काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख खुस रकम र स्रोत नखुलेको साढे १६ लाख रुपैयाँ गरी साढे २२ लाख रुपैयाँसहित उपसचिव नेपाललाई नियन्त्रणमा लिएको हो ।
उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस मागेको सूचनामा आधारमा गएको अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई काठमाडौंको मनकामना मार्गस्थित एक होटेलबाट नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिने क्रममा गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँ बरामद गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।