काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले युवा वर्गमा मुलुकभित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताए । प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिहरूको कार्ययोजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताए । उनले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकासलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए ।
प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको बताए । युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउनुपर्नेमा उनको जोड छ ।
प्रधानमन्त्री देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तरपुस्ता सीप हस्तानान्तरणलगायत कार्यलाई थप प्रभावकारी बनाउने बताए ।