काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बाँडफाँड गरिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीले यही साउन १३ देखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँअंकित दरका सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १४ लाख १३ हजार ५७२ आवेदन परेको थियो । जसमध्ये ८७३ आवेदन अयोग्य र २३१ आवेदन अस्वीकृत भएका छन् । १४ लाख १२ हजार ४६८ आवेदन स्वीकृत भएका थिए ।
कम्पनीले निष्कासन गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताका दरले सेयर वितरण गरिएको हो । ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
१० कित्ता सेयर पाउनेमध्ये नै ‘भाग्यमानी’ ६ जनाले थप एक कित्ता सेयर प्राप्त गरेका छन् । ६ जनाले उक्त कम्पनीको आईपीओ ११ कित्ता प्राप्त गरेका हुन् ।