काठमाडौं । नेयमारको दुई गोलप्रेरित पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले शनिबार राति फ्रेन्च लिग वानमा मोन्टपेलियरलाई ५–२ ले हराएको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको नेतृत्वमा पीएसजीको यो लगातार दोस्रो जित हो ।
फ्रान्सका स्टार काइलियन एमबाप्पे २३औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, घरेलु टोली पीएसजीले फलाए साकोको आत्मघाती गोलबाट ३९औं मिनेटमा अग्रता लियो । पहिलो हाफ सकिन दुई मिनेट बाँकी हुँदा नेइमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
५१औं मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो गोल थपे । वाहबी खजरीले ५८औं मिनेटमा गरेको गोलबाट मोन्टपेलियरले पुनरागमनको प्रयास गरेको थियो । ६९औं मिनेटमा पीएसजीका एमबाप्पेले अर्को गोल थपे । ८८औं मिनेटमा रेनाटो सान्चेजले अर्को पाँचौं गोल थपेपछि पीएसजीको जित सुनिश्चित भएको थियो । इन्जो साओले इन्जुरी समयमा गरेको मोटपेलियरलाई सान्त्वना बन्यो ।
प्रशिक्षकका रुपमा गाल्टियरको यो पहिलो घरेलु मैदानमा भएको खेल थियो । पीएसजीले पहिलो खेलमा क्लेयरमन्ट फुटलाई ५–० ले हराएको थियो ।