काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल प्राध्यापक संघले आयोजना गरेको ‘६०औँ वार्षिक दिवस÷हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’मा उनले विश्वविद्यालयहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताएका हुन् । उनले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने पनि बताए ।
“विश्वविद्यालयका समस्या, चुनौतीहरूलाई आपसी संवाद र समस्याको समाधान गर्ने कुरामा जोड दिन चाहन्छु । यसमा प्राध्यापक संघको पनि आवश्यक भूमिकाको अपेक्षा गर्दछु,” उनले भने, “कुनै पनि मुलकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ । विश्वविद्यालयहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ ।”
उनले विश्वविद्यालयहरूको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी बनाउन प्राध्यापकहरू प्रयत्नशील हुन आवश्यक रहेको औँल्याए । प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी र रोजगारमूलक बनाउनुपर्नेमा जोड दिए ।
“विश्वविद्यालयको पठनपाठनलाई गुणस्तरीय, समसामयिक, प्रविधिमैत्री हुने गरी अघि बढाउने मूल जिम्मेवारी पाएका प्राध्यापकहरूले उच्च शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी, रोजगारमूलक बनाउने, देश र जनताको हितमा आफूलाई अझ समर्पित गर्दै लानुहुनेछ भन्ने अपेक्षा छ,” उनले भने ।