलाई भजनीले राम्ररी सत्कार गरेको बिरहुलाई मन परेको थिएन । भजनीले अनन्दसँग कुरा गरेकीले लोग्ने बिरहुले अतिशय शंका गर्दै उनलाई बुकनी दलेको थियो ।

बुकनीले औधी पोलेर भजनी केही जवाफ दिने अवस्थामा थिइनन् । 
उनी मध्यरातमा पेटीकोट र ब्लाउज मात्रै लगाएर अँध्यारोमा दौडिँदै घर पछाडिको पोखरीमा हामफालिन् । उनले हामफाल्दा पानी पनि छ्वाप्ल्याङ बोल्यो !

निशाभित्र डुबुल्की मारेको रात पनि टोलाइरहेको थियो, भजनीको अवस्था देखेर । उनी पर्खाइमा थिइन् बिहानको । उनी पर्खाइमा थिइन् उनको पीडा कम हुने समयको । उनी पर्खाइमा थिइन् उनको पोलाइ कम हुने बिहानको ।

उनी पानीबाट निस्केपछि जिउ शीतल हुन्जेल पोल्दैन्थ्यो । तर, जिउ सुक्नेबित्तिकै फेरि उनलाई पोल्न सुरु गरिहाल्थ्यो । खुर्सानीको बुकनी दलेको छाती र तल्लो पेटमा मानौँ, आगो बलिरहेको थियो । त्यसरी नै पोलिरहेको थियो । बुकनी दलेको ठाउँ जलिसकेको जस्तो अनुभव उनलाई भइरहेको थियो ।

बुकनीको पिरोभन्दा झनै पिरो उनलाई लोग्नेसँगको सम्बन्ध लाग्यो । 
उनी लोग्नेदेखि अत्यन्तै क्रोधित थिइन् । निराकार रातसँग साक्षात्कार गर्दै उनी त्यो नीरव रातभर पानीभित्रै बसिरहिन् ।

तुरुन्तै कुनै प्रतिक्रिया जनाउनका लागि पानी बाहिर आउने स्थितिमा उनी थिइनन्् । तर, भोलिपल्टै लोग्नेसँग सम्बन्धविच्छेद गर्ने विषयमा भने सोचिन् ।

रातभर पानीमा उभिएर रोइरहिन् । घरी पोखरीको डिलमा आउँथिन्, पोल्न सुरु गरेपछि फेरि पानीभित्र पस्थिन् । उनले त्यसै दिनदेखि लोग्नेलाई अथाह घृणा गर्न थालिन् ।

बिहान हुन लागेको थियो । शरीरको पोलाइ पहिलेको भन्दा कम भएको अनुभव गरिन् । बिहान हुनुभन्दा अगाडि नै उनी घर फर्किन् ।

घर पुगेर सुकिलो सारी लगाइन् । घरमा बिरहु एक्लै सुतिरहेका थिए । भजनी आएको थाहा पाएर उनी पनि निद्राबाट बिउँझिए ।

भजनीलाई देख्नेबित्तिकै अँगालो हालेर माफी मागे । र, माफी माग्दै भने, “तोहे दोसर कोइसे बोलै चिही त हमरा पित लहरैये ।”

“ऊ तोहर भाइ चियौ, ममाके बेटा ।”

“हम नै सहैले सकै चियै । हम तोरा बहौत प्रेम करै चियौ ।”

‘म तँलाई धेरै नै प्रेम गर्छु’ बिरहुले भनेको सुनेर त्यस्तो पीडा दिने लोग्नेप्रति उत्पन्न भएको प्रतिशोधको भावना भजनीको मनबाट हरायो ।

तर, भित्रभित्रै घृणा उत्पन्न भइरह्यो । उनले क्रोधित आँखाले बिरहुलाई हेरिरहिन् । तर, दानमा क्षमा दिइन् ।

त्यसपछि उनलाई पटक्कै हेर्न मन लागेन बिरहुको त्यो अनुहार । लोग्नेसँग बोल्न पनि मन लागेन । उनले त्यही दिनदेखि लोग्नेलाई लोग्नेको दर्जाबाट हटाइन् । आफूले पराई पुरुषकहाँ आफ्नो जिउ र मन बन्धक राखेको ठानिरहिन् । तर, उनले खुलेरै बिरहुको विरोध पनि गर्न सकिनन् ।

कहिलेकाहीँ उनलाई आफूदेखि घृणा लाग्थ्यो, लोग्नेको अत्याचार किन सहिन् ? प्रतिकार किन गरिनन् ? के सोचेर चुपचाप बसिरहिन् ? रातभर पानीमा बसेर पनि किन केही प्रतिक्रिया जनाइनन् ?

रातभर पानीमा बसेकीले भोलिपल्ट उनलाई हनहनी ज्वरो आयो । दुई दिनपछि आफैँ सन्चो भएर गयो ।

ज्वरो निको भएपछि भजनी पहिलेजस्तै घरधन्दामा लागिन् । उनको जिउमा बिरहुले बुकनी दलेर रातभरि पानीभित्र बस्ने अवस्थामा पुर्याएको उनकी सासू र छिमेकीहरूले समेत चाल पाएनन् ।

छिमेकीले थाहा पाएका भए, त्यस्तो ठाउँमा बुकनी दलेको कसरी सुनाउने भन्ने भयले त उनी चुप लागेर बसिनन् ? सवाल आफैँमा उठिरह्यो ।

त्यसै दिनदेखि चाडपर्वका बेला अनन्द आए पनि उनी काम गर्नमै व्यस्त रहन्थिन् । अनन्दलाई बेवास्ता गर्थिन् ।

सासूले ‘अनन्दके भात खाइले दहै’ भन्दा पनि उनी ‘काम गर्नुछ’ भनेर बहाना बनाउँदै कुनै काममा व्यस्त हुन्थिन् ।

भाउजूले बेवास्ता गरेको देखेर अनन्द पनि आउन छोड्यो ।

घटनाको एक वर्ष बितिसकेको थियो । भजनीको गर्भबाट छोरी जन्मिई । माइतीबाट उनकी आमा आएकी थिइन्, स्याहारसुसार गर्न ।

उनले आफ्नी आमालाई पनि त्यो घटनाबारे केही सुनाइनन् ।

एक महिना बसेर भजनीकी आमा आफ्नो घर फर्किइन् । बच्चा सानो भएकोले उनकी सासू सँगै सुत्थिन् । राति बच्चाको हेरचाह गर्थिन् । उनलाई पनि सजिलो हुन्थ्यो । उनी बच्चाको स्याहार र घरधन्दामै व्यस्त थिइन् ।

बिरहु एक्लै बसघरामा सुत्थे । भजनीले चाहेको भए लोग्नेका लागि समय छुट्ट्याउन सक्थिन् । तर, जति बेला उनको मानसपटलमा बुकनी दलेको घटना दोहोरिन्थ्यो । उनी बिरहुको अनुहार सम्झिनै चाहँदिन थिइन् ।

उनलाई बिरहुसँग पटक्कै बस्न मन लाग्दैन्थ्यो । तर, कतै जाने ठाउँ पनि देखिरहेकी थिइनन् । बाध्यतालाई नै जीवन सम्झेर बाँचिरहेकी थिइन् ।

उनी एक्लै बसेर धेरै बेरसम्म टोलाउँदै सोचिरहन्थिन्– यो पृथ्वीभन्दा बाहिर कतै जाने ठाउँ भइदिएको भए त्यहीँ गएर मनको भारी बिसाउँथेँ । उनी आफूमा अत्यन्त तडप र पीडा भएको पाउँथिन् ।

भजनी बिरहुको ठाउँमा आफ्नो प्रेमी सत्तललाई सम्झिन्थिन् । जात नमिलेर सत्तलको घरबाट भजनीलाई अस्वीकार गरिएको थियो । ऊ भजनीलाई भन्थ्यो, ‘म तँलाई रानी बनाएर राख्छु ।’

सत्तलको यही कुरा सम्झेर कहिलेकाहीँ उनी एक्लै भक्कानिन्थिन् । प्रेमीसँग छुटेकी उनी बिरहुसँग बिहे हुँदा धेरै दिनसम्म मनमनै दुःखी भइरहिन् । लोग्नेसँग झगडा पर्दा सत्तललाई झल्झल्ती सम्झिन्थिन् ।

एक्लै सुतेको बिरहुले मध्यरातमा गुनगुन कुरा गरेको सुनिन्थ्यो । कोसँग कुरा गर्थ्यो ऊ सुनसान मध्यरातमा ?

छिमेकीहरू राति पिसाब फेर्न डगहरमा निस्किँदा गुनगुन–गुनगुन कुरा गरेको सुन्थे । कुरा गरेको सुनेर एक दिन छिमेकी देउरानीले भजनीलाई भनी, “दैया, तोहे बसघरामे सुतैचिही ?”

“नै । हम घरमे सुतैचियै । ...कथिले ?”

“सैब दिन राइतके भैया घुनुर–घुनुर बात ककरसे करैत रहैछौ ?”

“किजाने ?”

‘मलाई थाहा छैन’ भनेर भजनी केही बोलिनन् ।

बच्चा र सासू राति सुतिसकेपछि उनी मध्यरातमा बसघरा गइन् । बिरहु गुनगुन कुरा गरिरहेका थिए । बाहिरबाट बसघराको गरामा अडेस लागेर उनले कान थापिन् । गुनगुन कुरा गरिरहेको दुईजनाको आवाज सुनिन् ।

उनले आवाज सुनेर पत्ता लगाइन्, आवाज बिरहु र असनपुरवालीको थियो ।  असनपुरवाली विधवा थिइन् ।

भजनीले तत्कालै केही प्रतिक्रिया दिइनन् । आँगनमा आइन् । भान्साघरमा छिरिन् । भान्साघरमा डिब्बामा भएको बुकनी एक मुठी झिकिन् । उनको जिउमा दनदनी प्रतिशोधको आगो बलिरहेको थियो ।

उनी सरासर बसघरामा छिरिन् । राति उनको अनुहार बिरहु र असनपुरवालीले चिन्न सकेनन्, तर उनको हिँडाइले उनलाई दुवैले चिने । 

पेटीकोट र ब्लाउज मात्रै लगाएकी असनपुरवाली भजनीलाई देखेर डराउँदै सारी हातमा बोकेर घरतिर भागिन् ।

भजनीले बिरहुको हात अँठ्याउँदै हातमा बोकेको बुकनी उनको तल्लो पेटमा दलिन् । अनि भनिन्, “हमरा हेरचाह नै कैरके दोसरसे फासलचिही ?”

बुकनीको पोलाइ बिरहुले सहन सकेनन् । उनी केही नबोली छटपटाउँदै दौडिँदै घर पछाडिको पोखरीमा हामफाले ।

युगौँदेखि यातना झेल्दै आएका महिलाहरूको प्रताडित इतिहासमा उनले भोटेताल्चा लगाइन् । युगौँदेखि सहँदै आएको यातनाको बदला लिइन् ।

उनले त्यस बेलाको कुरा सम्झिन्, जुन बेला उनले अपराधै नगरी उनको चरित्रमाथि औँला उठाएर उनलाई बुकनी दलिएकोे थियो । त्यो बेला उनले लोग्नेलाई दानमा क्षमा दिइन् । जबकि, उनले गल्ती नै नगर्दा अपराधी ठानेर बिरहुले उनलाई दण्ड दिइएको थियो ।

आज उनले एक अपराधीलाई दण्ड दिइन् । उनले सोचिन्– आफ्नी छोरीलाई गलत इतिहास पढ्न दिने छैन । छोरीलाई क्षमादान होइन, अपराधीलाई दण्डित तुल्याउने क्षमतावान् बनाउनेछु ।

उनले आज निर्दोष, निष्कलंक र निडर भएको अनुभव गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय