काठमाडौं । काठमाडौं उपत्यका एकपछि अर्को संक्रामक रोगको ‘हब’ बन्दै गएको छ ।
कोभिड–१९ र हैजा संक्रमण बढिरहँदा डेंगुले अर्को प्रकोप निम्त्याउने जोखिम बढेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार यो वर्ष देशभर डेंगु संक्रमितको संख्या एक हजार १२६ पुगेको छ, जसमध्ये चारसय चार जना काठमाडौं उपत्याकाका छन् ।
महाशाखाकाअनुसार हालसम्म काठमाडौंमा ८५, भक्तपुरमा १२, र ललितपुरमा ३०७ जनामा डेंगु पुष्टि भएको छ ।
गत असार ९ गते ललितपुर महानगरापालिका वडा नं. ५ बाट ‘आउटब्रेक’ भएको डेंगु महानगर र महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा फैलिएको स्वास्थ्य कार्यालय ललितपुरकी र्यापिड रेस्पोन्स टिम फोकल पर्सन गीता आचार्यले बताउँछिन् ।
आचार्यकाअनुसार ललितपुरको थसिखेल, लगनखेल, सानेपा लगायत क्षेत्रमा धेरै डेंगु संक्रमित भेटिएका छन् ।
त्यस्तै, भक्तपुरका विभिन्न अस्पतालहरूमा ओपीडीमा आउनेहरूमा डेंगु संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।
असोजसम्म संक्रमण बढ्ने आकलन
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार गतवर्ष डेंगु संक्रमितको संख्या ५४० पुगेको थियो ।
महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालकाअनुसार गतवर्ष असोज अन्तिमसम्मै डेंगुका बिरामी देखिएका थिए ।
यसपालि साउन अन्तिमसम्ममा नै गतवर्षको दोब्बरभन्दा बढी जनसंख्यामा संक्रमण देखिनुले यो वर्ष डेंगु संक्रमण उच्च संख्यामा बढ्नसक्ने अनुमान महाशाखाले गरेको छ ।
संक्रमण नियन्त्रणका लागि महाशाखाले स्थानीय तहहरूसँगको समन्वयमा विभिन्न कार्यक्रम गरिरहेको भएपनि नयाँ नयाँ स्थानमा संक्रमण फैलिँदै गएकाले चुनौति थपिएको डा. दाहालले बताए ।
वरिष्ठ सरुवारोग विशेषज्ञ डा.अनुप बास्तोला काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा देखिएका बिरामीको संख्या हेर्दा यसले प्रकोपको रूप लिनसक्ने बताउँछन् ।
डेंगु कति घातक ?
डा. बास्तोलाकाअनुसार समुदाय स्तरमा १० हजार मानिस डेंगुबाट संक्रमित भए भने १ हजार जनामा लक्षण देखापर्छ । जसमध्ये ५ सय जना भाइरल ज्वरोले संक्रमित हुन्छन् भने अर्को ५ सय जनामा डेंगु ज्वरोका लक्षण देखिन्छन् ।
विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण फैलिने गर्छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड करकरी दुख्ने, शरीर दुख्ने, घुँडाका जोर्नी, पिँडौलाको मासु दुख्ने आदि लक्षण डेंगुका लक्षण हुन् ।
डेंगु ज्वरो सन्चो हुने बेलामा शरीरमा राता दागहरू पनि देखा पर्छन् । डेंगुकै कारण ‘गम्भीर डेंगु’को सम्भावना पनि रहन्छ । सन् २०१९ मा नेपालमा डेंगुले प्रकोपको रूप लिएको थियो, सो वर्ष डेंगु संक्रमणबाट छ जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ ।
गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षणहरू देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । डेंगु संक्रमण प्रत्यक्ष मानिसबाट मानिसमा नसरे पनि संक्रमित लामुखट्टेले अर्को व्यक्तिलाई टोकेमा संक्रमण फैलिन सक्छ ।
कसरी जोगिने ?
डेंगुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेंगु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रूपमा पानी राख्न हुँदैन । साँझ बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनु, घरमा जालीढोका लगाउनु, झुल टाँगेर सुत्नु, साँझ बिहान सकेसम्म बाहिर ननिस्कनु, निस्कनै परे लामो बाहुला भएको लुगा लगाउनु वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्नु डेंगुबाट बच्ने उपायहरू हुन् ।
त्यस्तै घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनु र डेंगुको सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनु डेंगुबाट बच्ने प्रभावकारी उपायहरू हुन् ।
प्रकोपकै रूपमा फैलिन सक्ने डेंगुलाई रोकथाम र नियन्त्रणका लागि सतर्क रहन ढिला नगर्न र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान अघि बढाउन डा. बास्तोलाको अनुरोध छ ।