काठमाडौं । सन् २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का उपविजेता आर्थर गन् भनी चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेल नेपाल आउने भएका छन् ।
डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा यही महिना उनलाई नेपाल ल्याइने घोषणा भएको हो । आर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।
सन् २०२० मा अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको १८औँ सिजनको एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता निकै बढेको थियो । टुबोर्गले ब्रेन सर्भिसिङ र एम.एन्. इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन सफल भएको बताइएको छ ।
गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, “टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैँ समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गन्सँग आबद्ध हुन पाउँदा निकै गर्व महसुस गरेका छौँ । किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरूलाई गौरवान्वित बनाएका छन् ।”
नेपाल फर्केर आउन पाउँदा आर्थर गन् धेरै खुसी भएको बताउँछन् । यस टुरलाई सम्पन्न गर्न सहयोग गरेकोमा टुबोर्गप्रति निकै धन्य रहेको पनि उनले बताए ।