मूल सहरको चोकमै छ गणपति मुरारकाको सुनचाँदी पसल । आफ्नै तीनतले आलिसान हवेलीको भुइँतलामा सुन पसलको सटर छ ।
उसकी छोरी पिंकी झ्यालका खापाबाट सडकको तमासा नियालिरहेकी छ । ऊ बाइस वर्षकी भई । कजेलबाट आर्टमा स्नातक गरेकी छ । तर, उसलाई जागिर खान बाहिर जाने अनुमति छैन, बाबुबाट ।
स्कुल पढुन्जेल पनि घरकै सुसारे केटीको साथ लागेर स्कुल जानुप¥यो । पाँच वर्ष कलेज पढी । घरदेखि दश मिनेटको दूरीमा थियो बहुमुखी क्याम्पस । त्यहाँ पनि एक्लै जान उसलाई अनुमति थिएन । सुसारे केटीकै साथमा जानुपर्थ्यो ।
घरको कडा अनुशासनमा बाँधिएकी छ पिंकी । सिनेमा जान, कहिलेकाहीँ मार्केटिङमा जान एकजना पछुवाविना पठाउँदैनन् ।
हरबखत नियन्त्रण र निगरानी पिंकीलाई एकरत्ति मन पर्दैन । तर पनि परिवारको खान्दानी संस्कार उसले मान्नै परेको छ । मनमा विरोध छँदाछँदै पनि पालना गर्नैपरेको छ ।
स्नातकपछि लोकसेवा दिएर सरकारी जागिरमा जाने रहर छ उसको । तर, बाबुले जागिरको नामै पनि सुन्न चाहँदैन ।
मनमा अनेकन् कुण्ठा बोकेर चार दिवारीबीच कैदी बनेकी छ ऊ । आज उसकै घरको सामुन्नेमा अनेकन् पोकापन्तुरा फिँजाएर जडीबुटी बेचिरहेकी छ, कुनै हिमाली गाउँकी भोटिनी ।
ऊ संखुवासभाको कुनै हिमाली गाउँबाट तराई झरेकी छ । हिमपातका तीन महिना ऊ तराईका अनेकौँ हाटबजार र सहरहरू घुम्छे र हिमाली कन्दरामा उब्जेका जडीबुटी बेच्छे ।
उसको उन्मुक्त जीवनदेखि पिंकी घुटुघुटु थुक निल्छे । भोटिनीको उमेर पनि त्यस्तै बाइस–तेइसको होला । मयल कट्कटिएका लुगा लगाएकी छ ।
कम्मरमा लामो खुर्पा भिरेकी छ । सायद यो आत्मरक्षाको साधन होला । सडक किनारामा डोको बिसाएर मज्जाले व्यापार गरिरहेकी छ ।
हिमाली वनका जडीबुटीहरू प्लास्टिकमा पोका–पोका पारेर राखेकी छ । ठूलो ओखती, पाखनवेत, शिलाजित, हाडजोडा, जिम्मु, विकुमा, गोकुलधूप, फिटकिरी, हर्राे, बर्राे, सुनपाती, भैरुङपाती, पाँचऔँले, कस्तुरी, बाघेकौडालगायत बीस–बाइस खालका जडीबुटी बेचिरहेकी छ ।
ग्राहकका जिज्ञासालाई आफ्नै भोटे लबजमा शान्त गर्छे । एक–एक चिजको उपयोगिता बताउँछे । कुन बिमार लाग्दा कुन चिज कसरी प्रयोग गर्ने, तरिका बताइदिन्छे ।
हिमालबाट वेग हानेर तराई झरेकी उडुवा चरीजस्तो लाग्छ, उसको जीवन पिंकीलाई । झ्यालको खापाबाट चियाउँदा–चियाउँदै पिंकीलाई ऊसित भेटेर दुई शब्द बात मार्न मन लाग्यो । ‘दूरदेशबाट कसरी, कुन बाटो छिचोल्दै यहाँ आइपुग्यौ ?’ भनी सोध्न मन लाग्यो ।
प्रत्यक्ष साक्षात्कार गर्नलाई भुइँतलामा झरेर हुत्तिँदै भोटिनी नजिक के पुगेकी मात्र थिई पिंकी, सुन बेच्ता–बेच्तैको बाबु गणपतिले देखिहाल्यो । छोरीलाई झम्टिँदै सडकमा पुग्यो ।
“रे पिंकी, कहा जान लागिस् ? एक्लै ? तुरन्त कोठामा जा ।”
बाबुको रौद्र आवाज सुनी । हत्त न पत्त कोठातिर फर्की ढोका लगाएर ओछ्यानमा लम्पसार परी ।
बिकुमा बेचिरहेकी भोटिनी भने यो दृश्य देखेर अलमल्ल परी ।