site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अघिल्लोपटक हारेका कांग्रेसका ‘हेबिवेट’ ९ नेता : यसपटक कति सुरक्षित छन् ? 

काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । दलहरू यतिबेला चुनाव जित्ने रणनीतिक दौडमा छन् । दलका कतिपय नेताहरू भने टिकट प्राप्त गर्ने दौडधुपमा लागिसकेका छन् । 

२०७४ सालमा सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनले नेकपा (एमाले)लाई पहिलो दल बनाएको थियो । 

माओवादीसँग सहकार्यमा वाम गठबन्धन बनाएर चुनावमा जाँदा एमाले पहिलो भएको थियो भने माओवादीले तेस्रो शक्तिको रूपमा आफूलाई उभ्याउन सफल भएको थियो । एउटै घोषणापत्रमा चुनाव लडेर चुनावपछि पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपा बने पनि अहिले नेकपा भन्ने दल अस्तित्वमा छैन । 

पाँचवर्ष बित्दा राजनीतिक समीकरण फेरिएको छ । नेकपा अब इतिहास भइसकेको छ । एमाले पनि ‘सग्लो’ दल बाँकी रहेन । एमाले विभाजन भएर नेकपा(एस) जन्मिइसकेको छ । स्थानीय तह निर्वाचनबाट उसको शक्ति परीक्षण पनि भइसकेको छ । 

२०७९ वैशाख ३० गते सम्पन्न भएको निर्वाचन गठबन्धन भर्सेस गठबन्धन नै भयो । 

एकातिर सत्ता गठबन्धनको नाममा वाम–लोकतान्त्रिक समीकरण बन्यो । कांग्रेस माओवादी, नेकपा(एस), जसपा र राजमो गठबन्धनमा बाँधिए । 

एमाले पनि एक्लै चुनावमा गएन । उसले राजतन्त्रको वकालत गर्ने राप्रपा नेपालदेखि नेपाल परिवार दलसम्मलाई सँगै लिएर हिँड्यो । 

स्थानीय चुनावले कांग्रेसलाई पहिलो शक्ति र एमालेलाई दोस्रो शक्तिको रुपमा उभ्यायो पनि । अहिले पनि कांग्रेस सत्ता गठबन्धनलाई निरन्तरता दिएर चुनाव लड्न चाहन्छ भने एमाले पनि सम्भव भएका दलहरुसँग गठबन्धन गरेर चुनावी प्रतिष्पर्धामा होमिने तयारीमा छ ।

२०७४ मा सम्पन्न भएको निर्वाचनलाई फर्किएर हेर्दा कांग्रेस प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको थियो । कांग्रेसका धेरै प्रभावशाली नेताहरूले चुनाव हारेका थिए । उनीहरु वाम गठबन्धनका अगाडि निरीह बन्न पुगेका थिए । 

तर, पाँचवर्ष पश्चात् फेरिएको समीकरणमा ती हारेका नेताहरु चुनावी मैदानमा उत्रने तयारीमा छन् ।  स्थानीय तह निर्वाचनले पनि उनीहरुको क्षेत्रमा कस्को अवस्था कस्तो छ भनेर देखाइसकेको छ । 

यसै सन्दर्भमा बाह्रखरीका रोमन आचार्यले स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई जोडेर कांग्रेसका शीर्ष नेताहरु कति सुरक्षित छन् भन्ने तथ्यांक विश्लेषण गरेका छन् । यसमा स्वतन्त्रले पाएको मत कसका पक्षमा जान्छ, स्थानीय तहमा वडाध्यक्षमा प्राप्त मत संघीय निर्वाचनमा त्यही पार्टीलाई जान्छ कि जाँदैन भन्ने विषयका सीमाहरु भने देखिएका छन् ।

०००

गठबन्धन नभए पनि शेखरलाई सहज तर डर अन्तर्घातको

सत्तारूढ दल नेपाली कांग्रेस नेता शेखर कोइरालाको निर्वाचन क्षेत्र मोरङ ६ मा पर्छ । यहाँ विराटनगर महानगरपालिका वडा नम्बर ४, ५, ६, ७, ९, ११ र १२ तथा बुढीगंगा गाउँपालिकाको ७ वटै वडा पर्दछ । 

डा. कोइरालाको निर्वाचन क्षेत्रमा सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ पनि पर्दछ ।

२०७४ को निर्वाचनमा डा. कोइराला पराजित भएका थिए । उनी नेकपा(एमाले)का नेता लालबाबु पण्डितसँग थोरै मतान्तरले पराजित भएका थिए । पण्डितले ३३ हजार ९४१ मत ल्याउँदा डा. कोइरालाले ३३ हजार २६६ मत प्राप्त गरेका थिए । 

morang.jpg

अर्थात् ६७५ को झिनो मतान्तरले उनले पराजय भोगेका थिए । त्यतिबेला, एमाले नेता पण्डित वाम गठबन्धनको उमेदवारको रुपमा चुनाव लडेका थिए । गठबन्धनमा माओवादी पनि थियो ।

तर, परिस्थिति अहिले फेरिएको छ। अहिले एमाले एक्लै चुनावी मैदानमा होमिने अवस्था छ । २०७४ सालको गठबन्धनबाट माओवादी मात्र बाहिरिएको छैन स्वयम् एमाले पनि फुटेको छ । नेकपा एकीकृत समाजवादीले एमालेको मत काट्ने अवस्था छ । 

वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतलाई विश्लेषण गर्ने हो भने जित कांग्रेसकै देखिन्छ । 

वडा तहको मतलाई जोड्दा कांग्रेस यहाँ पहिलो पार्टी हो । कोइरालाको निर्वाचन क्षेत्रमा पर्ने विराटनगर महानगरपालिका ४, ५, ६, ७, ९, ११, १२ वडाबाट कांग्रेसले ११ हजार ४२६ मत पाउने देखिन्छ । जबकि यहाँ एमालेसँग ८ हजार ५३४, माओवादी केन्द्रसँग २ हजार ५१०, जनता समाजवादी पार्टीसँग ३ हजार ४२० र नेकपा एकीकृत समाजवादी पार्टीसँग १ हजार ३ सय मत रहेको छ । 

यस्तै कोइरालाको निर्वाचन क्षेत्रमा पर्ने बुढीगंगा गाउँपालिकामा पनि गएको स्थानीय तह निर्वाचनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो । 

वडातर्फ कांग्रेसको ८ हजार १६२, एमालेले ६ हजार २४० मत ल्याएको छ । सुन्दरहरैँचा नगरपालिकामा भने एमालेले १० हजार ४६३ मत प्राप्त गर्दा कांग्रेसले ८ हजार ८४० मत ल्याएको छ । 

वडातर्फको मत हेर्दा मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेससँग २८ हजार ४२८ मत छ । जबकी एमालेसँग २५ हजार २३६ मत छ ।

माओवादीले ५ हजार ३५६ मत ल्याउँदा जनता समाजवादी पार्टीले ३ हजार ९३९ तथा नेकपा(एकीकृत समाजवादी)ले २ हजार ३६९ मत ल्याएको छ । 

निर्वाचन आयोगको तथ्यांकलाई जोड्दा लोकतान्त्रिक समाजवादी पार्टीले ९०५ मत र राप्रपासहितको अन्य साना दलहरूले ४ हजार ९७६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवारहरूले ५ हजार २९५ मत ल्याएका छन् ।

स्थानीय तह निर्वाचनजस्तै सत्ता गठबन्धनमा आवद्ध दलहरू चुनावी गठबन्धन गर्ने निश्चित भइसकेको छ । 

कांग्रेस नेता कोइरालाले टिकट पाए र गठबन्धनको सहयोग भए उनले ४० हजार ९२ मत पाउन सक्ने स्थानीय तह निर्वाचनको मतले देखाउँछ । 

यदी एमालेले गठबन्धन बाहेकका साना दलहरू र स्वतन्त्र उमेदवारको मत एकीकृत गर्न सके ३६ हजार ४१२ मत आउने सम्भावना वैशाख ३० मा सम्पन्न भएको निर्वाचनले देखाउँछ । अर्थात् यहाँ गठबन्धन भए वा दलहरू एक्लाएक्लै चुनाव लडे पनि कांग्रेस बलियो शक्तिको रूपमा रहेको निर्वाचन आयोगको तथ्यांकले इंगित गरेको छ ।

तर यसअघिको निर्वाचनमा पनि कोइरालालाई अन्तर्घात बढी भएको कांग्रेसवृत्तमा चर्चा चलेको थियो । जुन सम्भावना अहिले पनि कायमै रहेको नेताहरु बताउँछन् । किनकि भर्खरमात्रै स्थानीय तहको निर्वाचनमा देखिएको अवस्थाले त्यस्तो संकेत गर्दछ ।

उपसभापति खड्का ‘सेफ साइड’ मा 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र सुर्खेत १ मा पर्छ । उनी यसपटक पनि यही क्षेत्रबाटै चुनाव लड्ने तयारीमा छन् । उनी गठबन्धनको सहयोगमा चुनाव लड्ने तयारीमा छन् । खड्का २०७४ सालमा भएको निर्वाचनमा भने वाम गठबन्धनको उमेदवारसँग पारजित भएका थिए । उनी एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका थिए । शाहीले ३६ हजार ७५९ मत ल्याउँदा उनले ३३ हजार ३७७ मत ल्याएका थिए । 

तर, अवस्था अहिले फरक छ । अहिले खड्काले टिकट पाए गठबन्धनमा रहेका अन्य दलहरु माओवादी केन्द्र, नेकपा (एस), जसपाले उनलाई सहयोग गर्नेछन् । गएको स्थानीय निर्वाचनमा पनि यहाँ गठबन्धनकै सहयोगमा दलहरुले चुनाव लडेका थिए । 

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत खड्काको निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहहरुमा वडा सभापतिहरुले पाएको मत हामीले जोडेका छौं । 

surkhet.jpg

उक्त मत अनुसार खड्काको निर्वाचन क्षेत्रमा कांग्रेस अघि देखिन्छ ।

उनको निर्वाचन क्षेत्रमा पर्ने गुर्भाकोट नगरपालिकामा कांग्रेस पहिलो दल हो । यहाँ कांग्रेसले १२ हजार १४२ मत पाएको छ । एमालेले ९ हजार ६०१ मत पाउँदा माओवादीलले ७७० मत मात्र पाएको छ । 

यस्तै चिङ्गाढा गाउँपालिकामा कांग्रेसले ३ हजार ३२१ मत पाउँदा एमालेले ३ हजार २१७ मत ल्याएको छ । 

माओवादीको ७०० मत छ । सिम्ता गाउँपालिकामा कांग्रेस दोस्रो दल हो ।  यहाँ ६ हजार ३२ मतका साथ एमाले पहिलो दल हो । कांग्रेसको भने ५ हजार ३३० मत छ । 

लेकवेशी नगरपालिकामा कांग्रेस ६ हजार ४९८ मतका साथ पहिलो, ५ हजार ८९९ मतका साथ एमाले दोस्रो दल हो । 

यहाँ माओवादीको १ हजार ३६ मत छ । यता भेरीगंगा नगरपालिकामा कांग्रेसले ६ हजार ६७६ मत ल्याउँदा एमालेले ६ हजार ३८१ र माओवादीले एक हजार २२२ मत प्राप्त गरेको छ । 

कुल मततर्फ कांग्रेसले गएको स्थानीय निर्वाचनबाट ३३ हजार ९६७ मत ल्याएको छ । यस्तै एमालेसँग ३१ हजार १३० र माओवादीसँग ३ हजार ९९९ हजार मत छ । नेकपा(एस)सँग ६०५ तथा जसपासँग १७७ र अन्य दलहरूसँग १ हजार ९०३ मत छ । यहाँ गठबन्धनको कुल मत ३८ हजार ७४८ देखिन्छ ।

महामन्त्री शर्मालाई चुनाव जित्न सकस !

स्थानीय तह निर्वाचनको मतले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा निर्वाचन विजय हासिल गर्न सहज वातावरण देखाउँदैन । 

शर्माको निर्वाचन क्षेत्र झापा १ हो । यहाँ मेची नगरपालिकाको सबै वडा, भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० तथा बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ नम्बर वडा पर्दछ । 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले शर्माको निर्वाचन क्षेत्रमा एमालेलाई पहिलो पार्टीको रूपमा मत आएको छ । 

शर्मामाथि आफ्नै गृह पालिका मेचीनगरमा पनि कांग्रेसलाई जिताउन नसकेको आरोप छ ।

अन्तिम समयमा टिकट खोसेर आफ्नो टिमको उमेदवारलाई दिलाउन सफल भए पनि उनले चुनाव भने जिताउन सकेनन् । 

jhapa.jpg

वडा अध्यक्षले पाएको मत जोड्दा शर्माको पार्टीले गृह नगरमा २० हजार १४६ मत पाएको छ ।  जबकी एमालेले २४ हजार ६३६ मत ल्याउँदा माओवादीसँग ३ हजार ४७५ मत छ । 

यता राप्रपासहित अन्य दलहरूले ५ हजार ३३३ मत ल्याएका छन् । यहाँ स्वतन्त्र उमेदवारले १ हजार ८७८ मत ल्याएका छन् । 

यस्तै शर्माकै निर्वाचन क्षेत्रमा पर्ने बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ बाट उनको पार्टीलाई ४ हजार १६५ मत आएको देखिन्छ । एमालेले भने ३ हजार ७४६ मत ल्याउँदा माओवादीसँग ३५४ मत मात्र छ । शर्माको निर्वाचन क्षेत्रमा पर्ने भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० बाट शर्माको पार्टी कांग्रेसले १ हजार १७१ मत ल्याउँदा एमालेले भने २ हजार ८४१ र नेकपा(एकिकृत समाजवादी) ले ७८६ मत ल्याएको छ । 

झापा क्षेत्र नम्बर १ मा गएको स्थानीय तह निर्वाचनबाट वडागत हिसाव गर्दा कांग्रेससँग २५ हजार ४८२ मत देखिन्छ । 

यस्तै एमालेसँग ३१ हजार २२० मत छ । नेकपा (माओवादी केन्द्र)सँग ३ हजार ४७५ मत छ भने नेकपा (एकिकृत समाजवादी)सँग १ हजार २३७, लोकतान्त्रिक समाजवादी पार्टीसँग १४३ तथा जनता समाजवादी पार्टीसँग ६९ मत छ । 

शर्माको निर्वाचन क्षेत्रमा राप्रपालगायत अन्य दलसँग ७ हजार ७८९ मत छ भने स्वतन्त्र उमेदवारको मत ४ हजार २७ छ । 

दलहरू एक्लाएक्लै लड्ने हो भने झापा क्षेत्र नम्बर १ मा एमाले बलियो छ ।  स्थानीय तह निर्वाचनजस्तै सत्ता गठबन्धन भए पनि शर्मालाई जित्न कठिन देखिन्छ । 

वडागत मतलाई जोड्दा गठबन्धनसँग ३० हजार २६३ मत हुन आउँछ । 

जबकी यो मत एमालेभन्दा ९७५ ले कम हो । यहाँ शर्मालाई जिताउन राप्रपालगायत साना दल र स्वतन्त्र उमेदवारलाई आएको मत निर्णायक हुनेछ । 

शर्माले गठबन्धन र राप्रपालगायत अन्य दलको मत लिन सके जित निश्चित छ । यस्तै स्वतन्त्र उमेदवारसँग पनि ४ हजार २७ मत छ । 

तर, राप्रपाले यहाँ कांग्रेसलाई मत दिन्छ या दिँदैन भन्ने निर्णय झापा ३ र झापा ५ को गठबन्धनमा पनि भर पर्छ । क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले सहयोग गरे झापा क्षेत्र नम्बर ५ र क्षेत्र नम्बर १ मा राप्रपाको भोट एमालेलाई जाने निश्चित छ । 

२०७४ सालको निर्वाचनमा पनि झापामा वाम गठबन्धनमा राप्रपा पनि मिसिएकाले शर्मा र सिटौला र झापा क्षेत्र नम्बर २ मा उद्धव थापा कांग्रेसबाट पराजित हुनुपरेको थियो । 

तर यसअघि उक्त निर्वाचन क्षेत्र माओवादीले जितेको हुँदा त्यहाँ कांग्रेस उमेदवारले टिकट पाउँछन् या पाउँदैनन् भन्ने चुनौती भने कायमै छ ।

०७४ मा राम कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माले ३३ हजार ३१० मत ल्याएका थिए ।

सिटौलालाई लिङ्देन बाधक !

कांग्रेस नेता कृष्ण सिटौलाको निर्वाचन क्षेत्र हो झापा । उनी झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्नेछन् । सिटौला २०७४ सालको निर्वाचनमा यहाँबाट पराजित भएका थिए । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरेका थिए । 

वाम गठबन्धनको सहयोगमा उनले चुनाव जितेका थिए । लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा सिटौलाले ३१ हजार १७१ मतमात्र ल्याउन सफल भएका थिए । 

यसपटक पनि लिङ्देनले यहीँबाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।  सिटौला पनि यहीँबाट चुनाव लड्ने तयारीमा छन् । सिटौला सत्ता गठबन्धनको सहयोगमा चुनाव लड्ने निश्चित छ । 

लिङ्देनले पनि यसपटक झापाका अन्य क्षेत्रमा नेकपा एमालेलाई सहयोग गरेर आफू चुनाव लड्छन् वा के गर्छन् त्यो खुलाइसकेका छैनन् । 

jhapa3.jpg

सिटौलाको निर्वाचन क्षेत्रमा विर्तामोड नगरपालिकाको १० नम्बर वडा, भद्रपुर नगरपालिकाको ९ र १० बाहेक ८ वटा वडा तथा  बाह्रदशी गाउँपालिका, कचनकवल गाउँपालिका र हल्दिवारी गाउँपालिका पर्दछन् । 

गएको स्थानीय तह निर्वाचनको मतअनुसार कचनकवल गाउँपालिकामा कांग्रेस पहिलो दल बनेको छ । 

यहाँ राप्रपा हराउन एमाले पनि कांग्रेससँग तालमेल गर्न आएको थियो । वडागत मतको हिसाव गर्दा कचनकवल गाउँपालिकामा कांग्रेससँग ८ हजार ५५४ मत छ । यस्तै एमालेसँग ३ हजार १४९, माओवादीसँग १४१० र राप्रपासँग ६ हजार १२९ मत छ । 

यता, हल्दिबारी गाउँपालिकामा वडागत मत अनुसार राप्रपासँग ५ हजार १७६ मत, एमालेसँग ४ हजार ७८५ तथा कांग्रेससँग ३ हजार ९५५ मत आएको छ । माओवादीसँग १ हजार ७०२ मत छ । 

बाह्रदशी गाउँपालिकामा कांग्रेससँग ५ हजार ४०८, एमालेसँग ५ हजार ३२४ मत रहेको वडागत विश्लेषणले देखाउँछ ।

जबकी यहाँ राप्रपासँग ३ हजार ६०२ मत स्थानीय तह निर्वाचनबाट आएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । 

सिटौलाको गृह पालिका भद्रपुरमा पनि कांग्रेस दोस्रो शक्ति हो । भद्रपुरमा कांग्रेसले ६ हजार ३० मत प्राप्त गर्दा एमालेले ६ हजार २३८ र राप्रपाले ६ हजार ३११ मत स्थानीय तह निर्वाचनबाट वडा तहमा पाएको छ । 

माओवादी केन्द्रसँग २ हजार ६५८ मत छ । यस्तै, विर्तामोड १० मा कांग्रेसँग १ हजार ९९३, एमालेसँग १ हजार ५५९ मत छ ।

गएको स्थानीय तह निर्वाचनको वडागत मत जोड्दा झापा क्षेत्र नम्बर ३ मा कांग्रेस पहिलो शक्ति हो । 

कांग्रेससँग २५ हजार ९४० मत छ । यस्तै दोस्रो शक्ति राप्रपा हो । राप्रपासँग २१ १५९ मत छ भने तेस्रो शक्ति एमालेसँग २१ हजार ८५ मत छ । 

चौथो शक्ति माओवादीसँग ६ हजार ७०८ मत छ ।  जसपासँग ५३७, लोसपासँग २०८, नेकपा(एस) सँग १२ तथा साना दलसँग २ हजार ६२५ मत छ । 

दलहरु एक्लाएक्लै चुनाव लडे सिटौला हराउन लिङ्देनलाई सहज छैन ।  गठबन्धनको सहयोगमा चुनाव लड्ने भएसँगै सिटौलासँग ३३ हजार १९७ मत पुग्ने देखिन्छ । 

यहाँ निर्णायक शक्ति एमाले हो । एमालेले आफ्नै उमेदवार अघि बढाउँछ या लिङ्देनलाई सहयोग गर्छ त्यसमा सिटौलाको जित हार निर्णायक बन्नेछ । 

रामचन्द्रलाई हाइसन्चो, कारबाहीमा परेका जोशीको परीक्षा !

गएको स्थानीय तह निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट चुनाव हारेका थिए ।  उनी एमाले नेता कृष्ण कुमार (किसान) श्रेष्ठसँग चुनाव हारेका थिए । 

वाम गठबन्धनको बलमा श्रेष्ठले ३४ हजार ४९२ मत ल्याउँदा कांग्रेस नेता पौडेलले २७ हजार ६९० मत ल्याएका थिए । 

तर, अहिले परिस्थिति फेरिएको छ । वाम गठबन्धन अहिले छैन । रामचन्द्र पौडेल चुनाव लडे सत्ता गठबन्धनको सहयोगमा चुनाव लड्ने निश्चित छ । 

तर उक्त निर्वाचन क्षेत्रबाट विजय भएका श्रेष्ठ नेकपा एसमा सक्रिय छन् । मन्त्री पनि भइसकेका सिट बाँडफाँडमा उनले उक्त निर्वाचन क्षेत्र नछाडे समस्या पर्ने देखिन्छ । तर उनले निर्वाचन क्षेत्र कांग्रेसका लागि छाडिदिए भने पौडेललाई सहज देखिन्छ । 

गएको स्थानीय तह निर्वाचनअनुसार पौडेलको निर्वाचन क्षेत्र तनहुँ १ मा कांग्रेस पहिलो शक्ति हो । 

त्यसपश्चात् एमाले र तेस्रो शक्ति माओवादी हो । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिका वडा नम्बर ५ र ६ बाहेक भानु नगरपालिका, देबघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछ । 

निर्वाचन आयोगको तथ्यांकअनुसार वडागत मतलाई जोड्दा व्यास नगरपालिकामा कांग्रेसले ११ हजार २५२ मत पाएको छ ।

tanahu.jpg

जबकी एमालेले ६ हजार १२३ मत ल्याएको छ । यस्तै भानु नगरपालिकामा कांग्रेसले ११ हजार २४२ मत प्राप्त गर्दा एमालेले ७ हजार ७०६ मत ल्याएको छ । 

आँबुखैरेनी गाउँपालिकामा माओवादीले ३ हजार २५ मत प्राप्त गर्दा कांग्रेसले २ हजार ८४८ र एमालेले १ हजार ६४६ मत ल्याएको छ । 

देबीघाट गाउँपालिकामा कांग्रेसले ४ हजार १६९ प्राप्त गर्दा एमालेले ३ हजार ३२० मत पाएको छ । 

बन्दीपुरमा भने एमाले पहिलो दल हो । यहाँ एमालेले ३ हजार ४१५ मत, माओवादीले २ हजार ९६८ तथा कांग्रेसले २ हजार ८६९ मत स्थानीय तह निर्वाचनमा वडातहबाट मत पाएको छ । 

पौडेलको निर्वाचन क्षेत्रमा कांग्रेसले वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा तहबाट ३२ हजार ३८० मत प्राप्त गरेको छ ।

यस्तै एमालेले २२ हजार २१० तथा माओवादीले ८ हजार ४४४ मत पाएको छ । राप्रपासहित अन्य दलले २ हजार १२२, नेकपा(एस)ले ८९२ मत पाएको छ । 

जसपाले ५४ र स्वतन्त्रले ३ हजार ९९२ मत पाएको छ । पौडेलले टिकट पाए गठबन्धनको सहयोगमा ४१ हजार ७७० मत ल्याउने देखिन्छ । 

तर, यो निर्वाचन क्षेत्रमा विगतमा निर्वाचन जितेका गोविन्दराज जोशीलाई कांग्रेसले कारबाही गरेर पार्टीबाटै निकालेको छ । अघिल्लो चुनावमा विद्रोही उमेदवारी दिँदा पौडेलकै उजुरीमा जोशीको उमेदवारी निर्वाचन आयोगले रद्द गरिदिएको थियो । निर्वाचन आयोगले फौजदारी अभियोग लागेको भन्दै भ्रष्टाचार मुद्दालाई आधार बनाएर उमेदवारी खारेज गरेकाले उनी उमेदवार बन्न पाउने आधार बनिसकेको छैन । तर, जोशीले भने उमेदवारी दिने घोषणा गरिसकेका छन् ।

विगतमा वाम गठबन्धनका उमेदवार कृष्णकुमार श्रेष्ठसँग निर्वाचन हार्दा पौडेलले वाम गठबन्धन नभएर जोशीलाई नै कारण देखाएका थिए । त्यही कारण कांग्रेसले उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालेको छ । तर, अझै पनि जोशीको प्रभाव त्यहाँ रहेकाले पौडेलका लागि जोशी नै चुनौतीका रूपमा रहने कतिपयको बुझाइ छ ।

स्याङ्जा २– मत कांग्रेसको पक्षमा, गोपालमानप्रति छैन विश्वास !

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको निर्वाचन क्षेत्र स्याङ्जा २ हो ।

श्रेष्ठ २०७४ सालको निर्वाचनमा यहाँबाट पराजित भएका थिए । वाम गठबन्धनको उमेदवारसँग पराजित भएका उनी यसपटक सत्ता गठबन्धनको सहयोगमा निर्वाचन जित्ने दाउमा छन् । 

अघिल्लो पटकको निर्वाचनमा उनी एमाले नेतृ पद्मा कुमारी अर्यालसँग पराजित भएका थिए । अर्यालले ३५ हजार १४२ मत ल्याउँदा श्रेष्ठले ३१ हजार ४३६ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । 

श्रेष्ठको निर्वाचन क्षेत्रमा वालिङ नगरपालिका वडा नम्बर ३ र ४ बाहेकका वडा पर्दछन् । यहाँ कांग्रेसले ११ हजार १८८ मत प्राप्त गर्दा एमालेले ११ हजार १२५ मत प्राप्त गरेको छ । 

यो मत गएको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मतको जोड हो । यस्तै कालिगण्डकी गाउँपालिकामा भने एमाले पहिलो दल हो । 

syanja.jpg

वडागत रुपमा विश्लेषण गर्दा एमालेले ६ हजार ११९ मत प्राप्त गर्दा कांग्रेसले ५ हजार ६७५ मत प्राप्त गरेको छ । 

चापाकोट नगरपालिकामा कांग्रेसले ६ हजार ९२४ मत तथा एमालेले ५ हजार ७१८ मत ल्याएको छ । 

भिरकोट नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ बाट कांग्रेसलाई ३ हजार ८४६ मत आउँदा एमालेलाई २ हजार ७९५ मत आएको छ । 

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको तथ्यांकअनुसार स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेस पहिलो दल हो । 

यो श्रेष्ठको निर्वाचन क्षेत्र हो । कांग्रेसले यो निर्वाचन क्षेत्रमा ३६ हजार ८६० मत ल्याउँदा एमालेले ३३ हजार ८०९ मत ल्याएको छ ।

करिब ३ हजार मतले एमालेभन्दा कांग्रेस अघि छ । यस्तै माओवादीले १ हजार ४४७ मत ल्याउँदा नेकपा (एस)ले २४७ तथा राप्रपासहित अन्य दलले १ हजार १५९ मत ल्याएको देखिन्छ ।

जसपाले ५९ र स्वतन्त्र उमेदवारहरुले ५९० मत ल्याएका छन् । गठबन्धन भए यो क्षेत्र कांग्रेसका लागि सहज क्षेत्र देखिन्छ ।

तर श्रेष्ठ नै अघि बढे चुनौती कायमै छ । कांग्रेसभित्र देखिएको गुटबन्दीका कारण श्रेष्ठलाई सबैभन्दा चुनौती देखिन्छ । 

यो क्षेत्रमा गठबन्धनको ३८ हजार ६१३ मत देखिन्छ । जबकी एमालेले राप्रपासहित अन्य दल र स्वतन्त्रकोसमेत मत लिन सके ३५ हजार ५५८ मत ल्याउने वडा तहको मतले देखाउँछ ।

निधि बलियो अवस्थामै, लोसपासँग गठबन्धन भए टिकटमै ‘टेन्सन’ !

नेपाली कांग्रेसका निवर्तमान उपसभापति विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्छन् ।  २०७४ सालमा भएको निर्वाचनमा उनी यहाँबाट पराजित भएका थिए । 

निधि तत्कालीन राजपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।  महतो अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा छन् । २०७४ को चुनावमा निधिले २७ हजार ८७४ मत ल्याएका थिए । 

जबकी राजपा नेता राजेन्द्र महतोले ३० हजार ७५० मत ल्याएका थिए ।  तर, अहिले अवस्था बदलिएको छ । राजपा एक मोर्चा छैन । बरु कांग्रेसलाई गठबन्धनको साथ मिल्ने देखिन्छ । 

धनुषा क्षेत्र नम्बर ३ मा विदेह नगरपालिकाको १ नम्बर वडा पर्दछ । गएको स्थानीय तह निर्वाचन अन्तर्गत वडा तहको मत हेर्ने हो भने कांग्रेससँग यहाँ १५४, एमालेसँग ३७२, नेकपा(एस) ३६५ मत छ । 

यता, निर्वाचन क्षेत्रमा पर्ने धनौजी गाउँपालिकामा वडा अध्यक्षको मत जोड्दा कांग्रेस पहिलो शक्ति हो । 

कांग्रेससँग यहाँ २ हजार ८१६ मत छ । यस्तै एमालेसँग १ हजार ५७९, नेकपा(एस) १ हजार २७ तथा लोसपासँग १ हजार ५९० मत छ । 

dhanusha.jpg

यस्तै नागराइन नगरपालिकमा कांग्रेससँग ५ हजार ९७५ मत छ भने एमालेसँग ६ हजार ०७० मत छ । लोसपासँग १ हजार ५४३ मत छ । 

मुखियापट्टी मुसहरमिया गाउँपालिकामा कांग्रेससँग २ हजार ८९० मत, एमालेसँग २ हजार २१८ मत रहेको वडा अध्यक्षले ल्याएको मत छ । यहाँ सर्वाधिक मत जसपासँग छ । जसपाले गएको स्थानीय तह निर्वाचनमा ४ हजार १७२ मत ल्याएको थियो । 

निधिको निर्वाचन क्षेत्रमा जनकपुरधाम उपमहानगरपालिकाको पनि धेरै वडाहरु पर्दछन् ।  यहाँबाट निधिको पार्टी कांग्रेसका वडा अध्यक्षहरुले कुल मत १० हजार ४६६ मत ल्याएको छ । 

यस्तै एमालेले ६ हजार ५३८, लोसपाले ५ हजार ४५७, जसपाले २ हजार ६३२ मत ल्याएको छ । 

कुल मतमा हेर्ने हो भने गएको स्थानीय तह निर्वाचनबाट धनुषा क्षेत्र नम्बर ३ बाट कांग्रेसलाई २३ हजार ३०१ मत प्राप्त भएको छ । 

यस्तै नेकपा(एमाले)ले १६ हजार ७७७ मत ल्याउँदा नेकपा(एस)ले ३ हजार ५४६ मत ल्याएको छ ।  जनता समाजवादी पार्टीले ८ हजार ३१८  मत, लोसपाले ८ हजार ७६७ मत ल्याउँदा स्वतन्त्र उमेदवारले ५ हजार ३४० र अन्य साना दलहरुले ४ हजार ३७९ मत प्राप्त गरेका छन् ।

निधिलाई गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी, नेकपा(एस), जसपाले साथ दिने हो भने ३५ हजार ७ मत आउन सक्ने देखिन्छ ।

यता, स्वतन्त्र र अन्य दलका उमेदवारसँग यो निर्वाचन क्षेत्रमा ९ हजार ७१९ मत छ । यो मत र एमालेले पनि लोसपालाई साथ दिए ३५ हजार २६३ मत आउने देखिन्छ ।

निधि आफ्नो क्षेत्रमा बलिया देखिए पनि विगतमा उनले सबै दल मिल्दा चुनाव लोसपा नेता राजेन्द्र महतोसँग हारेका थिए । कांग्रेस सभापतिसमेत रहका प्रधानमन्त्री देउवा लोसपासँगै गठबन्धनको तयारीमा छन् । त्यसो भयो भने निधिलाई टिकटमै समस्या हुन सक्ने देखिन्छ ।

नुवाकोट फर्कँदै प्रवक्ता डा. महत 

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए । 

उनी एमाले नेता ईश्वर पोखरेलसँग फराकिलो मतले पराजित भएका थिए ।  पोखरेलले २३ हजार २९ मत पाउँदा महतले १३ हजार १६९ मत ल्याएका थिए । 

अर्थात् १० हजार मतान्तरले उनले पराजय भोग्नुपरेको थियो ।  अहिले महत पार्टी प्रवक्ता छन् । निर्वाचन आउन केही समयमात्र बाँकी रहँदा उनी काठमाडौं छोड्ने तयारी गरिरहेका छन् । 

उनी गृह जिल्ला नुवाकोटबाटै चुनाव लड्ने तयारीमा छन् ।  २०७४ मा दाइ डा. रामशरण महत चुनाव लडेको निर्वाचन क्षेत्र नुवाकोट १ बाट चुनाव लड्ने तयारीमा छन् । 

उनको सचिवालयका अनुसार प्रवक्ता महत जिल्ला फर्किएर चुनाव लड्ने लगभग निश्चित भइसकेको छ । 

०७४ मा यो क्षेत्र माओवादीले जितेको थियो । माओवादीबाट हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याउँदा, रामशरण महतले २७ हजार ९२० मत ल्याएका थिए । 

nuwakot.jpg

भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनको तथ्यांकले कांग्रेसलाई पहिलो दलको रुपमा उभ्याएको छ ।  निर्वाचन क्षेत्रभित्र पर्ने स्थानीय तहको वडागत मत जोड्दा माओवादी दोस्रो दलको हो । 

तर, २०७४ को निर्वाचनबाट माओवादीले प्रतिनिधि सभा जितेको हुनाले महतलाई टिकट पाउन सहज भने छैन । 

निर्वाचन क्षेत्रमा पर्ने तादी गाउँपालिकामा कांग्रेस दोस्रो दल हो । उसको मत ३ हजार २६४ छ भने माओवादीको ३ हजार ३४५ मत छ । एमालेको भने १ हजार ९३३ मत छ । सूर्यगढी गाउँपालिकमा भने कांग्रेस बलियो मतका साथ अघि छ । 

उसको ४ हजार २४२ मत छ भने एमालेको २ हजार ७५६, माओवादीको १ हजार ८७८ मत छ । 

पञ्चकन्या गाउँपालिकामा कांग्रेससँग ३ हजार ९४० मत देखिन्छ भने माओवादीसँग ३ हजार ३९० र एमालेसँग १ हजार ७६६ मत पाएको स्थानीय तह निर्वाचनको नतिजाले देखाउँछ । यस्तै शिवपुरी गाउँपालिकामा कांग्रेसको ४ हजार ६७९ मत छ भने एमालेसँग २ हजार ७१७ तथा माओवादीसँग ३ हजार ८४७ मत छ । ककनी गाउँपालिकामा कांग्रेसले ५ हजार ५५ मत पाउँदा माओवादीको ४ हजार ६३६ मत, एमालेसँग ३ हजार ४३८ मत ल्याएको छ । 

स्थानीय तह निर्वाचनको तथ्यांक हेर्दा दुप्चेश्वरी गाउँपालिकामा कांग्रेसले ३ हजार ७४५  मत ल्याउँदा माओवादीले ४ हजार २७२ र एमालेले ३ हजार ३४ मत पाएको छ । 

लिखु गाउँपालिकामा भने कांग्रेसले ४ हजार ३८ मत पाउँदा एमालेले २ हजार ६२३, माओवादीले १ हजार ८३२ मत स्थानीय तह निर्वाचनबाट पाएको छ । 

गएको स्थानीय तह निर्वाचनको वडा तहको मतलाई जोड्ने हो भने क्षेत्र नम्बर २ मा कांग्रेसले २८ हजार ९६२ मत ल्याएको छ । यस्तै माओवादीले २३ हजार २०० र एमालेले १८ हजार २६७ मत ल्याएको छ । 

यता, नेकपा(एस)ले २ हजार २०४, जसपाले ४९, लोसपाले ३ र स्वतन्त्रले ४४५ मत ल्याएका छन् । राप्रपासहित अन्य केही दलले ४ हजार ३०९ मत ल्याएको निर्वाचन नतिजाले देखाउँछ ।

सोलुमा सुरक्षित बलबहादुर 

८ स्थानीय तह रहेको सोलुखुम्वु जिल्लामा एकमात्र निर्वाचन क्षेत्र छ ।  यो निर्वाचन क्षेत्र कांग्रेस नेता बलबहादुर केसीको हो । केसी २०७४ सालको निर्वाचनमा भने पराजित भएका थिए । 

उनी, माओवादी नेता हेमकुमार राईसँग पराजित भएका थिए । राईले २० हजार ७४७ मत ल्याउँदा केसीले १७ हजार २९४ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । 

अघिल्लोपटक यहाँ वाम गठबन्धन थियो । अहिले सत्ता गठबन्धनमा कांग्रेस र माओवादी छन् ।  केन्द्रबाट केसीलाई गठबन्धनका कारण टिकट लिन भने असहज हुन सक्छ । 

टिकट लिए गठबन्धनको भरमा र दलहरु एकल लडे केसीको पक्षमा नतिजा आउने वैशाखमा सम्पन्न स्थानीय तहको नतिजाले देखाउँछ । 

खुम्बुपासाङ गाउँपालिकामा नेकपा(एमाले) पहिलो पार्टी हो । एमालेले यहाँ १ हजार ९७९ मत ल्याएको छ । कांग्रेस यहाँ दोस्रो शक्ति हो । 

कांग्रेसले १ हजार ५०३ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।  माप्य दुधकोशी गाउँपालिकामा पनि कांग्रेस दोस्रो शक्तिनै हो । यहाँ एमाले पहिलो शक्ति हो । 

वैशाखमा सम्पन्न स्थानीय तहको नतिजा अनुसार यहाँ एमालेसँग ३ हजार २४७ मत छ । कांग्रेससँग १ हजार ८९१ मत छ भने माओवादीसँग १ हजार २३१ र नेकपा(एस) १४ तथा जसपासँग २७ मत छ । 

केसीको निर्वाचन क्षेत्रमा पर्ने थुलुङ दुधकोशीमा कांग्रेस दोस्रो दल हो ।  कांग्रेससँग यहाँ ३ हजार ५१५ मत छ भने नेकपा(एमाले) सँग १ हजार ६६५ मत छ । माओवादी पहिलो दलसँग ३ हजार ९३० मत छ । 

solukhumbu.jpg

यता नेचासल्यान गाउँपालिकामा कांग्रेससँग २ हजार ४३९ मत छ । एमालेसँग २ हजार २७ र माओवादीसँग १ हजार ५०० मत छ । महाकुलुङ गाउँपालिकामा कांग्रेससँग २ हजार १४८, एमालेसँग १ हजार ४८० तथा माओवादीसँग १ हजार ५६५ मत छ । लिखुपिके गाउँपालिकामा भने कांग्रेस र माओवादीको मत लगभग बराबर छ । कांग्रेससँग १ हजार ५० र माओवादीसँग १ हजार ५२ मत छ । यता एमालेसँग ६५५ मत रहेको स्थानीय तहको नतिजाले देखाउँछ ।

जिल्लाको सोताङ गाउँपालिकामा कांग्रेसँग १ हजार ७५७, एमालेसँग १ हजार ४५९ र माओवादीसँग १ हजार २७९ मत छ । सोलुदुधकुण्ड नगरपालिकामा पनि कांग्रेस पहिलो शक्ति हो । यहाँ कांग्रेससँग ४ हजार ६४५ मत छ । यस्तै एमालेसँग ४ हजार ८५ तथा माओवादीसँग १ हजार ६१५ मत छ । 

स्थानीयत तहको नतिजा अनुसार वडागत मत जोड्दा कांग्रेसको पक्षमा १९ हजार ३८ मत हुन आउँछ । 

एमालेसँग १६ हजार ५९७ तथा माओवादीसँग १२ हजार ४२५ मत हुन आउँछ । 

यता, नेकपा(एस)सँग १६३ तथा जसपा १४२, अन्य दल १३६ र स्वतन्त्र उमेदवारसँग १६८ मत छ । गठबन्धनबाट जो लडे पनि ३१ हजार ४६३ मत हुन आउने देखिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro