काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादकपदार्थ सेवन गरेर स्कुल बस चलाउने ६ चालकलाई कारबाही गरेको छ । आइतबार बिहान साढे ५ देखि साढे ८ बजेसम्म गरिएको चेकजाँचका क्रममा मापसे गरेका चालक कारबाहीमा परेका हुन् ।
ट्राफिक प्रहरीको नियमित चेकिङका क्रममा अरू ट्राफिक नियम उल्लंघन गर्ने स्कुल बसका थप आठ चालक समेत कारबाहीमा परेका छन् ।
मदिरा सेवन गरी स्कुलका सवारीसाधन चलाएका चालकलाई नियन्त्रणमा लिई सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालकमार्फत विद्यार्थीलाई गन्तव्यमा पठाइएको उक्त कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
कार्यालयले यही साउन ८ गतेदेखि स्कुल बसको चेकजाँच अभियान थालेको हो । यो अवधिमा मापसे गरेर स्कुल बस चलाउने २२ र अरू ट्राफिक नियम उल्लघंन गर्ने ९५ स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको जनाइएको छ ।