
काठमाडौं । मंसिर–४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको राप बढ्दो क्रममा देखिएको छ । प्रमुख दलहरु निर्वाचनबाट आफू कसरी सबैभन्दा बलियो भएर आउने अनि सत्तामा पुग्ने ध्याउन्नमा छन् भने साना दलहरु आफ्नो अस्तित्व रक्षामा जुटिरहेका छन् । प्रमुख दलहरु नै गठबन्धन निर्माणमा लागेपछि साना दल अस्तित्व रक्षाका लागि कुन गठबन्धनको छातामा ओत लाग्ने र अस्तित्व जोगाउने भन्ने दौडमा लागेका हुन् ।
सत्तामा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएका छन् ।
यो गठवन्धन वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचन पनि थियो । यही गठबन्धनका कारण स्थानीय तहमा विगतमा जितेको सिट गुमाउन पुगेको नेकपा एमाले पनि आफूलाई बलियो बनाउन विभिन्न दलसँग वार्ता गरिरहेको छ ।
एमालेले गएको स्थानीय तह निर्वाचनमा हिन्दु तथा राजावादी कमल थापा नेतृत्वको राप्रपा नेपाल, क्रिश्चियन मिसनमा चलिरहेको नेपाल परिवार दलदेखि अन्य ससाना समूहसँग गठबन्धन गरेका थियो । अहिले प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणापछि पनि सत्ता गठबन्धन कायम भएपछि प्रतिपक्षी एमाले पनि गठबन्धनको तयारीमा जुटेको छ ।
सत्ता गठबन्धनमा नअटाएका दलहरू एमालेसँगै गठबन्धनको प्रस्ताव लिएर पुगिरहेका छन् ।
प्रतिष्ठाको लडाईंमा पार्टी विभाजन गरेर अलग अलग पार्टीको अध्यक्ष रहेका कमल थापा र राजेन्द्र लिङ्देन भने अस्तित्व रक्षाका लागि एमालेसँगै पुगेका छन् । राप्रपा छोडेर राप्रपा नेपाल बनाएका कमल थापा यसअघि स्थानीय चुनावमा एमालेकै चुनाव चिह्न सूर्यमा चुनाव लडेका थिए । यसपटक उनले कुन चिह्न लिएर चुनाव लड्छन् भन्ने स्पष्ट भइसकेको छैन ।
स्थानीय तह निर्वाचनका वेला गठबन्धन नै नगर्ने घोषणा गरेका राजेन्द्र लिङ्देन पनि उनै केपी शर्मा ओलीसँग गठबन्धन गर्ने तयारीमा छन् ।
हुन त अघिल्लो निर्वाचनमा सिंगो राप्रपाले कांग्रेससँग गठबन्धन गरेको थियो । तर, लिङ्देन भने एमालेसँग गठबन्धन गरेर आफूलाई एक्लै जोगाउन सफल भएका थिए ।
अहिले पनि नेकपा एमालेसँगै वार्ताको लागि टोली बनाएर राप्रपाले कुराकानी गरिरहेको छ ।
लामो समय राप्रपा एकलौटी हाँकेका कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्ष बनेका लिङ्देन अस्तित्व रक्षाका लागि ओलीसँगै गठबन्धनको तयारीमा रहेका छन् ।
अध्यक्षमा पराजित भएसँगै पार्टी परित्याग गरेका थापाले पनि एमालेसँगै गठबन्धनको तयारी थालेका छन् ।
स्थानीय तह निर्वाचनमा भाग लिएका राप्रपा नेपालका अध्यक्ष थापाले एमालेसँग गठबन्धन गरेर उसकै चुनाव चिह्न प्रयोग गरेका थिए ।
त्यसरी चुनावमा भाग लिएका थापाले पार्टीबाट कति उमेदवारले जिते भन्ने हिसाबसमेत राखेका छैनन् । सुरुमा कसैसँग गठबन्धन नगर्ने घोषणा गरेको लिङ्देन नेतृत्वको राप्रपाले पनि गठबन्धन भने गरेको थियो ।
झापामा सत्ता गठबन्धनसँग मिलेर एमालेका उमेदवार हराएको थियो भने चितवनमा त्यही एमालेसँग गठबन्धन गरेर चुनाव लडेको थियो ।
मंसिर–४ मा दुवै राप्रपाको एमालेसँगै सहकार्य
प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन अब करिब तीन महिना बाँकी छ । यो निर्वाचनका लागि राप्रपा र राप्रपा नेपाल दुवै गठबन्धनको पक्षमा छन् । उनीहरु दुवैको एमालेसँगै तालमेलको प्रयास लगभग अन्तिम चरणमा पुगेको छ ।
सत्ता गठबन्धनमा पाँच दल छ । त्यसकारण पनि सत्ता गठबन्धसँग तालमेल हुन सक्ने विश्वास यी दुई दलमा छैन ।
राप्रपा नेपालको शक्ति कति हो आकलन गर्ने अवस्था अहिले देखिँदैन । पार्टी महामन्त्री राजाराम बर्तौला चुनावी गठबन्धनका लागि आफूहरु एमालेसँग बढी लचक भएको बताउँछन् ।
बर्तौलाले बाह्रखरीसँग भने, “सत्ता गठबन्धनभित्र धेरै दल छन् । अहिले हामी एमालेसँग गठबन्धन गर्नमा लचक छौँ । अध्यक्षज्यूबाट एमालेसँग संवाद पनि भइरहेको छ ।”
गएको स्थानीय तह निर्वाचनमा एमाले राप्रपा नेपाल गठबन्धन गरेर चुनाव लडेको भन्दै मंसिरमा हुने निर्वाचनमा सोही अनुरूप गठबन्धनको सम्भावना बढी भएको उनले जानकारी दिए ।
लिङ्देनको पार्टी राप्रपाले पनि एमालेसँग सहकार्य गर्ने तयारी गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन गरेर चुनाव लड्ने तयारीस्वरूप गठबन्धन, तालमेल वा सहकार्यबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
यस्तै बैठकले अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको छ ।
राप्रपा महामन्त्री कुन्ती शाहीले बाह्रखरीसँग भनिन्, “सोमबारको बैठकले गठबन्धनको विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएका छौँ । बाँकी निर्णय उहाँले गर्नुहुन्छ ।”
राप्रपाका एक पदाधिकारी भने राप्रपाले एमालेसँग गठबन्धन गर्ने तयारी गरेको बताउँछन् । विशेषगरेर अध्यक्ष राजेन्द्र लिङ्देनले २०७४ मा झापाबाट चुनाव जित्दा एमाले नै निर्णायक भएकाले अहिले पनि एमालेसँग गठबन्धन गर्ने तयारीमा लिङ्देन रहेको उनको भनाई छ ।
लिङ्देनले त्यसकै तयारीस्वरुप एमाले अध्यक्ष ओलीलाई पनि भेटिसकेका छन् । ओलीको निर्वाचन क्षेत्रमा पनि राप्रपासँग बलियो मत भएका कारण ओली लिङ्देनको प्रस्तावमा सहमत भएको उनको भनाई छ ।
“गठबन्धनको कुरा भएको हो तर, त्यसले ठोस रूप भने पाइसकेको छैन । अध्यक्षज्यू तालमेलका लागि लचक हुनुहुन्छ किनभने अघिल्लो पटक तालमेलबाट नतिजा राम्रो आएको थियो,” लिङ्देन निकट एक नेताले भने, “यसपटक उहाँहरूलाई साथ लिएर अघि बढ्ने सम्भावना बलियो छ ।”
राप्रपाले गठबन्धनका लागि वार्ता गर्न आजभोलि नै वार्ता समिति गठन गर्न लागेको छ । वार्ता टोलीले उमेदवारीको मापदण्डको विषयमा निर्णय लिनेछ । पार्टीका मुख्य नेताहरू राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धवलसमशेर जवरा, दिपक बोहोरालगायत नेताहरू सिट सुरक्षित गरेर मात्र वार्ता अघि बढाउने राप्रपाको तयारी छ ।
अध्यक्ष लिङ्देन सत्ता गठबन्धनमा राप्रपाले भाग नपाउने भन्दै एमालेसँग मिलेर अघि बढ्नुको विकल्प नभएको तर्क राखेका छन् ।
त्यसकारण पनि पार्टीमा एमालेसँग मिल्नुको विकल्प नभएको नेताहरू बताउँछन् । महामन्त्री भुवन पाठक तालमेलको सम्पूर्ण अधिकार अध्यक्षलाई भएको भन्दै अहिले कुन दलसँग मिल्ने निर्णय भइनसकेको बताउँछन् ।
“दुवैतिर हामी लचक छौँ । जता कुरा मिल्छ गठबन्धन त्यतै हुन्छ । तर, अहिले गठबन्धनको सम्भावना एमालेसँग बढी छ,” उनले भने ।